साना तथा मझौला उद्यमीको लकडाउन व्यथा

सविन घिमिरे

विराटनगरस्थित विभिन्न साना तथा मझौला व्यवसायी तेजलाल कर्ण मजदूर नेता हुन् । उनले लकडाउमा व्यवसायी तथा मजदूरको समस्यालाई नजिकबाट नियालिरहेका छन् । उनले सञ्चालन गरेका सबै व्यवसायहरू अहिले बन्द भएका छन् । उद्योगमा काम गर्ने कामदारलाई दिन र घरभाडा तिर्न उनको लागि चुनौति बनेको छ ।

महामारीको कारण उनीजस्ता हजारौँ व्यवसायीलाई प्रत्यक्ष असर पुर्‍याउने कर्ण बताउँछन् । कोरोनाले निमत्याएको समस्याले साना तथा मझौला उद्योगलाई तंग्रिनका निम्ति मात्र एकदुई वर्ष लाग्ने उनको अनुमान छ । सरकारको पहलले मात्र व्यवसाय नटिक्ने भएकाले भविष्यमा कसरी व्यावसाय सञ्चालन गरेर अगाडि बढ्ने भनेर योजना व्यवसायी कर्ण चिन्तित छन् ।

साना तथा मझौला उध्योगको लागि बैंकले दिएको ब्याज छुटजस्ता राहतले सम्पूर्ण व्यवसायलाई सम्बोधन गर्न नसक्ने उनको भनाइ छ । धरापमा परेका साना तथा मझौला उद्योगको लागि राज्यले विशेष प्राथमिकता दिनुपर्ने उनी बताउँछन् ।

उनी भन्छन्, ‘साना र मझौला व्यावसायीहरूलाई विनाधितो सरल व्याजदरमा ऋण उपलब्ध गराउने, बिजुली पानी तथा घरभाडाको छुट व्यवस्था मिलाउने जस्ता प्याकेज राज्यले घोषणा गर्नुपर्छ ।’

काठमाडौमा सुनचाँदी व्यवसाय गरेर बसेका श्याम घतानी लकडाउनले आफूले भर्खरै लगानी गरेको ब्यवसाय धाराशायी भएको बताउँछन् ।

व्यवसाय बन्द भएको कारण आउने बाटो नभएपछि उनीसँग भएको अलिअलि रकम पनि सकिँदै गको छ । घरभाडको तनाव पनि छँदै छ । हाल उनले ५० हजार रुपैयाँ घरभाडा तिर्नै बाँकी छ । उनका ४ जना कामदारलाई ६० हजारभन्दा बढी तिरिसके । तर व्यापार नै नभएपछि नाजुक अवस्थाको कारण आफ्ना कर्मचारीलाई पनि उनले बाँकी तलब तिर्न सकेका छैनन् ।

बाँच्न गाह्रो भएपछि उनका कर्मचारी सबै गाउँ गएका छन् । कोरोनाको विश्वभरिनै असर परेकोले रेमिट्यन्समा पनि गिरावट आएको छ । जसको प्रत्यक्ष असर घतानीको सुनचाँदी व्यवसायमा परेको छ । लकडाउन खुलेपछि पनि व्यवसाय सन्तुलनमा आउन केही वर्ष लाग्ने घतानीको अनुमान छ । घतानी भन्छन्, ‘मर्कामा परेका हामी जस्ता साना व्यावसायीहरूका निम्ति राज्यले विनाधितो ऋण दिनेबारे सोचिदिनुपर्छ ।’

विराटनगरस्थित ह्यास ट्याग रेस्टुरेन्टका सञ्चालक अविनाश थापाका लागि निरन्तरको लकडाउनले करिब बीस–बाइस जना कर्मचारीको पारिश्रमिक र घरभाडा सबैभन्दा ठूलो चुनौति बनेको छ । नेपाली क्यालेन्डर अनुसार परेको नयाँ वर्ष तथा अन्य विभिन्न पर्वहरू उनीहरूजस्ता होटल तथा रेष्टुरेन्ट पर्यटन व्यवसायीहरूका लाािग राम्रो आम्दानी गर्ने अवसर थियो । तर लकडाउनले पूरै प्रभावित भयो ।

तिरिएको करको आधारमा आर्थिक राहतको प्याकेज, व्याजमा विशेष छुट व्यावस्था र कामदारहरूका लागि सरकारले राहत दिए आफू जस्ता मझौला व्यावसायीका लागि ठूलो राहत पुग्ने उनी बताउँछन् । सञ्चालक थापा भन्छन्, ‘भूकंपले भत्किएको घरलाई सरकारले हजारौको संख्यामा जनही ५ देखि १० लाखसम्म दिन सक्छ भने कोरोनाले मारमा परेको व्यवसायीहरूलाई सहुलियतमा व्यवसायको भाडा, कर छुट तथा ऋणमा सहुलियत किन दिन नसक्ने ?’

