आर्थिक समस्या समाधानमा सामूहिक काम आवश्यक

महाप्रसाद अधिकारी, गभर्नर नेपाल राष्ट्र बैंक

कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि देशभर लकडाउन लागू गरिएपछि अर्थतन्त्रमा ठूलो असर परेको छ । पर्यटन, कृषि, औद्योगिक उत्पादन, वैदेशिक रोजगारका क्षेत्र सबैभन्दा बढी समस्यामा छन् । बैंकिङ क्षेत्र पनि प्रभावित छ । व्यावसायिक क्षेत्रलाई माथि उकास्न बैंक तथावित्तीय संस्थाको महत्वपूर्ण भूमिका रहन्छ । नियामक निकाय नेपाल राष्ट्र बैंकको नीति र निर्देशनहरू त झन् महत्वपूर्ण हुने नै भयो । यसैले हामी कोरोना संक्रमणले आर्थिक क्षेत्रमा पारेको असर प्रभावको गहन मूल्याङकन गरिरहका छौं ।

तर अहिलेसम्म अध्ययनको अन्तिम नतिजा आइसकेको छैन । प्रारम्भिक रिपोर्टहरू छलफलमा छ । प्रोसेसिङ भइराखेको छ । केही इन्डिकेसनहरू त छन् । हामीले बाहिर अनुमान गरिएजस्तै धेरै कुराहरू (जस्तै पर्यटन क्षेत्र) अत्यन्तै प्रभावित छ र त्यसको असर पनि अलि लामै हुने देखिएको छ । त्यसैगरी निर्माण क्षेत्र, हवाई उड्डयन, यातायातलगायतका अरु क्षेत्रहरू पनि प्रभावित छन् । त्यसमा पनि अध्ययन–प्रतिवेदन आइसकेपछि अझै विस्तृतमा हामीलाई थाहा हुनेछ । समग्रमा त लकडाउन भइसकेपछि स्वभाविकैले कोरोनाको असर अर्थतन्त्रमा पर्ने नै भयो । यसलाई हामीले होसियारीपूर्वक लिएर सजकताका साथ चिर्नु छ ।

पर्यटन सबैभन्दा प्रभावित भएको, त्यसमा पनि रिकभर हुनलाई निकै समय लाग्ने स्थिति देखिन्छ । त्यस पछाडिको मुख्य कारण के हो भने अब पर्यटकहरू यो कोरोनाको खास औषधि अथवा भ्याक्सिन क्लियरली बाहिर नआउन्जेलसम्म अन्तर्राष्ट्रिय यात्रामा आउन÷जान सक्ने सम्भावना निकै कम छ । सँगसँगै जोसुकै पब्लिक पर्यटकलाई घुम्ने आत्मविश्वास बन्नलाई त्यतिकै समय लाग्छ । त्यसैले पर्यटनलाई उकास्न प्रशस्त समय चाहिने हामीले अनुमान गरेका छौं ।

त्यसैगरी नेपालको समग्र अर्थतन्त्रमा बाहिर श्रम बजारमा खटिराख्नु भएका साथीभाइहरूको ठूलो योगदान रहँदै आएको छ । त्यसमा पनि ठूलो मात्रामा गिरावट आउने छ । फलस्वरुप हामीलाई तरलताको अभाव हुनजानेछ, किनभने रेमिट्यान्स हाम्रो वित्तीय क्षेत्रका लागि महत्त्वपूर्ण तरलताको स्रोत पनि थियो । हिजोको दिनमा हाम्रो वैदेशिक मुद्राको रिजर्भ कायम गर्ने सन्दर्भमा पनि त्यसको ठूलो योगदान थियो । अब यो दुईवटै चाप हामीलाई पर्नेछ । भन्नुको अर्थ एकातिर वित्तीय क्षेत्र तरलताको ब्यालेन्स गर्नलाई तरलता पर्याप्त पुर्‍याउनलाई चुनौती आइपर्छ ।

