कोरोनालाई जित्न प्रदेश १ सरकारको सक्रियता

आशिका लम्साल

सँधैजसो भीडभाड र कोलाहल रहने विराटनगरको देवकोटा चौक आजकल लकडाउनले  सुनसान छ । तरचौकको पूर्व-उत्तरतर्फ रहेको प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयभित्र चाहिँ बाक्लो चहलपहल भैरहन्छ । मन्त्रालयको परिसर साँघुरो भएकोले बाहिर राजमार्गमा दिनहुँ बाक्लो सवारी साधनहरु लस्करै रोकिइरहेका हुन्छन् ।

प्रदेशमा स्वास्थ्य, शिक्षा, खेलकुद, महिला, बालबालिका, लगायत धेरै कार्यक्षेत्र भएकोले मन्त्रालममा बाक्लो आउजाउ हुनुस्वभाविक पनि हो । तर लकडाउनको समयमा पनि घुइँचो हुने एक मात्र कारणचाहिँ विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ संक्रमण रोकथाम, उपचार र नियन्त्रणको तयारी हो । मन्त्रालयमा दैनिक मन्त्री, सचिव, कर्मचारी, सरोकारवाला र विज्ञहरुको नियमित पटक-पटक बैठक बस्ने, योजना बनाउने काम भइरहन्छ । सँधै दश-पाँचमा काम गर्ने कर्मचारीहरु आजकल साँझ बिहान नभनी निरन्तर खटिरहेका हुन्छन् ।

प्रदेशमा संक्रमणको जोखिम, नियन्त्रण र उपचारको व्यवस्थापन

हालसम्म नेपालमा सबैभन्दा बढी तथा एकैपटक ठूलो संख्यामा प्रदेश १ मा३१ जनामा कोरोना संक्रमण भेटिएको छ । सबैको उपचार प्रदेश सरकारद्वारा निर्माण गरिएको विराटनगर १० स्थित कोभिड १९ अस्पतालमा भैरहेको छ । अर्कोतिर काँकडभिट्टा र जोगबनी जस्ता भारतसँग जोडिएका मुख्य-मुख्य नाकासमेत यहीँ भएको र भारतमा कोरोना संक्रमण दिनदुगुना रात चौगुनाले फैलिरहेकोले प्रदेश १  झन् जोखिममा छ ।

तर समयमै सरकारले लकडाउन गरेको र मन्त्रालयले संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा सचेत भएर अगुवाई गरिरहेकोले भयावह अवस्था सृजना हुन पाएको छैन ।

सामाजिकविकासमन्त्री जीवन घिमिरेका अनुसार बेलैमा समस्यालाई बुझेर पर्याप्त पूर्वतयारी गरेकोले भयावह समस्या आउन नपाएको हो ।

यसबारे मन्त्री घिमिरे भन्छन्–‘चीनको बुहानबाट देखिएको कोभिड १९ लाई छिमेकी भारतमा देखा नपर्दै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी भनी घोषणा गरेको थियो । तर त्यसै बेलादेखि सम्भावित संक्रमणको खतरा बुझेर हामीलेउचित व्यवस्थापनका लागि पूर्वतयारी सुरू गराएका थियौं ।’

मातहतका निकायको सक्रियता र कर्मचारी व्यवस्थापन

सामाजिकविकास मन्त्रालयका कर्मचारीहरुका अनुसार कोभिड १९ को सम्भावित संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि मन्त्रालयले प्रवर्द्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक तीनैवटा रणनीतिको अख्तियार गरेको छ । जनस्वास्थ्य महाशाखाका प्रमुख डा. सुरेश मेहताका अनुसार तीनैवटा योजनाका विकल्पहरूमा मन्त्रालयले पूर्वतयारी गरेको थियो।

जसकालागि प्रदेश सरकारमातहत रहेका सम्पूर्ण अस्पताल, प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र तथा १४ वटै जिल्लाका स्वास्थ्य कार्यालयका कर्मचारी र स्वास्थ्यकर्मीहरूलाई सम्भावित जोखिमबारे सजग गराइएको थियो । त्यसपछि समस्या  कसरी व्यवस्थापन गर्ने भन्नेबारे परिचालनको मोडालिटी पनि तय गरिएको थियो ।

