म नरक राज्यको राष्ट्रपति बनेपछि : कथा

गोपाल नेपाली

खै के के भयो, म बौलाए। मेरो संगत फेरियो। आफन्त नातागोता, यो देश सबै फेरियो। म स्वतन्त्र बनें खुला आकाश जस्तै। आकाशमा उड्ने चरी जस्तै कुनै सीमाले नरोक्ने कुनै बन्धनले नबाँधिने ।

म कहाँ पुगेँ थाहा छैन। तर जहाँ पुगेँ त्यहाँ सबै पागलहरू मात्र थिए। राष्ट्रपति, सरकार, सेना ,प्रहरी, अदालत, नागरिक सबै सबै पागलहरू। कहीँ कसैलाई कसैको वास्ता नहुने । सबै आफ्नो जिम्मेवारी पूरा गर्न मात्र केन्द्रित भैरहने । नीति नियम केही नभएको तर मानवीयता र आफ्नो जिम्मेवारीलाई मूल मन्त्र ठानेर आफ्नो कार्य क्षेत्रभित्र निष्ठापूर्वक लागि रहने । कसैसँग कुनै लोभ, इर्श्या, पूर्वाग्रह, दम्भ, छलकपट केही नभएको। मलाई अचम्म लाग्थ्यो । घरि-घरि लाग्थ्यो मेरो देश पनि यस्तै भएको भए सायद म बौलाउने थिइन कि ? फेरि मनमा लाग्थ्यो म सही समयमा बौलाए । र, त यो सुन्दर संसारमा छु । जाहा अपमान, अभाव, इर्श्या छलकपट के हो कसैलाई थाहा छैन । सबै निर्दोष, निश्चल र निस्कलंक ।

एक दिन पूरै राज्यमा उर्दी जारी भो राज्यको सबै नागरिक खुला मैदानमा जम्मा भए । म पनि राज्य भेलामा सहभागी बनें । म पुग्ने बित्तिकै त्यहाँको सेनाले घेराउ गर्‍यो । म डराएँ, छटपिए केही बोल्न सकिनँ । मनमा लाग्यो म कुनै डिभि-पिआर नपरी, पासपोर्ट नबोकीआएकोले मलाई फाँसी दिने तयारी रहेछ ।

बौलाएर पनी बाँच्न नसकिने रहेछ यो दुनियाँमा यस्तै यस्तै सोचेर मनले हरेस खायो । एकैछिनमा सेनाको घेराले भीड छिचोल्दै मलाई अगाडि लिएर गयो म चुपचाप सेनाको इसारा मान्दै भीडको अगाडि गएर उभिरहे ।

केही बेरमै नरक राज्यका राष्ट्रपति भीड छिचोल्दै अगाडि आए । केही सेनाहरूको साथमा । मञ्चमा कुनै तामझाम तडकभडक थिएन । सबै समान, सबै बराबर । सबैलाई हेरेर बोल्न मिल्ने थोरै अग्लो मात्र । केही छिनमै मेरो छेउमा उभिएर राष्ट्रपतिले बोल्न सुरु गरे – ‘यस पागल राज्यका सम्पूर्ण नागरिकहरू मलाई राष्ट्रपतिको रूपमा स्वीकार गरेर आजको मितिसम्म सबैले आ-आफ्नो जिम्मेवारी पूरा गरेर मलाई र पूरै पागल राज्यलाई सफल बनाउनु भएकोमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यस राज्यको नागरिक हुन कुनै डिभी-पीआर वा कानूनी प्रक्रिया जरुरी छैन । कुनै भूगोलले छेक्दैन। हामी संसारलाई स्वागत गर्न चाहान्छौं । र हाम्रो राज्यमा समाहित हुन अपिल गर्दछौं । यसको लागि एउटै मात्र मापदण्ड पूरा गर्नु पर्छ त्यो हो व्यक्तिगत लोभ, कुण्ठा, इर्श्या, छलकपट र आफ्नोपन गुमाउनुपर्छ यहाँ जे हुन्छ सबैलाई हुन्छ सबैको लागि हुन्छ । यति भन्दै यस राज्यको परम्पराअनुसार पागल भएर अन्तिम पटक सहभागी (कान्छो नागरिक) लाई राष्ट्रपति बनाउने चलन रहेकोले यस राज्यको कान्छो नागरिक गोपाललाई बौलाहा राष्ट्रपति घोषणा गर्दछु । राष्ट्रपतिको सम्मानमा सबै नागरिक मन खोलेर हाँस्न अनुरोध गर्दछु । र, अहिलेबाट म आम नागरिकको रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न निरन्तर लागिरहने छु। र, यो राज्यसभा यही सम्पन्न भएको जानकारी गराउँछु। धन्यवाद। ‘

राष्ट्रपतिले यति भने पछि पूरै राज्य हाँसोले गुन्जायमान भयो । सबै आआफ्नो काममा लागे म भने अक्क न बक्क भएँ मारिन्छु भनेर सोचेको राष्ट्रपति घोषित भएँ । मनमा अनेक कुरा खेल्न थाले यस्तो पवित्र, निश्चल राज्यमा के म राज्यको गरिमा कायम राख्न सकुँला ? पहिलेको राज्यमा सिकेको भोगेको आदतले मलाई कतै फोहोरी त बनाउँदैन ? मनमा यस्तै यस्तै कुराहरू आइरहे ।

म  नरक  राज्यको बौलाहा राष्ट्रपति भएको कुरा अन्तर्राष्ट्रियस्तरमा प्रमुख समाचार बनेछ । पागल राज्यको एकता, सुशासन, सन्तुष्टि र सद्भावको ब्यापक चर्चा परिचर्चा भएछ । साथै राज्य समाहित गर्ने अपिलको पनि ।

