रिसका कारण आफैं गाडी चलाएर ल्याम्बोर्गीनी किन्न हिँडेका पाँचवर्षे बालक, खल्तीमा जम्मा तीन डलर

एजेन्सी, २४ वैशाख । अमेरिकाको यूटा राज्यमा पाँच वर्षीय बालक गाडी चलाएको कारण प्रहरीको नियन्त्रणमा पुगेका छन् ।

राजमार्गमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको गाडीले सडक अनुशासन पालना नगरेको देखेपछि प्रहरीले गाडी रोकेको थियो ।

चालकले प्रहरीको निर्देशन अनुसार गाडी पनि रोके । तर, चालकको आसनमा एउटा बालकलाई देख्दा प्रहरीहरू छक्क परेका थिए ।

एड्रीअनले आफू महँगो ल्याम्बोर्गीनी गाडी किन्न अर्को राज्यतिर जान लागेको प्रहरीलाई बताएका छन् ।

बालकका अनुसार आफूले कम्तीमा एक लाख ८० हजार डलर पर्ने गाडी किनिदिन गरेको अनुरोध आमाले नमानेपछि रिसाएर उनी घर छोडेर हिँडेको प्रहरीले ट्विटरमा लेखेको छ ।

एड्रीअनले खल्तीमा तीन डलर मात्र बोकेका थिए ।

पाउदानसम्म खुट्टा पुर्‍याउन ती बालक सीटको छेउमा बसेको र गाडी चलाएर आफ्नो घरबाट पाँच मिनेटको दूरीमा पुगेको प्रहरीको भनाइ छ ।

सो घटनामा कसैलाई चोट नलागेको हुदा स्थानीय अधिकारीले अभिभावकलाई कारबाहीका लागि मुद्दा लगाउने वा नलगाउने निर्णय गर्ने छ ।

घटनाको बेला दुवै अभिभावक काममा रहेको र ती बालक दाजुको निगरानीमा छोडिएको बताइएको छ ।

घटनापछि प्रहरीले बालबालिकाका पहुँचमा गाडीको साँचो नराख्न आग्रह गरेका छन् ।

Loading...