सोही मोडालिटीबमोजिम हाल प्रदेशका सबै जिल्लामा कोभिड १९ को संक्रमण सम्बन्धी सम्पूर्ण सूचना तथा तथ्याङ्कहरू तुरुन्त प्राप्त हुने गरेका छन् । रतत्काल व्यवस्थापकीय कदम चाल्न पनि सहज भएको छ । 

कोरोना अस्पताल निर्माण, सञ्चालन र व्यवस्थापन

मन्त्री घिमिरेका अनुसार सबैभन्दा चुनौतीपूर्ण काम थियो कोरोना अस्पताल निर्माण गर्नु । हुनत  नेपाल सरकारले कोभिड १९ उपचारका लागि देशभर तोकेका हव अस्पतालहरूमध्ये कोशी अस्पताल पनि एक थियो। तर कोशी अस्पताल रहेको स्थान कोभिड १९ को उपचारका लागि   पटक्कै उपयुक्त थिएन ।   

छोटो समयमा विशेष अस्पताल निर्माण गर्नु गाह्रो मात्र हैन असम्भव नै थियो । तर कोही संक्रमित नभएपनि भविष्यलाई ख्याल गर्दै कोरोना संक्रमित विरामीहरुको उपचार गराउन अलग्गै अस्पताल अति आवश्यक थियो ।यसैले मन्त्रालयले प्रस्ताव क्याविनेटबाट निर्णय गरायो । अनि  विराटनगर १० मलाया रोडस्थित नेशनल ट्रेडिङ्ग लिमिटेडको खाली रहेको भवनलाई विशेष अस्पताल बनाउन पहल थाल्यो ।

मूल सडकको छेउमा भएपनितुलनात्मक रूपमा एकान्त स्थानमा रहेको तथा पर्याप्त खुला ठाउँ पनि भएकोले त्यहाँ धमाधम अस्पताल स्तरोन्नतिको काम सुरु गरियो ।लामो समयदेखि प्रयोगविहीन अवस्थामारहेको खाली भवन सबैतिर बाक्लो झारपातले ढाकेको जंङगल जस्तो क्षेत्र खण्डहर झैं थियो । तर मन्त्रालयले अहोरात्र खटिएर एक हप्ताभित्र सुविधासम्पन्न विशेष कोभिड १९ अस्पताल निर्माण सम्पन्न गरायो ।

यसमा सामाजिक विकास मन्त्रालयले प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालय र नेपाली सेनासँग समन्वय गरेर वरपरको झार-जंगलहटाएर पुरानो भवनलाई समेत आवश्यक मर्मत गरी एउटा सुविधासम्पन्नअस्पतालको रुप दिलाएको थियो ।  अस्पताल निर्माणका क्रममा मन्त्री जीवन घिमिरेले सातैदिन आफैं दिनभरि उपस्थित भएर प्रत्यक्ष निगरानी र निर्देशन गरेका थिए ।

अस्पताल निर्माण गर्न दैनिक दुईसय जनाकामदार कर्मचारी दिनरात नभनी खटिएका थिए । यसैले १० वटा आइसीयू र १० वटा एचडीयू कक्षसहित जम्मा एकसय शैयाको अस्पताल निर्माण भएर संञ्चालनमा आउन सफल भएको थियो । अस्पताल निर्माणका लागि खटिएका कामदार, कर्मचारी तथा नेपाली सेनाका जवानहरूको योगदान साँच्चैको अनुकरणीय थियो ।  मन्त्री घिमिरे भन्छन्–‘विपदलाई जित्नका लागि सबैले गरेको कामको जत्ति प्रशंसा गरेपनि पुग्दैन।’

कर्मचारी र स्वास्थ्यकर्मी परिचालनमा चुनौती

सबैको अथक प्रयासले सरकारले कोभिड १९ विशेष अस्पताल निर्माण गर्न त सफल भयो । तर त्यहाँ उपचारकालागि खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको व्यवस्थापन अर्को चुनौती थियो । आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको परिचालन गर्नु अर्को चुनौती थियो ।

