फुटबलर समीक्षाको उपचार खर्च एन्फाले ब्यहोर्ने

काठमाडौं, २१ वैशाख । आँखामा गम्भीर चोट लागेकी महिला फुटबल खेलाडी समीक्षा मगरको उपचार खर्च अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ब्यहोर्ने भएको छ ।

यु–१६ महिला फुटबल टोलीकी खेलाडी मगरको सम्पूर्ण उपचार खर्च एन्फाले ब्यहोर्ने एन्फाका प्रवक्ता किरण राईले जानकारी दिएका छन् ।

लकडाउनअघि घर गएकी मगरको यही वैशाख १२ गते उदयपुरस्थित घरमा काम गर्ने क्रममा ढुङ्गाले लागेर आँखामा चोट लागेको थियो ।

उनको अहिले मोरङको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भइरहेको छ ।

उनको आँखाको सल्यक्रिया हुन गइरहेको छ ।

उनका लागि आर्थिक सहयोग जुटाउने अभियान थालिएको छ ।

उपचारका लागि शनिबार एन्फाको महिला विभाग प्रमुख एवं महिला फुटबल टोलीका पूर्वप्रशिक्षक हरि खड्काले शनिबार रु ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् ।

खड्काले नेपाली राष्ट्रिय महिला फुटबल टोली, महिला विभाग र पदाधिकारीको तर्फबाट उक्त सहयोग गरिने बताए ।

यस्तै मनाङ मर्याङ्दी क्लबले मगरको उपचारका लागि रु ३० हजार तथा एन्फा र विराट साङ्ग्रिला स्पोर्टस् क्लबले समान रु २५ हजार सहयोग गरेका छन् ।

Loading...