‘रोनाल्डिन्हो मेस्सीभन्दा उत्कृष्ट’

एजेन्सी, २४ वैशाख । अर्जेन्टिनी पूर्वखेलाडी मार्टिन कार्डेट्टीले आफ्ना देशका स्टार खेलाडी लियोनल मेस्सीभन्दा ब्राजिलियन लिजेन्ड रोनाल्डिन्हो उत्कृष्ट खेलाडी भएको बताएका छन् ।

हाल इक्वाडरको फुटबल क्लबको नेतृत्त्व गरिरहेका कार्डेट्टीले ‘क्राक डिपोर्टिभो’सँगको कुराकानीमा यस्तो बताएका हुन् ।

कार्डेट्टीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट ब्राजिलियन लिजेन्ड रोनाल्डिन्होसँग एकसाथ खेलेका थिए ।

एक सिजन मात्र रोनाल्डिन्होसँग एकसाथ खेलेका उनले रोनाल्डिन्हो मेस्सीभन्दा उत्कृष्ट रहेको बताएका हुन् ।

‘एक प्रशिक्षकका रूपमा मैले खेलाडी छान्न परेमा म मेस्सीलाइ नभएर रोनाल्डिन्होलाई नै रोज्थेँ । किनकी रोनाल्डिन्हो मेस्सीभन्दा उत्कृष्ट छन् । मैले उनीसँग एक वर्ष बिताएको थिएँ र उनी एक फरक खेलाडी थिए । उनी भगवानले छोएका व्यक्ति हुन्,’ उनले भनेका छन् ।

‘उनी निकै रमाइला मानिस हुन्’, उनले थपे, ‘तपाईंले उनलाई अभ्यासमा, खेलमा र प्रत्येक पलमा फरक मुद्रामा पाउनुहुन्थ्यो । फुटबल इतिहासमा नै उनीजस्तो खेलाडी बिरलै देख्न पाइन्छ । उनको सहकर्मी भएर खेल्न पाउँदा गर्व लाग्छ ।’

Loading...