फूलगुच्छा बोकेर कोरोना अस्पतालबाट बिदा भए भारतीय जमाती (फोटोफिचर)

विराटनगर, २४ वैशाख । कोरोना संक्रमण पुष्टि भएपछि कोरोना अस्पताल भर्ना भएका ६ भारतीय नागरिक फूलगुच्छा बोकेर अस्पतालबाट बिदा भएका छन् ।

५ वैशाखमा त्रसित मुद्रामा अस्पताल भर्ना भएका १२ संक्रमितमध्ये ६ जना भारतीय नागरिक बुधबार फूलगुच्छा बोकेर खुशी हुँदै अस्पतालबाट विदा भएका हुन् ।

बुधबार बिदाई हुँदै गरेका भारतीय मात्र होइन अस्पतालमा उपस्थित चिकित्सकको टोली पनि हर्सित थियो ।

१९ दिन कोरोना अस्पताल बसेका उनीहरूले फर्कदै गर्दा आफ्नो उपचारमा खटिने स्वास्थ्यकर्मी र चिकित्सकलाई धन्यवाद दिए । उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केको नुरी मस्जिदमा बसिरहेका १६ मध्ये १२ भारतीय नागरिकमा ५ वैशाखमा कोरोना पुष्टि भएपछि उदयपुरसहित प्रदेश १ मा त्रास फैलिएको थियो ।

एकै पटक ठूलो संख्यामा कोरोना संक्रमित देखिएपछि विराटनगरको कोरोना विषेश अस्पताल सञ्चालनमा राति करिब १२ बजे भर्ना गरियो । संक्रमित भेटिएपछि कोशी अस्पताललाई कर्मचारी व्यवस्थापन गर्न र अन्य तयारी गर्न हम्मेहम्मे परेको थियो ।

५ वैशाख राति १२ बजे संक्रमित भर्ना भएका संक्रमितको उपचारमा ६ वैशाखबाट स्वास्थ्यकर्मीको टोली परिचालन भयो । सुरुका केही दिन चिकित्सक र विराटनगरका सर्वसाधारण त्रसित बनेपनि विस्तारै अवस्था सामान्य हुँदै गयो ।

बुधबार पहिलो पटक भर्ना भएका १२ मध्ये ६ जना निको भएपछि संक्रमित मात्र होइन उपचारमा खटिने चिकित्सक टोली प्रफुल्लित थियो । ‘एउटा स्वास्थ्यकर्मीका लागि योभन्दा ठूलो खुशी के हुनसक्छ,’ कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले भनिन्, ‘यो हाम्रो टिमवर्कको परिणाम हो ।’

संक्रमित भेटिएकामध्ये एकै पटक धेरै निको भएर फर्किएको यो नेपालको पहिलो घटना हो । ६ जना संक्रमित उपचारपछि फर्कदै गर्दा फ्रन्टलाइनर चिकित्सकसहित कोरोनाविरुद्ध अभियानमा खटिएका सबै हर्सित बनेको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए ।

प्रदेश १ मा ३१ जनालाई कोरोना संक्रमण देखिएको छ । तीमध्ये उदयपुरमा भेटिएका २८ जना थिए । उदयपुरमा भेटिएका २२ सहित अझै २५ जना कोरोना अस्पतालमा उपचार गराइरहेका छन् । अन्य नागरिक पनि विस्तारै निको हुँदै घर फर्कने मन्त्री घिमिरेले बताए ।

कोरोना दोहोरिने डर

डिस्चार्ज भएकाहरूलाई विराटनगरको रानीस्थित रानी मर्कजमा राखिनेछ । कर्मजमा बनाइएको क्वारेन्टाइनमा १४ दिनसम्म राखिने डाक्टर मिश्राले बताइन् । मर्कजमा १० वटा कोठा क्वारेन्टाइनका लागि राखिएको छ ।

‘कोरोना बल्झिएका घटनाहरू आएकाले उहाँहरूलाई १४ दिन क्वारेन्टाइनमा राखेका छौं’, उनले भनिन्, ‘१४ दिनपछि पुनः कोरोना परीक्षणपछि जान दिन्छौं ।’ संक्रमण बल्झिन सक्ने जोखिम भएकाले पुनः परीक्षण गरी पठाइने उनले बताइन् ।

कोरोना अस्पतालमा अब २५ जना उपचार गराइरहेका छन् । सबैको अवस्था सामान्य छ ।

Loading...