कोरोनाका कारण सन्दीपले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट स्थगित

विराटनगर, १९ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले खेल्ने भनिएको ‘द हन्ड्रेड’ क्रिकेट स्थगित भएको छ ।

f

कोरोना महामारीका कारण आगमी जुलाइमा इंग्ल्याण्ड र वेल्समा हुने प्रतियोगिता स्थगित भएको हो ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने क्रिकेट प्रतियोगिता अब सन् २०२१ मा आयोजना हुनेछ ।

प्रतियोगिता १७ जुलाईदेखि १६ अगष्टसम्मका लागि तय गरिएको थियो । तर, कोरोनाका कारण प्रतियोगिता एक वर्ष पछि धकेलिएको हो ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डको बुधबार बसेको बैठकले प्रतियोगिताको नयाँ मिति तोकेको हो ।

द हन्ड्रेडको ओभल इन्भेन्सीबलमा सन्दीप अनुबन्धित भएका थिए ।

द हन्ड्रेड ड्राफ्टबाट सन्दीपलाई इन्भेन्सीबल्सले १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख) नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको थियो ।

विश्वका थुप्रै लिगमा अनुभव संगालिसकेका नेपाली लेग स्पीनर सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका थिए ।

८ टोलीले सहभागिता जनाउने उक्त प्रतियोगितामा आठै टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

Loading...