birat ribon

नोबेलले अप्रेशन थिएटरबाट निकाल्यो प्रसूतिका लागि भर्ना भएकी महिला

Neuro
नोबेलले अप्रेशन थिएटरबाट निकाल्यो प्रसूतिका लागि भर्ना भएकी महिला

विराटनगर, १८ वैशाख । विराटनगरको नोबेल मेडिकल कलेजले उदयपुर घर भएका एक बिरामीलाई अप्रेशन थिएटरबाटै निकालिदिएको छ । प्रसूतिका लागि मंगलबार भर्ना भएकी उदयपुर गाइघाट–११ की सरस्वती रौनियारलाई अप्रेशन थिएटरबाट निकाल्दै कोशी अस्पताल रेफर गरेको हो ।

काेशी अस्पतालमा सरस्वती र उनका आफन्त ।

प्रसूति व्यथा लागेपछि श्रीमान प्रकाश गुप्ताले मंगलबार नोबेल मेडिकल कलेज भर्ना गरेका थिए । सरस्वतीको पहिलो बच्चा पनि नोबेलमै जन्मिएको थियो । चिकित्सकले बुधबार बिहान ७ बजे शल्यक्रिया गर्ने भन्दै बिरामीलाई भर्ना गरे ।

cura insider

रगतको व्यवस्था र अन्य प्रक्रिया पूरा गरेपछि मंगलबार बिहान अप्रेशनको तयारी सुरु भयो । बिहान चिकित्सकको टोलीले शल्यक्रियाका लागि सरस्वतीलाई अप्रेशन थिएटरमा पनि लगे । अप्रेशन थिएरटमा लगेका बिरामीलाई चिकित्सले ठेगाना उदयपुर देखेपछि अप्रेशन गर्न मानेनन् ।

अप्रेशन नगर्ने भन्दै निकालेर कोशी अस्पताल रेफर गरे । रेफर पूर्जीमा पनि उदयपुर ठेगाना भएका कारण कोशी अस्पताल पठाएको उल्लेख छ । ‘अप्रेशन थिएटरमा बिरामीको विवरण हेर्दा घर उदयपुर भनेपछि रेफर गरिदिए,’ प्रकाश भन्छन्, ‘कोशीमा ल्याएपछि शल्यक्रिया भयो ।’

रेफर पूर्जी ।

सरस्वतीले शल्यक्रियामार्फत दोस्रो सन्तानको रूपमा छोरो जन्माएकी छन । बुधबार डाक्टर जीवन धमलासहितको टोलीले सरस्वतीको शल्यक्रिया गरेको थियो । ‘बिरामी ल्याएपछि हामीले शल्यक्रिया गर्‍यौं’, डाक्टर धमला भन्छन्, ‘नोबेलबाट रेफर गरिएको रहेछ ।’ उनका अनुसार आमा र बच्चा दुवैको अवस्था सामान्य छ ।

बुधबार बिहान नोबेल मेडिकल कलेजले रेफर गरेको पूर्जीमा लेखिएको छ, ‘रेफर टु कोशी जोन अस्पताल, बिकाउज पेसेन्ट फ्रम उदयपुर’ ।

अस्पतालबाट रेफर भएको कागज हेरेपछि कोशीका चिकित्सक छक्क परेको बताउँछन् । ‘उदयपुरका बिरामीले निजी अस्पतालमा उपचार नपाउने हो,’ एक चिकित्सकले भने, ‘अप्रेशन थिएटरबाट रेफर गर्नु मानवीयताभित्र पर्दैन ।’

नोबेल भन्छ – ‘ज्वरो थियो ’

यता नोबेल मेडिकल कलेजले शल्यक्रियाका लागि भर्ना भएकी बिरामीमा ज्वरो आएको दाबी गरेको छ । ‘अप्रेशन गर्नुअघि थिएटरमा सबै जाँचिन्छ,’ अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले भने, ‘थिएटरमा ज्वरो देखिएकाले कोशी पठाएका हौं ।’

तर कोशी अस्पतालमा जाँच गर्न उनलाई ज्वरो देखिएको थिएन । ‘ज्वरो भए बिरामीको शल्यक्रिया गर्न मिल्दैन,’ डाक्टर जीवन धमला भन्छन्, ‘पेसेन्टलाई ज्वरो थिएन ।’ नोबेलले रेफर गरेको कागजमा ज्वरो भएको पनि नलेखिएको उनले बताए । नोबेलले बिरामी उदयपुरकै भएका कारण रेफर गरेको थियो ।

केही दिनअघि पनि विराटनगरको विराट नर्सिङहोमले उदयपुर घर भएका बिरामीलाई भर्ना गर्न मानेको थिएन ।

jackson ribon