इटाली फर्किए रोनाल्डो

एजेन्सी, २३ वैशाख । इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डो इटाली फर्किएका छन् ।

कोरोना भाइरसका कारण सिरी ‘ए’ स्थगित भएपछि पोर्चुगल गएका उनी करिब डेढ महिनाको बसाइपछि इटाली फर्किएका हुन् ।

छ साताअगाडि टुरिन छोडेका पोर्चुगिज स्टार रोनाल्डो हाल आफ्नो सम्पूर्ण परिवारका साथ मडेइरामा थिए ।

तर, सिरी ‘ए’ सुचारु हुने सम्भावना बढेपछि युभेन्टसले कोरोना भाइरसका कारण देशबाहिर रहेका खेलाडीलाई टुरिन बोलाएको हो ।

युभेन्टसले बोलाएपछि टुरिन फर्किएका रोनाल्डोले अब १४ दिन होम क्वारेन्टाइनमा बस्नेछन् ।

इटालियन सरकारले हिजो सोमबारदेखि देशका फुटबल क्लबलाई प्रशिक्षण थाल्न अनुमति दिएको थियो ।

सरकारले सामाजिक दूरी कायमै गरी व्यक्तिगत रूपमा सर्वसाधारणलाई पनि पार्कलगायतका स्थानमा अभ्यास गर्न अनुमति दिएको हो ।

यससँगै फुटबल खेलाडीलाई पनि सोही नियम पालना गरी ट्रेनिङ गर्न अनुमति दिइएको थियो ।

१७ मेसम्म खेलाडीहरूले व्यक्तिगत प्रशिक्षण गर्न पाउनेछन् भने त्यसपछि समूहगत रूपमा प्रशिक्षण हुने आशा गरिएको छ ।

Loading...