लकडाउनले समस्यामा निजी विद्यालय

विराटनगर, २४ वैशाख । कोरोना महामारीको जोखिम नियन्त्रणका लागि आह्वान गरेको लकडाउन बढ्दै जाँदा निजी विद्यालयले अवस्था धारसाही भएको बताएका छन् ।

लकडाउन बढ्दै जाँदा विद्यालय धारासाही भएको बताएका हुन् । निजी विद्यालयमा २ लाख शिक्षक कर्मचारी कार्यरत छन् ।

कोरोना भाइरस (कोभिड– १९) को संक्रमण फैलिन नदिन ६ चैतदेखि निजी विद्यालय बन्द छन् ।

सरकारको निर्देशनअनुसार त्यसअघि नै अधिकांश विद्यालयले हतारमा वार्षिक परीक्षा सम्पन्न गरे ।

हतारमा परीक्षा लिँदा अघिल्लो वर्षको समेत पूरा शुल्क लिन नसकिएको निजी विद्यालय सञ्चालकहरूको भनाइ छ ।

१० चैतदेखि मुलुक नै लकडाउनमा छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी विद्यालय बन्द हुँदा शिक्षक कर्मचारीलाई तलब खुवाउनै समस्या भएको बताउँछन् ।

अधिकांश विद्यालयका आफ्नो पूर्वाधार छैन, भाडामा छन् । भाडा बुझाउने स्थिति छैन, बुझाउन घरधनीको दवाव बढ्न थालेको छ ।

अध्यक्ष पुरीले भने, ‘घरधनीले ताला लगाइदिए, त्यहाँका सामान बोकेर कता जाने अन्यौल छ ।’

उनले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन मात्र जारी गर्ने, तर निजी विद्यालयका गुनासो भने सुन्न नचाहेको आरोप लगाए ।

अहिलेसम्म निजी विद्यालयको संरक्षणमा ठोस् निर्णय नभएको भन्दै अध्यक्ष पुरीले दिनहुँजसो कुरा फेरेर भ्रम फैलाएको आरोप लगाए ।

प्याब्सन अध्यक्ष पुरीले निजी विद्यालयले राज्यका लागि पुर्‍याएको योगदान बिर्सेको भन्दै समस्या सम्बोधनमा चासो नदेखाए शिक्षक कर्मचारीहरू आन्दोलित हुने अवस्था आउन सक्ने बताए ।

कम्तिमा ३ महिनाको शिक्षक कर्मचारीको तलब ब्यवस्थापन, ३ महिनाको ब्याज र घरभाडा मिनाहा हुनुपर्ने उनले बताए ।

लामो समय पठनपाठन ठप्प हुँदा बालबालिका प्रभावित हुने तर्क गर्दै प्याब्सन अध्यक्ष पुरीले मन्त्रालयको समन्वयपछि नै अनलाइन कक्षा सुरु गरिएको बताए ।

उनले प्रविधिको पहुँच नहुने अभिभावकलाई पनि चिन्ता नलिन आग्रह गर्दै यसैलाई पूर्ण कक्षाका रूपमा नमानिने र विद्यालय खुलेपछि सुरुदेखि नै अध्यापन हुने बताए ।

Loading...