एजेन्सी, १९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको भन्ने आफूसँग प्रमाण रहेको दाबी गरेका छन् ।

कोरोना भाइरस गत वर्षको अन्तमा मानव उपभोगका लागि जंगली जनावरहरू बेच्ने चिनियाँ शहर वुहानको बजारमा उत्पन्न भएको हो, तर भाइरस प्रयोगशालाबाट उत्पन्न भएको हुनसक्ने बारेमा अनुमान लगाइएको छ ।
कोरोना भाइरस वुहान इन्स्टिच्युट अफ् भायरोलोजीबाटै फैलिएको हो भनेर आत्मविश्वासका साथ कसरी भन्न सक्नुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले आफुसँग प्रमाण रहेको बताएका छन् ।
प्रमाण रहेपनि आफूले उक्त कुरा बताउन नसक्ने उनको भनाइ छ ।
ट्रम्पले आफ्नो नोभेम्बरमा हुने पुनः निर्वाचन अभियानसँग यस विषयलाई जोडिरहेका छन् ।
ट्रम्पले लगातार चीनमाथि आराेप लगाउँदै आए पनि चीनले अस्वीकार गर्दै आइरहेकाे छ ।
एकातिर अमेरिकी जासुसी एजेन्सी कोरोना भाइरस जानीबुझी उत्पन्न नभएको बताइरहेको भए पनि ट्रम्पले यो भाइरस चीनको वुहान शहरमा रहेको प्रयोगशालाबाट फैलिएको दाबी गरिरहेका छन् ।
कोरोना भाइरसका कारण विश्भर अहिलेसम्म ३२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् भने दुई लाख ३१ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
कोरोना भाइरसको कारण अमेरिका सबैभन्दा धेरै प्रभावित भएको छ ।