आधा केजी चामल राहत लिन मोरङको कटहरी गाउँपालिकामा दैनिक लाइन लाग्नुपर्छ

मोहन ढकाल
विराटनगर, २२ वैशाख । मोरङको कटहरी गाउँपालिकाले लकडाउनका लागि राहत भन्दै दैनिक आधा केजी चामल वितरण गर्न थालेको छ ।

गाउँपालिकाले सातवटै वडामा एक हप्तासम्म एक जनालाई दैनिक आधा केजी चामल वितरण गर्न थालेको हो ।

पहिलो चरणमा कटहरी गापले प्रति परिवार १० केजी चामल एकैचोटी दिएको थियो । तर राहतमा दुरुपयोग भएको भन्दै पालिकाले कार्यकारिणी बैठकबाट निर्णय गरेर दैनिक एक जनालाई आधा केजी चामल दिन थालेको हो ।

अब दोस्रो चरणको आधा केजी चालम लिन प्रत्येक घरका एक सदस्यले वडाले तोकेको बुथमा एक हप्तासम्म दैनिक लाइन लाग्नुपर्नेछ ।

कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामतले राहतको दुरुपयोग रोक्न सर्बपक्षीय सर्वदलीय बैठकको निर्णयअनुसार प्रति व्यक्त्ति दैनिक आधाकेजी चामल वितरण गर्न थालेको बताए ।

उनले भने , ‘ दैनिक चामल थाप्न जो आएपनि दिन्छौ गति छाडेमा आफै बेइज्ज्त हुनेछन् ।’
अध्यक्ष कामतका अनुसार प्रत्येक वडामा टोल टोलमा बुथ बनाएर प्रत्येक व्यक्त्तिलाई एक हप्तासम्म दैनिक आधाकेजी चामल वितरण गरिनेछ ।

वडा कार्यालयले बनाइदिएको परिवार संख्याको टोकन लिएर चामल लिन एक जना सदस्य मात्रै आए हुन्छ ।

भोट दिएर जिताएका जनप्रतिनिधिले गरिबलाई मजाक बनाएको आक्रोश

यता राहतका नाममा पालिकाले प्रतिव्यक्त्ति दैनिक आधा केजी चामल दिएर हैरानी दिएको भन्दै गरिबहरु आक्रोशित बनेका छन् ।

उनीहरुले कोरोनाको समस्यामा परेका गरिबहरुलाई आफूले चुनेर पठाएका जनप्रतिनिधिले आफूहरुलाई मजाकको पात्र बनाएको भन्दै आक्रोश व्यक्त्त गरेका छन् ।

उनीहरुले आधा केजी चामलले कति दिन खाने बरु राहत लिनुभन्दा पानी खाएर बस्नु नै जाति भनेर राहत थाप्न आनाकानी गरिरहेका छन् ।


कटहरी गाउँपालिका १ टाइगर टोलकी धनसरिया देवीले आफ्नो छ जनाको परिवारले जनही आधाकेजी चामल मात्र पाउने र त्यसले एक दिन पनि नपुग्ने बताइन् । ‘ लकडाउन भएको लामो समय भैसक्यो, वडाले राहत वितरण गर्दैछ भनेर खुशी भएर आएको तर प्रत्येक व्यक्ति बराबर आधा केजी चामल रहेछ, यत्रो हैरानी पाउनुभन्दा त बरु पानी खाएर बस्नु जाति’ उनले भनिन् ।

दैनिक राहत वितरण गर्दा झन् जोखिम

टोकन वितरणसमेत राहत वितरण केन्द्रमा नै गरिएको छ । जसले गर्दा सामाजिक दुरी कायम समेत भएको छैन । भीडभाडबाटै टाढै रहन सरकारले लकडाउन गरेको छ । निनानुदिन संक्रमण बढ्दो क्रममा छ ।

तर राहत वितरण गर्दा सामाजिक दुरी कायम नगरी बाक्लो भीड लगाउँदा झन् समस्या निम्तने सरोकारवालाले बताउँदै आएका छन् ।


तर यसको पालना हुन नसकिरहेको अवस्था छ । भीड नगरी लाइनमा बस्नु भन्दा नमानी भीड लगाएर बस्छन्, हामीले के गर्नु, जनप्रतिनिधि बाध्य छौँ वडा नं. १ का एक वडा सदस्यले भने । नत कसैले मास्क नै लगाएका छन् ।

हप्ता दिनसम्म दिनहुँ भीड लगाएर यसरी राहत वितरण गरिदाँ झन जोखिम बढ्ने स्थानीय कृष्ण तामाङ्गले बताए । भने , ‘त्रासको समय छ, संक्रमित बढिरहेको अवस्था छ, तर वडाले नै लापरवाही गरिरहेको छ । हप्तादिन सम्म आधा आधा केजी वितरण गर्नुको साटो एकैपटक दिएको भए के हुन्थ्यो ? उनले भने यो सबै वडाको नाटक हो ।’

Loading...