जनकल्याण पुस्तक पसल, पथरीका सञ्चालक स्वयम नेपालका लागि चैत्र र वैशाख व्यापारको लागि उत्कृष्ट समय हो । तर यही बेला निम्तिएको कोरोना संक्रमणले उनको व्यापार चौपट भएको छ । आम्दानीको अन्य स्रोत नभएको र पारिवारिक खर्च चलाउने एक मात्र माध्यम पसल मात्र भएकोले उनलाई समस्या परेको छ । यसैले लुकिछिपि उनले बेलाबखत पसल खोल्ने गरको छन् । सरकारले घरभाडा छुट र बैंकको व्याजमा सहयोग गरिदिए थप ऊर्जा आउने विश्वास उनको छ ।

बिहान सबेरैदेखि राति ९ बजेसम्म ग्राहकलाई चिया पिलाउन प्रदीप रावललाई भ्याइनभ्याइ हुन्थ्यो । कोभिड–१९ ले निम्त्याएको लकडाउनले गर्दा उनले काठमाडौं मिड बानेश्वरमा सञ्चालन गरेको दारी वालाको चिया पसल पनि अहिले संकटमा छ । लकडाउनले गर्दा पसल बन्द छ ।

एक मात्र आयस्रोतको बाटो त्यही चिया पसल भएको तर परिस्थितिअनुसार बन्द गर्नु परेकोले उनको आम्दानी ठप्प छ । व्यक्तिगत, पारिवारिक तथा अन्य खर्च चिया पसलकै नाफाबाट चलाउनुपर्ने पर्ने भएकोले उनी तनावमा छन् । उनको आग्रह छ, ‘साना व्यवसायीहरूका लागि पनि सरकारले केही राहत प्याकेज ल्यावोस ।’,

कोरोना महामारीको कारण अन्य क्षेत्रजस्तै शैक्षिक परामर्शको क्षेत्रपनि अछुतो नरहेको नेक्स्ट टर्म विराटनगरका म्यानेजिङ डाइरेक्टर अनिश रिजाल बताउँछन । उनका कन्सलटेन्सीमा विदेशमा पढ्न योजना बनाएका धेरै विद्यार्थी मध्य प्रक्रियामा थिए ।

केहीले जानको लागि रकमसमेत बुझाएका थिए । तर कोरोनाले गर्दा एक्कासी भएको लकडाउनले गर्दा सबैले कार्यक्रम स्थगित गरेका छन् । महामारीको कारण सबै अन्तर्राष्ट्रिय प्रदायकहरूले जून २०२० को लागि विद्यार्थी लिन बन्द गरेका छन् । जसले भविष्यका स्नातकहरूको भविष्य संकटमा परेको छ ।

दूरदर्शी रौतरनी आधुनिक खरायो फार्मका सञ्चालक हेमन्त भन्डारीले यतिबेला न्युन घरेलु मागसँगै बजारीकरणको समस्या झेलिरहेका छन् । उनले फार्ममा पालेका खरायो बिक्री हुन छाडेका छन् । सङ्गै उनले खरायोलाई आहारा खुवाउन पनि समस्या झेलिरहेका छन् ।

होमस्टे बनाउन लिएको कर्जाको किस्ता, साँवा तथा ब्याज तिर्न उनलाई हम्मेहम्मे परेको छ । पर्यटकको आगमन ठप्प भएपछि उनीजस्ता अन्य किसानको गरिखाने भाडो बन्द भएको छ । लकडाउन खुलेपछि पनि सोचेजस्तो तरिकाले आफ्नो व्यवसायले रफ्तार नलिने उनी बताउँछन् । कृषि व्यबसाय गर्नेहरूलाई सरकारले कृषि कर्जा छुट गरिदिए सहज हुने उनको अपेक्षा छ ।

Loading...