‘ला लिगाको उपाधि बार्सिलोनाले नभएर रियलले जित्छ’

एजेन्सी, २४ वैशाख । रियल मड्रिडका गोलरक्षक थिबाओ कोर्टुआले बार्सिलोना ला लिगा च्याम्पियन नहुने दाबी गरेका छन् ।

कोरोना कारण यो सिजन रद्द भएमा बार्सिलोनाले नभएर आफ्नो क्लब रियलले ला ला लिगाको उपाधि जित्ने कोर्टुआको भनाइ छ ।

कोरोनाले स्थगित ला लिगा जुनमा सुचारु गर्ने तयारी गरिएको छ । गत मार्चबाट लिग स्थगित गरिएको छ ।

यस सिजन लिगमा बार्सिलोना शीर्ष स्थानमा रहेको छ । रियल मड्रिडभन्दा बार्सिलोना २ अंकले मात्र अघि रहेको छ ।

लिगमा अब ११ चरणको खेल खेल्न बाँकी रहेको छ । तर, कोरोनाका कारण लिग रद्द हुने उत्तिकै सम्भावना छ । फ्रान्स, बेल्जियम र नेदरल्याण्डले आफ्ना लिगहरू रद्द गरिसकेका छन् ।

लिग रद्द भएको खण्डमा रियलले उपाधि जित्ने कोर्टुआको दाबी छ ।

‘पक्कै पनि म पनि लिग सकिएको हेर्न चाहन्छु । हामी बार्सिलोनाभन्दा २ अंकले पछाडि छौं । यसैले अझै पनि सम्भव छ कि हामी नै च्याम्पियन हुन्छौं । त्यसर्थ, दुर्भाग्यवस लिग रद्द भएमा हामीले उपाधि पाउनुपर्छ’, उनले आफ्नो युटुब च्यानलमा भने ।

‘उदाहरणका लागि फ्रान्समा २ वटा टिम रेलिगेशनमा परे । सायद उनीहरूले आफूलाई सुरक्षित गर्न सक्थे । तर, उनीहरूले त्यसो गरेनन् । नेदरल्याण्डमा कुनै टिम च्याम्पियन भएन र कुनै टोलीमा उतार–चढाव भएन’, उनले भने ।

यसैगरी कोर्टुआले बार्सिलोनालाई उपाधि दिइएमा आफूलाई सही नलाग्ने बताए । उनले भने, ‘यदि, उनीहरूले लिग रद्द गरेर बार्सिलोनालाई विजेता घोषणा गरेमा म सही रूपमा लिँदिनँ । बार्सिलोनाका प्रशिक्षकले पनि त्यो तार्किकता भेट्टाउँदैनन् ।’

‘उनीहरूले एकचोटि हामीविरुद्ध बराबरी गरे र एक पटक पराजित भए । त्यसैले हामीले उनीहरूलाई देखायौं कि हामी राम्रो टोली हौं, तर हामी अझै दुई अंकले पछाडि छौं, त्यसैले म वास्तवमै यससँग सहमत छैन ।’

‘इंग्ल्याण्डमा पनि लिभरपुल च्याम्पियन हुनेमा म विश्वस्त छु’, उनले भने, ‘मलाई विश्वास छ कि उनीहरूले लिभरपुललाइै नै उपाधि दिनेछन् ।’

Loading...