अर्कोचाहिँ हाम्रो वैदेशिक मुद्रा सञ्चिती (हामीलाई चाहिने हार्ड करेन्सी, जो जहिले पनि केही न केही इम्पोर्ट गर्दा तिर्नुपर्ने बिलका लागि चाहिन्छ र त्यसको लागि आवश्यक रिजर्भ कायम राख्नपर्छ) गर्नपनि हामीलाई चुनौती छ । यो कुरालाई हामी एकदम नजिकबाट हेरिराखेका छौं । बाह्य क्षेत्रको स्थिरता कायम गर्ने सन्दर्भमा र वित्तीय क्षेत्रको स्थिरता कायम गर्ने सिलसिलामा हामी निरन्तर खटिरहेका छौं ।

तरलतालगायतको कुरालाई केले विस्थापन गर्न सक्छ भन्नेबारेमा अध्ययन गरिरहेका छौं । कहिँकतै हाम्रा आनिबानी नै परिवर्तन गर्नुपर्ने हुन्छ कि, जस्ता कुराहरू आउन सक्छन् । त्यसलाई हामी नजिकबाट हेर्दैछौं, असर पनि छ । अब कृषिलगायतका क्षेत्रमा पनि असर छ । तर प्राइमरी कृषिमा कमै असर पर्छ । कृषिको अहिलेको असर भनेको चेन टुटेको, खासगरी इकोसिस्टम टुटेको कारणले उत्पादित सामाग्रीलाई डेलिभरी गर्न नसकेको, उपभोक्तासम्म पु¥याउन नसकेको अवस्था हो । तर कृषि उत्पादनमा चाहिँ यसले धेरै ठूलो असर नपर्ला जस्तो लाग्छ ।

धेरैजसो अर्थतन्त्रका क्षेत्रहरूमा कुनै न कुनै किसिमको दबाब पर्छ । यहाँले उठाउनुभएको अहिलेको मूल्यस्थितिसम्बन्धी प्रश्न हो । त्यहाँ पनि मागले निरन्तरता पाउने तर उत्पादन सोचेअनुसार नहुने र आपूर्ति स्थिर हुने हुँदा स्वभावैले दबाब पर्छ । अब यो मूल्यलाई नियन्त्रणमा राख्नलाई राष्ट्र बैंकसँगका आफ्ना केही सीमित उपकरणहरू, औजारहरू छन् नभएका होइनन् । तर ती पर्याप्त हुँदैनन् । जुनसुकै अवस्थामा हामीले बेसीभन्दा बेसी जोड दिनुपर्ने कुराचाहिँ उत्पादन र आपूर्तिलाई निरन्तरता दिने र मूल्यसँग गाँसिएका अरु किसिमका विकृतिजन्य कुराहरूलाई निराकरण गर्ने वा न्यूनीकरण गर्ने नै हो ।

नेपाल आफैंमा समग्रमा ठूला अर्थतन्त्र भएका अरु मुलुकहरूसँग तुलना गर्दा सानो अर्थतन्त्र भएको मुलुक हो । हामीले ठूला अर्थतन्त्रले गरेजस्तो कतिठाउँमा बिग पुस भन्छन् त्यो गर्न हामी सिधै नसकौंला । तरपनि हामी संयुक्त रूपमा सबैको पहल, निजी क्षेत्र, सरकार, वित्तीय क्षेत्र सबै लागेर काम गर्दा गर्न नसकिने विषय छैन । हामीले अहिले यो कोरोनाको असर नियन्त्रण गर्न लकडाउन गरेको सवामहिना भइराख्दा जे जति कामहरू गरेका छौं, सुरक्षाका लागि जे जति मेजरहरू ल्याएका छौं, प्रिकसनरीसँगसँगै प्रोटेक्सनका लागि ती मेजरहरू अहिलेलाई चाहिँ पर्याप्त छन् ।

किनभने परेको अप्ठेरोलाई हामीले टार्दै गइराखेका छौं । अब लङ रनमा चाहिँ, अब आर्थिक वर्षको अन्त्य हुन्छ असार मसान्तमा बजेट आउँछ । त्यतिबेला कयौं नीतिहरूमा हामीले मन्थन गरेर, छलफल गरेर बजेट ल्याउनुपर्ने अवस्था हुन्छ । जसले एउटा उपभोक्तालाई अथवा उद्योगीलाई, व्यापारीलाई पनि बाँच्नसक्ने आधार सिर्जना गरोस् ।