मन्त्रालयले कोरोना विशेष अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको परिचालन गर्न तीनैवटा तहका सम्बन्धित निकायहरूसँग व्यापक छलफल र परामर्श गर्यो । आवश्यक परामर्शपछि कोशी अस्पतालका निमित्त मे.सु. डा. संगीता मिश्राले आवश्यक चिकित्सक सहयोग गराउने प्रतिवद्धता गरिन । । उनकै पहलमा कोरोना विशेष अस्पतालमा आवश्यक मात्रामा कोशी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू खटिन तयार भए । 

त्यसपछि विशेष अस्पतालमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीको लागिसमेत छुट्टै आवास, खाना लगायतका प्रवन्ध भएको क्वारेन्टाइन व्यवस्थापन अर्को महत्वपूर्ण समस्या थियो। मन्त्रालयले त्यसको पनि उचित व्यवस्थापन गर्यो ।

सबै व्यवस्थापन भएपछि प्रदेश सरकारले कोभिड १९ विशेष अस्पतालको सञ्चालनका लागि निर्देशिका जारी गर्यो । र , व्यवस्थापनकालागि निर्देशक समितिको गठन पनि गर्यो । हाल यही  निर्देशिकाअनुसार समितिले कुशलतापूर्वक अस्पताल सञ्चालन गरिरहेको छ  ।

समितिको निर्देशन सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले गरिरहेका छन् । अस्पतालको समग्र व्यवस्थापकीय पक्षको नेतृत्व गर्न सामाजिक विकास मन्त्रालयबाट कर्मचारीहरु पनि खटाइएका छन् ।

अस्पतालमा चिकित्सक र  स्वास्थ्यकर्मीहरुको आलोपालो ड्युटी खटनपटन गराउनेकाम कोशी अस्पतालले गरिरहेको छ । खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सम्पूर्ण कर्मचारीहरुको लागिस्तरीय आवास तथा खानाको सुविधासहितको क्वारेन्टाइन व्यवस्थापनको काम सामाजिक विकास मन्त्रालयले गराइरहेको छ ।

सामाजिक मन्त्रालयका सचिव रविलाल पन्थका अनुसार छोटो समयमै निर्माण सम्पन्न भएको कोरोना विशेष अस्पताल समन्वय र सहकार्यको एउटा अद्भभुत नमुना बन्न पुगेको छ। उनका अनुसार रोचक कुरा त के छ भने अस्पताल निर्माणको अन्तिम दिनको कार्य नसकिँदै उदयपुर, भुल्केमा १२ जनामा कोभिड १९ कोसंक्रमण पुष्टि भएको थियो ।

जसलाई उदयपुरबाट विराटनगर ल्याइपुर्याई नसक्दै संक्रमित राख्नका निमित्त अस्पताल पूर्णरूपमा तयार भइसकेको थियो। कोभिड १९ संक्रमणको समाप्तिपश्चात यो अस्पताललाई संक्रामक रोग व्यवस्थापन सम्बन्धी एउटा विशिष्ट अस्पतालको रूपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ । 

प्रदेशमा सूचना व्यवस्थापन

प्रदेश १ मा कोभिड १९ संक्रमणको सम्पूर्ण सूचना तथा तथ्याङ्क एकद्वारबाट संकलन सम्प्रेषण गर्ने गरिएको छ । जसको जिम्मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सूचना डेस्कले लिएको छ ।

विपद् व्यवस्थापनको कार्यक्षेत्र भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशभरका क्वारेन्टाइन व्यवस्थापन कार्यमा समन्वय गरिरहेको छ । क्षेत्रगत मन्त्रालय भएको कारणबाट सामाजिक विकास मन्त्रालयले मातहतका सम्पूर्ण निकायलाई परिचालन गरी संयोजनकारी भूमिकासमेत खेलिरहेको छ।

नियमित रूपमा प्रदेशमा संक्रमणको स्थितिका सम्बन्धमा राष्ट्रिय टेलिभिजनमा प्रत्यक्षरूपमा सूचना तथा सन्देशको नियमित प्रशारण गर्ने तयारीसमेत मन्त्रालयले गरेको छ।