केही दिनपछि मेरो पहिलेको राज्यक बाट एउटा पत्र आयो । अचम्म लाग्यो । बौलाएकाहरूलाई कसरी समझियो त्यो राज्यले ! मनमा अनेक कौतुहलता उर्लिएर टोलाउन पुगेछु। एकैछिनमा झस्किएँ र कौतुहलतापूर्वक पत्र खोलें र पढ्न थाले-

सम्माननीय राष्ट्रपति महोदय,

 नरक राज्य

विषय: राज्य समाहित गर्ने अनुरोध सम्बन्धमा ।

प्रस्तुत विषयमा राज्य विस्तार अभियान, बि सं १९१० को मुलुकी ऐन, २००७ सालमा ल्याएको प्रजातन्त्र, २०४६ को बहुदलीय व्यवस्थाको पक्षमा भएको आन्दोलन २०५२ सालमा गणतन्त्र र सबै किसिमका उत्पीडन अन्त्य गर्न भएको जनविद्रोह र त्यसैको जगमा भएको दोस्रो जनआन्दोलनपछि संविधानसभाबाट संविधान जारी भैसकेको र संविधानले समाजवादी व्यवस्था तयार गर्ने स्पष्ट व्यवस्था गरेको जानकारी गराउन चाहन्छौं । पागल राज्यको राज्य ब्यवस्था र हाम्रो संविधानले परिकल्पना गरेको राज्य ब्यवस्था उस्तै प्रकृतिको भएको हुँदा त्यस राज्यको तर्फबाट खुला अपिल भएअनुसार हाम्रो राज्यलाई पागल राज्यमा समाहित गर्न अनुरोध गर्दछौं ।

सरकारको जो विचार !

चिठ्ठी पढेपछि मन भारी भयो । पहिले म त्यहाँको नागरिक हुँदाको अभाव, कूसंस्कारमा जोडिएको पछौटे समाज, दलाल राजनीतिक नेतृत्व, भ्रष्टाचार, न्यायीक क्षेत्रको अन्यायपूर्ण गतिविधि यहीँ अवस्थाले त म बौलाएको थिएँ । सम्झेर मन भाउन्न भएर आयो । यो पागल अवस्था गुमाएर होस् खुल्छ जस्तो छटपिएँ बल्लबल्ल शान्त भएँ धन्न सज्जन भइनँ ढुक्क लाग्यो ।

तत्कालै राज्यको विशेष वैठक बोलाएँ प्रधानन्यायाधीश, सेनापति, मन्त्री सबैसँग गम्भीर छलफल भयो । बैठकमा राज्यको विशेष राज्यसभाको आयोजना गर्ने निर्णय गरियो । र, राज्य भेलाको आव्हान गरियो ।

राज्यको सबै नागरिक उपस्थित भए सबैको मनमा कौतुहलता थियो । सभालाई सम्बोधन गर्दै राज्य समाहित गर्नको लागl आएको अनुरोध पत्र पढेर सुनाएँ । पत्र सुनेर सबै नागरिकको अनुहारमा अँध्यारो छायो। अनौंठो छटपटी सुरु भयो । मानौँ सम्हाल्नै नसकिने बज्रपात परे जस्तो । त्यसपछि फेरि सम्बोधन गरें –

‘प्रिय नागरिकहरू हामी हाम्रो जिम्मेवारी र कर्तव्यबाट कहिल्यै च्युत हुने छैनौं । हाम्रो त्याग, एकता, सहकार्य र मानवता नै यो राज्यको अस्तित्व हो । राज्य समाहित गर्नको लागि आएको अनुरोध पत्रको अध्ययन गर्दा नीतिगत रूपमा केही व्यवस्थाहरू हाम्रो राज्य व्यवस्थासँग मिल्ने भएको तर वाँकि नीतिगत कुरा नमिल्दो देखिएको, त्यहाँको शासकीय जीवनशैली नीति-नियम-विधान नमाने ब्यक्तिवादी चरित्रको भएको र हाम्रो राज्यको ठीकविपरीत पाइएकोले राज्य समाहित गर्नको लागि आएको अनुरोधपत्र अस्वीकृत गर्ने र हाल विश्व परिवेश हाम्रो राज्य अनुकूल नदेखिएको, सबै ठाउँमा विभेद, गरिबी, अपमान र ब्यक्तिवादी चरित्रको चरम उत्कर्षमा पुगेको हुँदा राज्य समाहित गर्ने हाम्रो अपिल खारेज गरिएको घोषणा गर्दछु ।’

यति भन्न साथ सबै नागरिकको अनुहार उज्यालो भयो । पूरै राज्य हाँसोले गुन्जायमान भयो । सबै नागरिकहरू अट्टहासपूर्ण हाँसोसँगै आआफ्नो बाटो लागे । भीड पातलिँदै थियो । एक जना ब्यक्ति सरासर मेरो अगाडि आएर उभिए र एकोहोरो मेरो अनुहारमा हेरिरहे । उनी पूर्वराष्ट्रपति रहेछन् । जसले मलाई जिम्मेवारी सुम्पेर आम नागरिकसरह जीवन बिताइरहेका थिए । एकैछिनमा मुसुक्क मुस्कुराए र मलाई गम्लङ्ग अँगालो हाले । त्यही बेला म झसंग ब्युँझिए । सपना रहेछ ।

घडी हेरेँ रातको २ बजेको रहेछ । सपनाको कुरा मनमा खेलीरह्यो । फेरि निदाउने कोसिस गरे अहँ निदाउनै सकिनँ ।

Loading...