बैंकहरुले असमानता बढाए : डा. भट्टराई

काठमाडौं, २३ बैशाख । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बैंक तथा वित्तीय संस्थाहरुले अर्थतन्त्रमा असमानता बढाएको बताएका छन् ।

उनले यसलाई सुधार गर्न राष्ट्र बैंकलाई कदम चाल्नु पर्ने सुझाव दिए ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले मंगलबार देशको वित्तीय व्यवस्थापनको स्थिति र आगामी मौद्रिक नीति सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग गरेको छलफलमा उनले बैंकहरुले अर्थतन्त्रमा असमानता सिर्जना गरेको बताएका हुन् ।

बैंक तथा वित्तिय संस्थामा निक्षेप गाँउबाट संकलन भएपनि कर्जा भने सहरी क्षेत्रमामात्रै प्रवाह हुने हुँदा असमनता बढेको बताए । यही कारण समग्रमा वित्तीय र बैंकिङ क्षेत्रले चाहिं देशको एउटा असमान प्रकारको विकासमा क्षेत्रगत हिसाबले पनि र भौगोलिक हिसाबले पनि र वर्गिय हिसाबले पनि असमानता वृद्धि गरेको उनले बताए ।

कोरोना भाइरस (कोभिड–१९)बाट सिर्जना भएको अवस्थामा मात्र केन्द्रीत हुँदा उत्पादनमा सहयोग नपुग्ने बताए ।

बैंकबाट कर्जा लिंदा कार किन्न र घर बनाउन सस्तो र सुलभ ढंगले सहजै पाउने तर कृषि तथा उत्पादन क्षेत्रमा कर्जा न्यून प्रवाह हुने र पाउन पनि कठिन हुने अवस्थाको अन्त्य हुनेगरी नीतिगत व्यवस्था गर्न भट्टराईले सुझाव दिए ।

छलफलमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कोरोना भाइरसको महामारी पछि विदेशबाट फर्किएर आउने मानिसहरुलाई व्यवस्थापन गर्ने विषयमा पनि राष्ट्र बैंकले सोच्नुपर्ने बताए ।

रेमिट्यान्समा आउने कमिले अर्थतन्त्रमा असर पार्ने र बेरोजगारी बढाउने विषयमा पनि ध्यान दिन उनको आग्रह छ ।

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना भाइरसबाट प्रभावमा परेको अर्थतन्त्रलाई सहयोग गर्न राष्ट्र बैंकले लिने नीतिका विषयमा प्रस्ट पार्न गभर्नर महाप्रसाद अधिकारीलाई अग्रह गरे ।

गभर्नर अधिकारीले ५ करोड भन्दा माथिका ऋणीहरु ३६ प्रतिशत र ५० लाख भन्दा कमका ऋणीहरु ३४ प्रतिशत रहेको भन्दै बैंकहरुले समान महत्वका साथ लगानी गरिरहेको बताए ।

अहिले ६० अर्बको पुर्नकर्जा कोष भएपनि १८ अर्ब मात्र ऋण गएको बताउँदै कोषलाई पनि बढाउने र साना ऋणीको पहुँच बढाउने गरी काम भइरहेको गभर्नर अधिकारीको भनाइ छ ।

Loading...