पेलेको सर्वाधिक गोलको रेकर्ड तोड्ने योजनामा रोनाल्डो

एजेन्सी, २० वैशाख । इंग्ल्याण्डका पूर्वखेलाडी ग्यारी नेभिलले पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डो ब्राजिलियन लिजेन्ड खेलाडी पेलेको रेकर्ड तोड्ने योजनामा रहेको दाबी गरेका छन् ।

म्यानचेस्टर युनाइटेडबाट एकसाथ खेलेका नेभिलले आफ्ना पूर्वसहकर्मी रोनाल्डो सर्वकालीन महान खेलाडी बन्ने दाउमा रहेको बताएका हुन् ।

इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डोले पेलेको गोल रेकर्ड तोड्दै सर्वकालीन महान खेलाडी बन्ने योजनामा रहेको पनि नेभिलको भनाइ छ ।

ब्राजिलका लिजेन्ड पेलेले आफ्नो करिअरमा ८ सय ३१ खेलबाट ७ सय ६७ गोल गरेका छन् ।

यता, रोनाल्डोले भने हजार ३६ खेलबाट सात सय ४३ गोल गरेका छन् । रोनाल्डो पेलेभन्दा २४ गोलले पछाडि छन् ।

‘रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी बन्ने योजनामा छन्,’ नेभिलले ‘स्काई स्पोर्ट्स’सँगको कुराकानीमा भने, ‘उनी केही खेलाडीमध्येका एक थिए, जोसँग मैले खेलिसकेको छु । सार्वजनिक रूपमा घोषणा गर्दा व्यक्तिगत ट्रफी उनका लागि महत्त्वपूर्ण थियो ।’

‘उनी मात्र सबैभन्दा राम्रो बन्ने चाहनामा हुन्थे र उनले केही वर्ष पाएको उपलब्धी असाधारण हो । यो सबै उनको कडा मेहेनतको फल हो । मलाई लाग्छ उनी प्रत्येक वर्ष आफ्ना व्यवसायिकतालाई लिएर नै अगाडि बढिरहन्छन्,’ उनले भने ।

यसैगरी नेभिलले रोनाल्डो पेलेको रेकर्ड तोड्ने योजनामा रहेको उल्लेख गरे । ‘मेरो विचारमा रोनाल्डो पेलेको सर्वाधिक गोलको रेकर्ड तोड्ने योजनामा छन् । पेलेको रेकर्ड तोड्दै रोेनाल्डो सर्वकालीन महान खेलाडी बन्ने योजनामा छन्’, नेभिलले भने ।

‘यति सम्झौं कि रोनाल्डो सर्वकालीन महान खेलाडी बन्ने यात्रामा छन्’, उनले थपे, ‘उनी जहाँबाट खेल्छन्, त्यहाँबाट उपाधि जित्छन् र क्लबलाई सफल बनाउँछन् ।’

Loading...