मास्क र पञ्जाको भरमा सूचनाका सिपाही

मोहन ढकाल

विराटनगर, २० वैशाख । मकालु टेलिभिजन विराटनगरमा कार्यरत पत्रकार नविन कर्ण लकडाउनको समयमा पनि नियमित फिल्डमा निक्लने गरेका छन् ।

उनी विराटनगर लगायतका आसपासका पालिकाहरुमा पनि रिर्पोटिङका लागि पुग्छन् । सुरक्षाका सामाग्री बजारमा समेत प्रयाप्त नभएकाले आफैंले खरिद गरेका मास्क, ग्लोब्स, सेनिटाईजर प्रयोग गरेर उनी रिर्पोटिङका लागि फिल्डमा जाने गरेको बताउँछन् ।

जोखिम मोलैर भएपछि रिर्पोटिङ गर्नु उनले आफ्नो कर्तव्य ठानेका छन् । पत्रकार कर्ण भन्छन्, ‘संकटको बेला सबैले सुरक्षित र सर्तक हुनुपर्छ तर पत्रकार सूचनाको सिपाही भएकोले उसलाई अरुले जस्तो ढुक्क भएर घरमा बसिरहने छुट हुँदैन ।’

हिमशिखर टेलिभिजनमा सम्वाददाताका रुपमा कार्यरत राकेश कर्ण पनि नियमित रिर्पाेटिङका लागि फिल्डमा निक्लने गरेका छन् ।

कोरोनाको त्रास भएपनि उनले जिम्मेवारी पूरा गर्नुपर्ने भएकोले फिल्डमा जान छाडेका छैनन् । विपदको सयमा उनले २ महिनादेखि तलब पनि पाएका छैनन् ।

न त उनले आफ्नो संचारसँस्थाबाट सुरक्षाका सामाग्री नै पाएका छन् । बरु उनले आफैं केही सुरक्षाका सामाग्री जुटाएर फिल्डमा खटिरहेका छन् ।


कान्तिपुर टेलिभिजनमा कार्यरत सुशिला पाठकलाई पनि दैनिक फिल्डमा जानुपर्ने अवस्था छ । उनले पनि सुरक्षाका सामाग्री पाएकी छैनन् ।

मिडिया हाउसको निर्देशनअनुसार उनी आवश्यक ठाउँमा मात्र फिल्डमा जान्छिन् । कोरोना भाइरस संक्रमणको त्रास सर्वत्र भइरहेको बेला पत्रकार सुशिला पनि मुक्त्त छैनन् ।

तर पेशा अँगालीसकेपछि जिम्मेवारीबाट भाग्न नहुने उनी बताउँछिन् । भन्छिन, ‘संकटकाल भनेर मात्रै हुँदैन फिल्डमा खटिनुपर्छ, समस्या त हुन्छ नै, तर पनि जनतालाई सूचना प्रवाह गर्नैपर्ने जिम्मेवारी बोध गर्दै सकेसम्म सर्तक भएर रिर्पोटिङ गर्छु ।’


आवर विराटनगर डटकमका रिर्पोटर प्रेम देवान लकडाउनमा झन सक्रिय भएर फिल्ड रिर्पोटिङमा खटिरहेका छन् । उनलाई कहिलेकाहिँ आफूलाई कतै कोरोना त लागेन ? भनेर त्रास पनि लाग्छ । यसैले उनी बीचमा दुई हप्ता चुपचाप होम क्वारेन्टाइनमा पनि बसे ।

तर सूचनाको सिपाहीले संकटको बेला चुपचाप बसिरहन मिल्दैन भन्दै उनी फेरि दैनिक फिल्ड रिर्पोटिङमा खटिइरहेका छन् ।

पत्रकार देवान भन्छन्, ‘फिल्डमा खटिरहदाँ त्रास त हुन्छ नै तर पनि जनतालाई सूचना प्रवाह गर्ने आफ्नो कर्तव्यबाट भाग्नु पनि त भएन ।’ उनले सुरक्षाका सामाग्री आफैंले जुटाएका छन् । अहिलेसम्म उनले राज्यबाट पनि कुनै सुरक्षाका सामाग्री पाएका छैनन् ।