प्रभावकारी ढंगले भइरहेको छ सबैसँग समन्वय

कोरोना भाइरस संक्रमण रोकथामकालागि प्रदेश सरकारले संघीय सरकार तथा प्रदेशका सबै स्थानीय तहहरूसँग समन्वय गरिरहेको छ।

कोशी अस्पतालमा रहेको कोभिड १९ परीक्षण गर्ने पीसीआर प्रयोगशालामा प्रदेश मातहतको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्राविधिक कर्मचारीहरू निरन्तर खटिइरहेका छन्।

प्रदेशजनस्वास्थ्य प्रयोगशालाले कोभिड १९ परीक्षणका लागि ल्याब उपकरणपनि कोशी अस्पताललाई उपलब्ध गराएको छ।

धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्खरै सञ्चालनमा ल्याइएको अर्को कोरोना विशेष उपचार केन्द्रकालागि नेपाल सरकारले बजेट रकम उपलब्ध गराएको छ । जसकालागि प्रदेश सरकारले संघीय सरकारसँग विशेष आग्रह गरेको थियो ।

कोभिड संक्रमण रोकथामका लागि प्रदेश सरकारले हालसम्म १० करोड ३० लाख रूपैयाँ उपलब्ध गराएको छ। प्रदेश सरकार आफैंले खरिद गरेका, विभिन्न व्यक्ति, संस्था, दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा नेपाल सरकारबाट प्राप्त कोभिड १९ सँग सम्बन्धित स्वास्थ्य सामाग्री तथा उपकरणहरू पनि स्थानीय तहमा आवश्यकताअनुसार उपलब्ध गराइँदैछ ।

यसकालागि सामाजिक विकास र आन्तरिक मामिला मन्त्रालय जोडतोडले लागिपरिहेका छन् । यसैगरी प्रदेशमा कोरोना संक्रमण रोकथामकालागि खाद्यान्न अभाव हुन नदिन उद्योग वन, वतावरण तथा पर्यटन मन्त्रालयले सहजीकरण गरिहेको छ भने स्थानीय तहसँग आर्थिक मामिला तथा योजना मन्त्रालयले समन्वय गरिरहेको छ । यी सबै काम कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारको उच्च स्तरीय निर्देशन समिति मातहत निर्माण भएका विभिन्न समितिहरुको जिम्मेवारीअनुसार भइरहेका छन् । 

चुनौती परास्त गर्न प्रदेशवासीको सहयोग आवश्यक 

विभिन्न मन्त्रालयका जिम्मेवार कर्मचारीहरुका अनुसार संक्रमितको संख्यामा एक्कासीबृद्धि भएपनि समयमै चुस्त काम भएकोले चुनौतीको सामना गर्न सहज भएको थियो । यसैले आगामी दिनमा पनि आइपर्ने चुनौतीहरु सामना गर्न प्रदेश सरकार सक्षम छ । त्यसकालागि कुशलतापूर्वक योजना पनि बनाइरहेको छ ।

कोरोना संक्रमण रोकथामकालागि भइरहेको लकडाउनले आवतजावत नियन्त्रण भएपछि संक्रमण फैलने सम्भावना न्युन छ । तर अझै धेरै शंकास्पद मानिसहरुको परीक्षण गर्न बाँकी नै छ । परीक्षण बढ्दै जाँदा अझै प्रदेशमा थप सक्रमितहरु भेटिनसक्नेछन् ।

कोरोना संक्रमण रोगथामको व्यावस्थापनमा दिनरात नभनि निरन्तर खटिरहेका समाजिक विकास मन्त्री जिवन घिमिरेका अनुसार प्रदेश १ मा सर्वसाधारणले लकडाउन पालनामा देखाएको उदारताबाट नै कोरोना संक्रमणको समस्या सामना गर्न सम्भव भएको हो । मन्त्री घिमिरे भन्छन , – ‘अबका केही दिन प्रदेशवासीले धैर्यधारण गर्दै लकडाउनको पालना गरिरहे सबै चुनौतीहरु आफैं परास्त हुने विश्वास प्रदेश १ सरकारले लिएको छ ।’

(आशिका लम्साल पत्रकारिता विषयमा स्नातक तेस्रो वर्ष अध्यनरत विद्यार्थी हुन्) 

Loading...