नेयमारको जति तलब खाने मनसायमा एम्बाप्पे, पीएसजीसँग सम्झौता थप्ने ‘मूड’मा

एजेन्सी, २२ वैशाख । फ्रान्सेली युवा स्ट्राइकर किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग सम्झौता थप्ने मनसाय बनाएको बताइएको छ ।

स्पेनिस क्लब रियल मड्रिड जाने चर्चाका बीच विश्वकप विजेता एम्बाप्पेले फ्रेन्च च्याम्पियन पीएसजीसँग सम्झौता नवीकरण गर्ने मनसाय बनाएको ‘एल इक्युपे’ले जनाएको छ ।

केही समययता एम्बाप्पेमाथि रियल मड्रिडको नजर रहेको छ । रियलका प्रशिक्षक जिनेदिन जिनानले आफ्नो देशका स्टार एम्बाप्पे अनुबन्ध गर्न पहल गरिरहेको बताइन्छ ।

तर, यसबीचमा एम्बाप्पेले भने आफ्ना सहकर्मी नेयमारको जति तलब खाने मनसाय बनाउँदै पीएसजीसँग सम्झौता इच्छा देखाएको एल इक्यूपेले जनाएको छ ।

खबरका अनुसार पीएसजीले एम्बाप्पेलाई नेयमार जति नै तलब दिनेगरी सम्झौता नवीकरणको प्रस्ताव राखेको थियो ।

जसलाई उनले स्वीकार गर्ने मनसाय बनाउँदै पेरिस क्लबसँग सम्झौता थप्ने इच्छा देखाएको रिपोर्टमा उल्लेख गरिएको छ ।

एम्बाप्पे र पीएसजीबीचको सम्झौता सन् २०२२ मा सकिँदैछ ।

तर, प्रशिक्षक थोमस टुचेलसँगको सम्बन्ध खास राम्रो नभएका कारण उनले क्लब छोड्ने चर्चा चल्दै आएको थियो ।

त्यसबीचमा रियलले उनलाई पहिलो प्राथमिकतामा राखेको जनाइएको छ ।

रियल जाने चर्चा चल्दै गर्दा पीएसजीले एम्बाप्पेसामु बम्पर अफर गरेको छ ।

ब्राजिलियन स्टार नेयमारलाई दिँदै आएको बराबर तलब दिनेगरी पीएसजीले एम्बाप्पेलाई प्रस्ताव राखेको हो ।

जसमा एम्बाप्पेले पनि ‘ग्रीन सिग्नल’ दिएको एल इक्यूपेले जनाएको छ ।

अबको केही सातामा एम्बाप्पेसँग सम्झौता गरीसक्नेमा पीएसजी विश्वस्त रहेको बताइएको छ ।

एम्बाप्पे २ वर्ष अगाडि मात्र मोनाकोबाट पीएसजी आएका हुन् ।

Loading...