अक्षयको फिल्म ‘लक्ष्मी बम्ब’ हलमा नभएर अनलाइन प्लेटफर्ममा रिलिज हुने

विराटनगर, २१ वैशाख । कोरोना भाइरसको जोखिमलाई नियन्त्रण गर्न लागू गरिएको लकडाउनका कारण बलिउडका अभिनेता अक्षय कुमार र अभिनेत्री कियारा अड्वानी अभिनित फिल्म ‘लक्ष्मी बम्ब’ हलमा नभएर अनलाइन प्लेटफर्ममा रिलिज हुने भएको छ ।

लकडाउनका खुलेपछि पनि हलमा प्रदर्शन गर्न अझै केही समय कुर्नुपर्ने र दर्शक पनि अब हत्तपत्त हलसम्म नपुग्ने भएकाले आफ्ना दर्शकलाई लक्षित गरेर अनलाइनमा रिलिज गर्न लागिएको हो ।

चलचित्रका निर्माता तथा निर्देशकले ‘डिज्नी प्लस हट स्टार’ नामक एपसँग चलचित्र रिलिजको विषयमा कुराकानी गरिरहेका छन् जसमा दुवै पक्ष यस विषयलाई लिएर सकारात्मक छन् ।

फिल्मको सम्पादन, संगीत, मिक्सिङसहित चलचित्रमा धेरै पोष्ट-प्रोडक्शन कार्य बाँकी छ ।

फिल्मको टोली घरबाट काम गरिरहेको कारण प्रक्रिया सामान्यभन्दा लामो समय लिइरहेको छ ।

निर्माताहरूले जून सम्म फिल्म तयार पार्ने आशा गरिरहेका छन् । फिल्मले आगामी इदमा रिलिज गर्ने लक्ष्य राखेको थियो ।

अक्षय कुमारले लगानी गर्ने कुनै पनि पार्टीले नोक्सानमा नपरोस र चलचित्र व्यापक दर्शकहरूमा पुगोस् भन्ने चाहनाका साथ विश्वव्यापी रूपमा पुगेको डिज्नी प्लस हट स्टारमा चलचित्र उपलब्ध गराउन लागेको उल्लेख गरिएको छ ।

फिल्मको निर्देशन राघव लारेन्सले गरेका हुन् ।

सन् २०११ तमिल हरर कमेडी मुनि २: कंचनाको हिन्दी रीमेक हो लक्ष्मी बम्ब ।

अक्षय कुमार डरपोक स्वभाव भएका राघवको भूमिकामा छन् ।

कञ्चना एक ट्रान्सजेन्डर महिला हुन्, जसले आफ्नो मृत्युको बदला लिनका लागि राघवको शरीर चुनेको हुन्छ ।

Loading...