रसुवा, २२ बैशाख । कोभिड–१९ नियन्त्रणका लागि गोसाइँकुण्ड गाउँपालिकाले सरकारी क्वारेन्टाइनमा राखेका सबै स्थानीय बासिन्दालाई आ आफ्ना घर पठाएको छ ।
गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार जिल्ला बाहिरबाट रसुवा प्रवेश गरेका सबै स्थानीयवासीलाई अनिवार्य रूपमा १४ दिन सरकारी क्वारेन्टाइनमा राख्ने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर्दै धुञ्चे, स्याफ्रुबेँसी र टिमुरेमा राखिएका ८४ नागरिकलाई आइतबार आआफ्ना घरतर्फ पठाइएको छ ।
अन्य गाउँपालिकाले भने यही वैशाख १४ गते रसुवा भित्र्याएका नागरिकलाई सीधै आआफ्ना घरमा जान अनुमति दिएका थिए ।
चिकित्सकबाट उनीहरूको स्वास्थ्य परीक्षण गराई तोकिएको अवधिसम्म सुरक्षित तवरले होम क्वारेन्टाइनमा बस्नुपर्ने र १४ दिन पुगेपछि आरडिटी गराउनु पर्ने शर्तमा पठाइएको गापा अध्यक्ष तामाङले बताए ।
वैशाख १४ गते एकसाथ ११ यात्रुवाहक बसबाट ल्याइएका स्थानीयवासीमध्ये नौकुण्ड गापाको ठूलोभोर्ले पुगेका ७३ जना आआफ्नो घरमा गई इष्टमित्र भेटघाटका लागि गाउँटोल घुम्न थालेपछि गाउँबासीमा त्रास बढेको ठूलो भोर्लेका राजेन्द्र रानाले बताए।