त्यसैगरी वित्तीय क्षेत्रका प्लेयरहरू बैंक वित्तीय संस्थाहरूलाई पनि सस्टेन हुनेगरी त्यो पोलिसी ल्याउनुपर्ने अवस्था हुन्छ । त्योभन्दा पछाडिको अवस्थालाई पनि वर्षौंवर्ष (अघि मैले भनिहालेँ पर्यटनको केसमा कैयौं वर्ष) लाग्न सक्छ रिकभर हुन । उहाँहरूलाई अहिले नै,आजै नै यो कुरा हुनपर्छ भन्न थालियो भने त्यो संस्था टिक्ने सम्भावना नै छैन ।

त्यसलाई पनि ख्याल गरेर हामीले केही नीतिहरू ल्याउनुपर्छ । सँगसँगै सरकारको अवस्था के छ त भन्दा, निजी क्षेत्रका बिजनेस हाउसेसहरू घटिराख्दा, बन्द भइराख्दा, सरकारको राजस्व पनि संकुचित हुनु स्वभाविक हो । त्यसले गर्दा सरकारको आफ्नो स्पेस पनि घटिराखेको छ । स्पेस घटेपनि सरकारले बाह्य दाताहरूसँग, डेभलोपमेन्ट पार्टनरहरूसँग नजिकबाट काम गरिराखेको छ ।

जसले गर्दा हामीलाई थप आत्मबल बढिराखेको छ । त्यसको असर स्वरुप बिजनेसलाई, अर्थतन्त्रलाई चलायमान बनाउनलाई केही न केहीकुनै न कुनै किसिमको एउटा कलेक्टिभ प्याकेजमा हामी जान्छौं । जसले गर्दा यसलाई रिबाउन्ड गर्न हामी सक्नेछौं ।

अहिले पछिल्लो पटक राष्ट्र बैंकले ल्याएको निर्देशन खासगरी बैंक तथा वित्तीय संस्थाहरूले कम्प्रमाइज गरिदिनका लागि गरिएको निर्देशन हो । बैंक तथा वित्तीय संस्थाहरूको एउटा रेगुलर निश्चित आम्दानी छ । अगाडिको एग्रिमेन्टको आधारमा, ग्राहकसँग लिने एउटा तोकिएको ब्याजदर छ । त्यो ब्याजदरमा उहाँहरूले केही सम्झौता गर्नसक्ने ठाउँ हामीले देखेर २ प्रतिशतब्याज यो तीन महिनाको लागि छुट गरिदिनुस् यो समयमा लकडाउन पनि लामो भयो भनेर हामीले निर्देशन दिएका छौं ।

त्यसलाई धेरैले सकारात्मक रूपमा लिनुभएको छ । कतिपय ठाउँमा बैंकको आम्दानी घट्ने हुँदा बैंकहरूबाट असन्तुष्टि आएको छ त्यो स्वभाविक हो । त्यसले गर्दा यतिले नै उहाँहरूलाई, व्यवसायीहरूलाई पर्याप्त हुन्छ, यतिले नै आफ्नो बिजनेस चलाउन सक्नुहुन्छ भन्ने होइन । उहाँहरूलाई अरु धेरै खालका सुविधाहरू आवश्यक हुन सक्छन् । उहाँहरूले लिएको ऋणमा थप ऋण चाहिने कुरा हुनसक्छ । उहाँहरूले लिएको ऋणको ब्याजलाई क्यापिटलाइज गर्नुपर्ने अवस्था हुनसक्छ । त्यस्तै रि–स्टक्चर गर्नुपर्ने अवस्था हुनसक्छ । यी सबै कुरालाई हामी कलेक्टिभली लगेर बिजनेसलाई निरन्तरता दिनेतर्फ लाग्नेछौं ।

