कोरोनाले साकेला उभौली पर्व प्रभावित

बेलबारी (मोरंङ) , २३ बैसाख । । कोरोना भाइरसको सङ्क्रमणले गर्दा किराँत राईहरुले हर्षोल्लास पुर्वक हरेक बर्ष मनाउदै आएको साकेला पर्व यो बर्ष प्रभावित हुने भएको छ ।

कोरोनाले गर्दा धेरै भीड जम्मा गर्न नहुने र सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यताले साकेला पर्व यो बर्ष प्रभावित भएको हो ।

यो बर्ष सार्वजनिक साकेला स्थलहरुमा हुने ढाल झयाम्टा कर्णप्रिय आवाज र जनजाति भेषभुषामा सजिएका राई समुदायका मानिशहरुको मेला पनि देख्न पाइने छैन ।

अघिल्ला बर्षहरुमा समुदायका सयौ मानिशहरु भेला भएर सामुहिक नाचगान गर्दै मनाइदै आएको साकेल उभौली पर्व यो बर्ष सामाजिक दुरी कायम गर्दै बढीमा १५ जना सम्म मात्र भेला भएर मनाउन अगुवाहरुले उर्दी गरेका छन ।

साकेला पुज्नेक्रममा धामी, सिलिमपा, सिलीममा, मुल ढोले तथा उनीहरुका एक÷एक जना सहयोगीको उपस्थितिमा मात्र साकेला पुज्न अगुवाहरुले आग्रह गरको छन ।

यो बर्ष आफन्तजन तथा पाहुनापाछाबीच शुभकामना आदान÷प्रदान प्रत्यक्ष रुपमा हुन पाउनेछैन ।

कोरोना संक्रमण रोकथामकालागि लकडाउन भैरहेकोले साकेलामा चेली माइतीहरुले यो बर्ष माइत जान पाउने छैनन । साथै आफन्तलाई पनि चेली माइती र पाहुनाहरु नबोलाउन समुदायका अगुवाहरुले आग्रह गरिसकेका छन ।

हरेक बर्ष वैशाख पूर्णिमादेखि शुरु हुने उभौली साकेला पर्व ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना सहित पितृ तथा भूमिको पूजाआजा गरी मनाउने चलन छ ।

यो बर्ष २५ बैसाख बुद्धजयन्तीका दिनदेखी उभौली पर्व सुरुहुदै छ । जस अनुसार वर्षकमा दुई पटक उधैली र उभौली साकेला मनाईन्छ ।

किराँत राईहरुको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै गोलो घेरामा साकेला नाच्ने गरिन्छ ।

छितको गुन्यु ,मखमलको चोली, पहेंलो पटुकी, दौरासुरुवाल, ढाका टोपी लगायत किराती मौलिक भेषभुषामा ठाँटिएर हरेक किराती राईहरुको घरघरमा नाच्दै गाँउदै हर्षोल्लासका साथ मनाइने यो पर्वमा किरात समुदाय मात्र नभई गैरकिरात समुदायका युवायुवतीहरु समेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् ।

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला पर्व मनाउने गरिएको छ ।

Loading...