संयुक्त राज्य अमेरिका, १९ वैशाख । अमेरिकी मिसिगन राज्यमा बन्दुक बोकेका केही प्रदर्शनकारीहरू बिहीबार मुख्य सरकारी कार्यालय भवनमा प्रवेश गरी डेमोक्र्याटिक गभर्नरलाई कोरोना भाइरसका कारण जारी गरिएको लकडाउन तत्काल हटाउन माग गरेका छन् । त्यहाँ उपस्थित कतिपय सांसदले बुलेटप्रुफ भेष्टसमेत लगाएका थिए ।

ल्यानसिंगको सरकारी भवनको लबीमा प्रवेश गरेका दर्जनौं प्रदर्शनकारी हाउस चेम्बरभित्र प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराजुलुस गरेका थिए ।
मास्क लगाएका राज्य प्रहरीले उनीहरूलाई भित्र प्रवेश गर्न रोकेका थिए ।
प्रदर्शनमा भाग लिएका कुनै पनि प्रदर्शनकारीले मास्क लगाएका थिएनन् ।
“राइफल बोकेका मान्छेहरू मेरै छेउमा आइपुगे,” सिनेटर डायना पोलेहान्कीले ट्वीटमा भनिन् ।
ट्वीटमा उनले सार्वजनिक गरेको तस्वीरमा चार जना पुरुष देखाइएको छ जसमध्ये कम्तीमा एक जनासँग हतियार रहेको छ ।
“बुलेटप्रुफ भेस्ट भएका मेरा केही सहकर्मीहरूले त्यो रक्षाकवच लगाउनु भएको छ”, उनले ट्वीटमा भनिन् ।
प्लेकार्डसहित संसद भवन बाहिर भेला भएका धेरै प्रदर्शनकारीले गभर्नर ग्रेचेन ह्विटरको तुलना एडोल्फ हिटलरसँग गरेका थिए ।
अमेरिकी प्याट्रियट जुलुस भनिएको उक्त प्रदर्शनलाई मिसिगन युनाइटेड लिबर्टी भन्ने समूहले आयोजना गरेको थियो ।
यो समूहमा ८ हजार ८ सयभन्दा बढी व्यक्ति सदस्य रहेका छन् ।
यसै महिना लकडाउन हटाउन गरिएको यो दोस्रो प्रदर्शन हो ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरसका कारण मिसिगन राज्यमा मात्र तीन हजार ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
गत अप्रिल १६ मा पनि करिब तीन हजार व्यक्तिले ल्यानसिंगमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनका कारण राजधानीमा केही समय ट्राफिक जाम भएको थियो ।
एक दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको समर्थन गर्दै “लिबरेट मिसिगन १ अर्थात् मिसिगनलाई मुक्त गरौं” भन्दै ट्वीट गरेका थिए । रासस