काठमाडौं, १९ बैशाख । छिमेकी मित्र राष्ट्र चीनमा अन्तर्राष्ट्रिय मजदूर दिवसलगायतका सार्वजनिक बिदा परेका कारण नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन थप केही दिन लाग्ने भएको छ ।
चीनमा शुक्रबारदेखि आगामी मङ्गलबारसम्म (मे १–५ तारिख) सार्वजनिक बिदा छ ।
सार्वजनिक बिदाका कारण भन्सारलगायतका आवश्यक कार्यालय बन्द हुँदा केही दिन लाग्ने देखिएको हो ।
यसअघि आगामी मङ्गलबार सामान लिनका लागि नेपाल वायु सेवा निगमका वाइड बडी जहाज चीनको ग्वान्जाओ पठाउने तयारी गरिएको थियो ।
नेपाल ल्याउने सामान तयारी अवस्थामा चीनको ग्वान्जाओमा आइपुगेको छ ।
“चीनमा लामो सार्वजनिक बिदा परेका कारण भन्सारलगायतका आवश्यक प्रक्रिया मिलाउन थप केही दिन लाग्ने खबर आएको छ”, नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले भने ।
नयाँ तालिकाअनुसार आगामी बिहीबार वा शुक्रबार मात्रै निगमका दुई वटा बाइड बडी जहाज चीन पठाइनेछ ।
स्वास्थ्य सामग्री खरिदका लागि सेनाले द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको थियो ।
सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट अत्यावश्यक स्वास्थ्य सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी)मार्फत प्रक्रिया अगाडि बढाएको हो ।
नेपाली सेनाका प्रवक्ता पाण्डेका अनुसार निगमको जहाजले झण्डै ३० टन स्वास्थ्य सामग्री ल्याउनेछ ।
तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई माध्यमबाट ल्याइने र अन्य सामग्री भने स्थलमार्गबाट ल्याइने तयारी गरिएको छ ।