रोनाल्डोको सहयोगका लागि रोड्रिग्वेज अनुबन्ध गर्ने युभेन्टसको योजना

एजेन्सी, २३ वैशाख । इटालियन क्लब युभेन्टसले रियल मड्रिडका स्टार जेम्स रोड्रिग्वेज अनुबन्ध गर्ने मनसाय बनाएको बताइएको छ ।

स्पेनिस मिडिया ‘मुन्डो डिपोर्टिर्भो’का अनुसार युभेन्टसले २८ वर्षीय कोलम्बियन स्टार रोड्रिग्वप्रति इच्छा देखाएको हो ।

रोड्रिग्वेज पछिल्लो समय डेभिड बेकह्यामको क्लब इन्टर मियामीसँग जोडिएका छन् । खबरका अनुसार मियामीका सह खेल निर्देशक पल एमसीडनफले आफू रोड्रिग्वजेलाई क्लबमा अनुबन्धका लागि तयारीमा लागेको जनाएका छन् ।

यस्तै मियामीका मालिकमध्येका एक डेभिड बेकह्यामले उनीमाथि नजर लगाएको बताइन्छ । केही समयअगाडि मात्र बेकह्यामले रोड्रिग्वेजको विषयमा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग सम्पर्क गरेका थिए ।

सन् २०१७ मा रियलबाट लोनमा जर्मन क्लब बायर्न म्युनिख गएका उनी यसै सिजन मात्र बर्नाबेउ फर्किएका छन् । तर, प्रशिक्षक जिनेदिन जिदानको पहिलो रोजाइमा पर्न संघर्षरत देखिएका उनले क्लब छोड्ने मनसाय बनाएको बताइन्छ ।

यस्तैमा इटालियन च्याम्पियन युभेन्टसले पनि उनलाई अनुबन्ध गर्ने इच्छा देखाएको स्पेनिस रिपोर्टको दाबी छ । युभेन्टसका प्रशिक्षक मौरिजियो सार्रीले रोड्रिग्वेजलाई प्राथमिकता दिएको बताइएको छ ।

उनले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई मैदानमा थप सहयोग हुने उद्देश्यका साथ रोड्रिग्वेज भित्र्याउने योजना बनाएको मुन्डो डिपोर्टिभोको दाबी छ । रोनाल्डोलाई सहयोग गर्न रोड्रिग्वेज नै उत्तम विकल्प भएको सार्रीको भनाइ छ ।

Loading...