‘२०२५ को बालोन डी’ओर पनि मेस्सीले नै जित्ने छन्’

एजेन्सी, २३ वैशाख । जर्मन क्लब बोरुसिया डर्टमुण्डका युवा स्टार इयर्लिङ हालाण्डले बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सन् २०२५ को बालोन डी‘ओर जित्ने बताएका छन् ।

ईएसपीएनको इन्स्टाग्रामको सवाल–जवाफमा आफ्ना समर्थकसँग कुरा गर्दै नर्वेजियन स्टार हालाण्डले यस्तो बताएका हुन् ।

हालान्ड गत जनवरीमा मात्र अष्ट्रियन क्लब रेडबुल साल्जबर्गबाट डर्टमुण्ड आएका हुन् ।

१७ मिलियन पाउण्डमा जर्मन आएका उनी रियल मड्रिड र म्यानचेस्टर युनाइटेडको नजरमा परेका छन् ।

१९ वर्षीय स्टारले ईएसपीएनको सवाल–जवाफ सेग्मेन्टमा सन् २०२५ को बालोन डी‘ओर मेस्सीले नै जित्ने बताएका हुन् ।

उनलाई सन् २०२५ को बालोन डी‘ओरको उपाधि कसले जित्ला भनेर प्रश्न गरिएको थियो । जसमा उनले अर्जेन्टिनी स्टार मेस्सीले नै जित्ने बताएका छन् ।

‘मलाई लाग्छ २०२५ मा पनि लियोनल मेस्सीले नै सो अवार्ड जित्नेछन्, जसले अहिलेसम्म छ पटक जितेका छन्,’ उनले भनेका छन् ।

Loading...