विराटनगर, २३ वैशाख । केही दिनयता सामाजिक सन्जालमा बलिउडका चर्चित अभिनेता आमिर खानको विषयमा एउटा पोस्ट निकै भाइरल भयो ।

जसमा आमिरले एक किलो पिठोको प्याकेटमा १५ हजार रुपैयाँ राखेर वितरण गरेको दावी गरिएको थियो ।
नेपालमा पनि उक्त खबरलाई मानिसहरूले निकै सेयर गरेका छन् ।
आमिरलाई उदाहरण दिँदै नेपाली सेलिब्रेटीहरूको टीप्पणीसमेत भएका थिए ।
तर, आमिरले यो विषयमा स्पष्टीकरण दिँदै खबरको यथार्थ बाहिर आएको छ ।
आमिर आँफैले ट्वीट गर्दै यो खबर झुटो भएपनि कसैले परिचय नखुलाई यस्तो गरेको अथवा अफवाह हुन सक्ने बताएका छन् ।
उनले ट्विटरमा लेखेका छन्–‘म त्यो मानिस होइन, जसले पीठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो । यो कि त पूर्ण रूपमा झूट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैनन् । धेरै धेरै माया ।’
आमिर लकडाउनपछि विभिन्न तरिकाले अफ्ठ्यारोमा परेकाहरूलाई सहयोग गरिरहेका छन् ।