एपीवान टेलिभिजनका प्रदेश नं. १ व्युरो प्रमुख मिलन विछोड लकडाउनमा सक्रिय फिल्ड रिर्पोटिङ गरिरहेका छन् ।

पर्याप्त नभएपनि पत्रकार महासंघबाट केही मास्क, सेनिटाइजर उपलब्ध भएकाले त्यही प्रयोग गरेर उनले सतर्कता अपनाइरहेका छन् । उनको टेलिभिजनले फिल्डमा हिँड्नेलाई ५ लाखसम्मको बिमा गरिदिएको छ ।

चुमन बस्नेत नागरिक दैनिकका सक्रिय फोटो पत्रकार हुन् । फोटो पत्रकारले झन् फिल्डमा अनिवार्य पुग्नैपर्ने भएकोले उनी अझै कोरोनाको त्रासमा छन् ।

यसैले उनले सकेसम्म आफूलाई सुरक्षित राखेर काम गर्ने गरेका छन् । आजकल विराटनगरबाट पत्रिका प्रकाशन बन्द भएकोले उनलाई कार्यभार कम भएको छ ।

तर उनी विशेष अपडेट गराउनु परेमा फिल्डमा निक्लने गर्छन् । उनलाई पनि सुरक्षा सामाग्री कतैबाट प्राप्त भएको छैन । आफैंले जोहो गरेर सामान्य मास्क र सेनिटाईजरको भरमा उनको फिल्ड रिर्पोटिङ जारी छ ।


माथि उदारहणका रुपमा प्रयोग गरिएक मात्र हैन देशभरि फिल्डमा खटिने पत्रकाहरु कोरोना भाइरस संक्रमण रोकथामका लागि फ्रन्टलाइनमा खटिने योद्धाहरु हुन् ।

स्वास्थ्यकर्मीलाई झैं जोखिम नभएपनि अग्रभागमा रहेर खट्नुपर्ने भएकोले पत्रकाहरु कोरोनाको त्रासबाट मुक्त्त भने छैनन् ।

सरकारले फ्रन्टलाइमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी सबैलाई प्रोत्साहन भत्ता र मृत्यु भएमा ५० लाख परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरेको छ ।

तर राज्यको चौथो अङग भनिएपछि कोरोनाको त्राससँगै नियमित फिल्डमा खटिने पत्रकारहरुको सुरक्षाप्रति कसैले चिन्ता गरेको छैन ।

पत्रकारलाई काम लगाउने संचारगृहले उनीहरुलाई सुरक्षा सामाग्री र प्रोत्साहन भत्ता उपलब्ध गराउनु त परै जावोस समयमा तलबसमेत दिइरहेका छैनन् । लकडाउनको बहाना बनाएर बरु धेरै पत्रकाहरुलाई कामबाट निकालिरहेका छन् ।

यसैले नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई पहिले आफू सुरक्षित रहेर मात्र रिर्पोटिङ गर्न आग्रह गरिरहेको पत्रकार महासंघ एक नम्बर प्रदेश समिति महासचिव विवेक गौतम बताउँछन् ।

उनका अनुसार महासंघले फ्रन्टलाइनमा खटिने पत्रकारहरुलाई संक्रमणको बेला दबाब दिएर काममा नलगाउन, बहाना बनाएर कामबाट बेखल नगर्न, पत्रकारहरुलाई अफिससम्म लान ल्याउने सवारीको व्यवस्था गर्न र पर्याप्त सुरक्षा सामाग्री र समयमै पारिश्रमिक उपलब्ध गराउन पनि भन्दै आएको छ ।

यसैगरी कोरानाको समयमा संकटमा परेका संचारगृह र श्रमजिवी पत्रकारहरुका लागि राहत प्याकेज घोषणा गर्न पनि सरकारसँग माग गरेको छ ।

महासचिव गौतम भन्छन, ‘संक्रमणको संकटको फ्रन्टलाइमा खटिरहेका सूचनाका सिपाहीहरुलाई संञ्चारगृह र राज्य सरकार कसैले पनि उपेक्षा गर्न मिल्दैन । सबैले भौतिक र आर्थिक सुरक्षामा विशेष चासो दिनैपर्छ ।’

Loading...