हाम्रो प्राथमिकता पनि साना तथा घरेलु व्यवसाय नै हो । यहाँले अस्तिको सर्कुलर हेर्नुभयो भनेपनि अब पुनर्कर्जा सम्बन्ध कार्यविधिमा केही परिवर्तन गर्छौ । पुनर्कर्जाको प्रोसेसलाई अब हामीले छोट्याउँछौं । धेरै लामो प्रक्रिया भएकोले हिजो भएको सीमाभित्र पनि पुनर्कर्जा प्रयोग भएको छैन । त्यसैले पुनर्कर्जाको प्रयोग पनि कसरी भएको छ भन्दा अलि ठूला खालका ऋणीहरूले मात्रै पाइराखेको जस्तो देखिएको छ ।

हामीयसमा पूर्णरूपमा सुधार गर्छौं र पुनर्कर्जा सानोभन्दा सानो ग्राहकले पनि पाउनेगरी हामीले लैजाँदै छौं । सँगसँगै जनरल पुनर्कर्जा जसमा सबैभन्दा बेसी ब्याज थियो,पहिले राष्ट्र बैंकले ३ प्रतिशत लिन्थ्यो भने बैंकले सात प्रतिशतमा दिनुपर्थ्यो । त्यसलाई हामीले रिभाइज गरेका छौं ।

नेपाल राष्ट्र बैंकले २ प्रतिशतमा दिनेछ र बैंकले पाँच प्रतिशतमा दिनुपर्नेछ । भन्नुको अर्थ सेवाग्राहीलाई झण्डै २ प्रतिशतको बेनिफिट हुनेछ । त्यो पनि हामीले व्यवस्था गरिराखेका छौं । सँगसँगै हामीले यो नयाँ कार्यविधि बनाउँदा के गर्न खोजिराखेका छौं भने हामी पुनर्कर्जामा सकभर राष्ट्र बैंकमा आउने लामो प्रोसेसमा पर्नुभन्दा पनि कार्यविधिबाट सम्बन्धित बैंकमा जाने र हामीले त्यसलाई कम्पनसेट गर्ने मोडालिटीहरूमा जान्छौं ।

जसले गर्दा पुनर्कर्जा सम्बन्धी काम प्रभावकारी पनि हुनेछ । र हिजोको भन्दा बेसीभन्दा बेसीलाई पुनर्कर्जामा पहुँच पनि हुनेछ । त्यो पहुँच भइराख्दा खेरी ठूला ग्राहकलाई मात्र नभएर ठूला ग्राहक भन्दा बेसी साना साइजका ग्राहकहरू, साना तथा मझौला खालका ऋणीहरूले बेसी सुविधा पाउने छन् भन्ने हाम्रो अपेक्षा छ ।

सबैको स्रोत र पूँजी घटेको अवस्थामा योजनाहरू कसरी सञ्चालन गर्न सकिन्छ ?

अब यो पहिले बनाइएका जे जति आयोजनाहरू छन् ती सबै हामीले हिजो सोचेजस्तै गरी अगाडि बढ्लान् भन्न अलिकति कठिन छ । एक त हाम्रो रिसोर्स नै स्थिर हुने भयो भने अरु सीमाहरू पनि बढ्दै गएका छन् । त्यसैगरी निजी क्षेत्रबाट बन्ने आयोजनाहरू पनि निजी क्षेत्रलाई जिम्मा दिएका सार्वजनिक निजी साझेदारीका आयोजनाहरूमा पनि समस्या आउने सम्भावना देख्छु । किनभने निजी क्षेत्र जो बाहिरबाट एफडिआई लिएर आउनेहरू हुन् उहाँहरूले पनि केही समय सोच्नुहुन्छ । अब उहाँहरूको लगानीलाई बाहिर फिर्ता लान नदिई उहाँहरूलाई पनि कमसेकम यहाँ उभ्याउने र काम सुरु गराउने गर्न सकियो भनेदेखि ठूलो कुरा हुन्छ ।

