उद्योग प्रतिष्ठानहरुलाई राहत प्याकेज दिनुपर्छ , चन्दप्रसाद ढकाल, उपाध्यक्ष – उद्योग वाणिज्य महासंघ

कोरोना संकटमा आर्थिक समस्या र संभावनाबारे कुराकानी


लकडाउनले श्रम र रोजगारीको क्षेत्रमा कस्तो असर परेको छ ?

सबै उद्योग प्रतिष्ठानहरु बन्द भएको अवस्था छ । श्रमिकहरुले कामगर्न पाएका छैनन । व्यापार व्यवसाय पनि ठप्प छ । नेपालमा मात्र हैन ‘वल्र्डवाइड’ रुपमा नै लकडाउन भएकोले अहिले सम्म अनुमान नगरेको परिस्थिति देखापरिरहेको छ । अर्बोको आर्थिक नोक्सानी भइसकेको छ । केही मजदुरहरुले रोजगारी गुमाइसकेका छन भने धेरैले गुमाउने अवस्था सृजना भैरहेको छ । जिडिपिको योगदान घटेको छ । टुरिजम क्षेत्र पूर्णरुपमा बन्द भएको छ ।

संकटमा देखिएका चुनौति र संभावनाहरु के के हुन ?

एउटा त बेरोजगार बढने छ, उत्पादन घटने छ । विदेशबाट धेरै नेपालीहरु फर्किने मनस्थितिमा छन । रेमिट्यान्स कम हुँदाखेरी बैंकहरुलाई पूँजी परिचालन गर्न सहयोग पुग्ने अवस्था पनि कम हुने देखिन्छ ।पहिले गाउँबाट काठमाडौं आउने काठमाडौंबाट विदेश जाने चलन थियो । तर अब विदेशबाट काठमाडौं आउने र काठमाडौंबाट गाउँ फर्कने अनि कृषिको काम गरेर आत्मनिर्भर हुने स्थिति आउँदै छ । र , यो हामीलाई अवसर पनि हो जस्तो लाग्छ मलाई । कोरोना संक्रमित भएर एकजना पनि मान्छे मरेनन वा थोरै मरेभने विश्वमा नेपाली पर्यटन प्रवद्र्धनको अवसर पनि बढनेछ ।

बाहिर श्रम गर्न जानेहरु फर्र्किए भने उनीहरुलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?

यहाँबाट जाँदा कुनै सिप नभएको मान्छे विदेशबाट फर्किदाखेरी ‘सेमिस्किल’ भएको हुन्छ । सरकारले अलिकित बुस्ट अप गरेर उद्योग प्रतिष्ठानहरुलाई सञ्चालन गर्न सक्यो भने त्यसले अहिले भइराखेको रोजगारीलाई निरन्तरता दिदै थप व्यक्तिहरुलाई पनि रोजगारी दिन सक्ने हुन्छ ।

सरकारलाई ट्याकस कलेक्सनको कुरामा पनि उद्योग प्रतिष्ठानहरुले सपोर्ट गर्न सक्छन । यसैले सरकारले उद्योग प्रतिष्ठिानहरुलाई राहत प्याकेजहरु दिनुपर्छ । किनकी यहाँ भइराखेको रोजगारीलाई निरन्तरता दिने र विदेशबाट फर्कने व्यक्तिहरुलाई पनि उनिहरुको सिप अनुसार काम दिन सक्ने अबस्था सृजना होस । विदेशबाट फर्किने नेपालीहरुलाई स्वरोजगारको वातावरण बनाउनुपर्छ । सहुलियत फाइनान्सको सुविधा दिलाउने एसएमइमा प्रोत्साहन गर्ने, तालिम, प्रविधि, आधुनिक कृषिमा सरकारको तर्फबाट प्रोत्साहन दिनुपर्छ ।

कोरोना संक्रमण हाम्रालागि कसरी अवसर बन्न सक्छ ?

कोरोना हाम्रालागि एउटा ‘सेल्फ सस्टेन’ बन्नका लागि सही समय हुनसक्छ ।उदाहरणकालागि कतारमा ब्लकेट भयो ।वास्तममा कतारमा अधिकांश चिजहरु इम्पोर्ट हुने अवस्था थियो । दुध पनि बाहिरबाट इम्पोर्ट हुन्थ्यो । नाकाबन्दी भएपछि आउने दुधहरु पनि आउन छोड्यो । पछि कतारले विमानमा गाइहरु ल्याएर डेरी प्रोडक्ट त्यही उत्पादन गर्न सुरु ग¥यो । अहिले त्यो डेरी प्रोडक्टहरु निर्यात गरिरहेको अवस्था छ । यदि कतारको नाकाबन्दी नभएको भए त्यो अवस्था आउने थिएन होला । कतै कोरोनाको महामारीले यहाँपनि आत्म निर्भर हुनको लागि हमीलाई शिक्षा पनि दिन सक्छ ।

जेठ १५ गते संसदमा बजेट पक्कै प्रस्तुत हुन्छ । बजेटको प्राथमिकता समग्रमा कस्तो हुनुपर्छ ?

पहिलेको भन्दा यो अवस्थामा बजेटको प्रकृति फरक हुनुपर्छ । बेरोजगारी समस्या विश्वव्यापी हुँदै गएको अवस्थामा यसलाई सम्बोधन गर्ने खालको हुनुपर्छ । दोस्रो उद्योग प्रतिष्ठानहरुलाई ‘बुस्टअप’ गर्ने हिसाबको बजेटले व्यवस्था गर्नुपर्छ । बजेटले उद्योग प्रतिष्ठानहरुले रोजगारी सिर्जना गरोस, रेभिन्यु जेनेरेट गरोस । किनभने सम्पूर्ण अर्थतन्त्र विश्व महामारीको कारणबाट खुम्चिने अवस्था रिभाइज गर्ने हिसाबको बजेट आउनुपर्छ ।

Loading...