birat ribon

नहर किनारमा १८ वर्षीय युवकको शव, हत्या आशंकामा ११ जना पक्राउ

Neuro
नहर किनारमा १८ वर्षीय युवकको शव, हत्या आशंकामा ११ जना पक्राउ

विराटनगर, २५ वैशाख । सुनसरी मोरङ सिचाइँ आयोजनाको बेलबारी- ७ खण्डमा एक युवकको शव फेला परेको छ ।

बिहीबार बिहान चिसाङ खाेलादेखि केही पश्चिम नहर किनारमा १८ वर्षीय आयुष गिरीको शव भेटिएको हो । गिरी मोरङको कानेपोखरी गाउँपालिका-१ हाेक्लाबारीका हुन् ।

cura insider

बिहीबार बिहान मर्निङवाक गर्ने क्रममा स्थानीयले शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको प्रहरीले युवकको हत्या भएको आशंका गरेको छ ।

हत्या अनुसन्धानका लागि ११ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिाकारीले जानकारी दिए ।

घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारी, जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालयलेको छुट्टा छुट्टै टोली परिचालन भएको उनले बताए ।

कसरी भयो घटना ?

सामान्य जनमजदूरी गर्ने परिवारका सदस्य आयुष बुधबार दिउँसोदेखि घरबाट सम्पर्कविहिन थिए । राति पनि उनी घर फर्किएका थिएनन् । बिहीबार बिहान करिब साढे ५ बजे मर्निङवाक गर्नेहरूले उनको शव देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।

शव भेटिएपछि अनुसन्धान सुरू गरेको प्रहरीले बुधबार बेलुका युवकसँग बसेका ११ जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका केही शंकास्पद युवक र मृतक युवकले बुधबार राति सँगै बसेर मादक पदार्थ सेवन गरेका थिए ।

स्थानीय पसलमा मापसे गर्दा विवाद भएपछि कुटपिटपछि हत्या गरी शव नहरमा फालिएको हुनसक्ने प्रहरीको आशंका छ ।

शवको पोष्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरीनिरीक्षक ऋषिराज ढकालले जानकारी दिए ।

उनले स्थानीय केही युवालाई अनुसन्धानका लागि पक्राउ गरिएको बताए । ‘शव भेटिएपछि अनुसन्धानका लागि १०–११ जनालाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘मृतकसँग अन्य युवाहरूले सँगै बसेर मापसे गरेको खुलेको छ ।’ उनले पोष्टमार्टम रिपोर्टपछि थप विषय खुल्ने बताए ।

मृतकको शरीरमा निलडामहरू रहेको प्रहरीले बताएको छ । कानेपोखरी गाउँपालिका–१ का वडा अध्यक्ष दिपेश कार्कीले हत्या भएको हुनसक्ने बताए ।

उनका अनुसार मृतक युवक ट्याक्टरमा काम गर्थे । राति केही युवाहरूसँग विवाद भएको जानकारी पाएको बताउँदै उनले हत्या भएको हुनसक्ने बताए ।

jackson ribon