गलत समयमा बार्सिलोनाको प्रस्ताव : जाभी

एजेन्सी, २३ वैशाख । स्पेनका पूर्वखेलाडी जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षक बन्ने प्रस्ताव गलत समय आएको बताएका छन् ।

पूर्वसहकर्मी सामुअल इटोसँगको इन्स्टाग्राम च्याटमा जाभीले आफूलाई गलत समयमा बार्सिलोनाले प्रशिक्षक बन्ने प्रस्ताव गरेको बताएका हुन् ।

गत जनवरीमा प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेलाई बर्खास्ती गर्दै बार्सिलोनाका पूर्वखेलाडी जाभीलाई प्रशिक्षकका लागि प्रस्ताव राखेको थियो ।

तर, कतारी क्लबको नेतृत्त्व गरिरहेका उनले बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेको बताइएको छ ।

पूर्वमिडफिल्डर जाभीले आफ्ना लागि बार्सिलोनाले ठूलो अफर गरेको भए पनि गलत समयमा गरेको बताए ।

‘जनवरीमा बार्सिलोनाले गरेको सो प्रस्ताव ठीक समयमा थिएन । मैले इरिक अबिडाल, ओस्कार ग्राउसँग यो ठूलो अफरका लागि कुरा गरेको थिएँ । मलाई अलि धेरै अनुभव चाहिएको थियो,’ उनले भने ।

‘बार्सिलोनालाई प्रशिक्षण दिनु मेरो सपना हो । म एक दिन यो सपना पूरा गर्न गर्नेछु । मैले यो कुरा धेरैपटक भनिसकेको छु । मलाई बार्सिलोना मन पर्छ र क्वीक सेटिनका उपायहरू पनि मन पर्छ,’ उनले भने ।

Loading...