त्यसकारण पाइपलाइनमा आइसकेका आयोजनाहरू जे जेहुन् तिनलाई कार्यान्वयन गर्नका लागि हामीले प्राथमिकता दिनुपर्छ । नयाँ प्रोजेक्टहरू आउन, नयाँ लगानीहरू भित्रिनका लागि अलिकति समय लाग्न सक्छ । त्यसको लागि हामीले थप योजना नै गर्नुपर्ने हुन्छ । हिजो तयार गरेको अथवा हिजो योजनामा परेका आयोजनाहरूलाई पुनः प्राथमिकीकरण हामीले गर्नुपर्ने हुन्छ । ती सबै प्रोजेक्ट हिजो सोचेजस्तै गरी त्यही टाइमलाइनमा चाहिँ जानलाई अलिकति कठिन नै छ ।

वित्तीय क्षेत्रकै कुरा गर्ने हो भने हामी अलिकति बेसी डिजिटल इकोनोमीतर्फ जाने इकोनोमीलाई डिजिटलाइज गर्ने अवसरको रूपमा यसलाई लिन सक्छौं । त्यसैगरी कतिपय कारोबारहरू अहिले भर्चुअल्ली पनि भइराखेका छन् । भर्चुअल्ली मिटिङहरू भइराखेका छन् । फिजिकल प्रिजेन्सबाहेक पनि धेरै कामहरू हुनसक्छ भन्ने म्यासेज यसले दिइरहेको छ ।

त्यसलाई पनि हामी सकारात्मक रूपमा लिन सक्छौं । नेपालको सन्दर्भमा धेरैले उठाइराख्नुभएको सवालचाहिँ हाम्रा धेरै साथीभाइहरू वैदेशिक रोजगारीमा जानुभएको छ । उहाँहरू फर्कनुहुन्छ । फर्केपछि उहाँहरूलाई कसरी उपयोग गर्ने भन्ने हो । उहाँहरूको सेवा लिने सिलसिलामा पनि हामीले स्वदेशमै थप उत्पादनमूलक काम गर्ने एउटा अवसर प्राप्त गरेका छौं ।

उहाँहरूले बहिर सिक्नुभएको सीप र ज्ञानलाई प्रयोग गर्ने एउटा मौका यसले दिन्छ । हामी नयाँ दिशामा जान सक्छौं कि भन्ने खालका कुराहरू पनि आइराखेका छन् त्यो पनि यसको लेसन्स हुन सक्छ जस्तो लाग्छ मलाई ।

मेरो अनुरोध हामी अप्ठेरो समयमा छौं । आर्थिक हिसाबले संसारका एजेन्सीहरूले नै यसलाई “ग्रेट लकडाउन”आईएमएफ, वल्र्ड बैंक जस्ताले पनि इतिहास मै नभएको घटना भनेर भनिरहेका छन् । आर्थिक हिसाबले अति ठूलो मन्दी आएको छ । यस्तो अवस्थामा हामी सबैले धैर्यताका साथ सुरक्षित बसौं । सँगसँगै यो असहजतालाई सबैले सुझ–बुझका साथ सहयोग गरौं । कलेक्टिभली काम गरौं । सबैजना मिलेर काम गर्दाखेरी जस्तोसुकै समस्या पनि समाधान गर्न सकिन्छ ।

वित्तीय क्षेत्रको रेगुलेटर हो राष्ट्र बैंक । हाम्रो कमिटमेन्ट के हो भन्दा वित्तीय क्षेत्रलाई हामी सुरक्षित राख्छौं । जसले गर्दा समग्र अर्थतन्त्र सुरक्षित हुनेछ । त्यसैगरी ऋणी उद्योगहरूले पनि वित्तीय क्षेत्रबाट सही किसिमको सुविधाहरू भोलि उपभोग गर्न सक्नुहुन्छ । यस सिलसिलामा सबैको सहयोगको अपेक्षा म राख्दछु । वित्तीय क्षेत्रलाई विश्वास गर्नुपर्छ । यसलाई सुरक्षित राख्नुपर्छ त्यसमा राष्ट्र बैंक दत्तचित्त छ । सबैको सहयोगको अपेक्षा गर्छु ।

(कुराकानीमा आधारित )

Loading...