एजेन्सी, १९ वैशाख । फ्रेन्च प्रोफेसनल फुटबल लिग (एलईएफ)ले नयाँ सिजन २०२०–२१ को लिग वान र लिग टु अगस्ट महिनाबाट सुरु गर्ने योजना बनाएको छ ।

एलईएफले मध्य अगस्टबाट फ्रान्सको शीर्ष डिभिजन लिग सुरु गर्ने योजना बनाएको हो ।
मंगलबार विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण फ्रान्सेली शीर्ष डिभिजनको लिग वान फुटबल रद्द गर्ने घोषणा भएको थियो ।
फ्रान्स सरकारले अगस्टसम्म सबै खेलकुद गतिविधिमा प्रतिबन्ध लगाएसँगै लिग वान र लिग टु फुटबल रद्द भएको हो ।
लिग सुचारु नहुने भएपछि शीर्ष स्थानमा रहेको पीएसजीलाई उपाधि दिइएको थियो ।
साविकको विजेता पीएसजी यस सिजन ६८ अंकसहित शीर्ष स्थानमा थियो भने ५६ अंक रहेको मार्सेइली दोस्रो स्थानमा थियो ।
एलईएफले विज्ञप्तिी जारी गर्दै भनेको छ, ‘निर्देशकहरूको बोर्डले लिग वान र लिग टुको नयाँ सिजन अगस्ट २२ वा २३, २०२० बाट सुरु गर्ने योजना बनाएको छ । सरकारको निर्णय कार्यान्वयन गर्दै हामीले मध्ये अगस्टबाट लिग सुरु गर्न लागेका हौं ।’