चितवनमा बाँझो जमिनमा सामूहिक खेती अभियान


चितवन , २० बैसाख । खादय उत्पादन बढाउन चितवनको रत्ननगर नगरपालिकाले बाँझो जमिनमा सामूहिक खेती गर्ने अभियान थालेको छ ।


बाँझो रहेका प्लटिङ तथा अन्य खाली सार्वजनिक जग्गामा नगरपालिकाले सामुहिक खेती सुरु गरेको हो ।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका विपन्न समुदायलाई उत्पादनशील क्षेत्रमा अग्रसर बनाउन बाझो जमिनमा सामूहिक खेती गर्ने अभियान थालिएको नगरपालिकाका प्रमुख नारायण वनले बताए ।

उनका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर १४ पिठुवामा रहेको करिब ३० विगहा बाँझो जमिनमा खेती सुरु भएको छ ।

विपन्न वर्गको ५० समुह बनाइ ३ सय परिवारलाई सामूहिक सामूहिक खेतीकालागि नगरपालिकाले प्रोत्साहन गर्न थालेको छ ।

जमिन जोत्न तेल खर्चसँगै मकै र बोडीको बिउ पनि नगरपालिकाले नै उपलब्ध गराएको छ ।
रत्ननगरमा जमिन बाँझो राख्नेलाई नगरपालिकाले जरिवाना पनि गर्दै आएको छ ।

विपन्न समूहलाई काम नभएर सरकारले राहत दिनुपर्ने तर उत्पादन हुने जमिनचाँही बाँझो नै रहेकोले नगरभित्रका सबै जमिनमा खेती गर्ने योजना रत्ननगर नगरपालिकाको रहेको प्रमुख बनले बताए ।

लकडाउनले समस्यामा परेका परिवारलाई रत्ननगर नगरपालिकाले ८२ लाख रुपैयाँ बराबरको राहत वितरण गरेको थियो ।

कोरोना भाइरस संक्रमणले गर्दा आगामी बर्ष विश्वमा उत्पादन घटने र महंगी बढेर अनिकाल समेत लाग्न सक्ने भएकोले बाँझो जमिनमा खेती गरेर उत्पादन बढाउन सबैतिर अभियान चलाउनुपर्ने कृषी बिज्ञहरुले बताउदै आएका छन ।

Loading...