वीरगञ्ज, १८ वैशाख । बाराको विश्रामपुर गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेका ३२ जनालाई बाटो खर्चसहित बिदाइ गरिएको छ ।

क्वारेन्टनाइन १४ दिन पूरा गरेर पीसीआर परीक्षण गर्दा नेगेटिभ भेटिएपछि उनीहरूलाई बिहीबार आ–आफ्नो घरतर्फ पठाइएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनको समयमा नेपाल–भारत खुला सीमा क्षेत्रबाट प्रवेश गरेका ३२ जनालाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो ।
३२ जनामध्ये ३१ जना भारतीय नागरिक र एक जना नेपाली रहेका छन् ।
नेपालबाट भारत जाने भारतीय नागरिकलाई काठमाडाैंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट प्राप्त पीसीआर रिपोर्ट र गाउँपालिकामा १४ दिन क्वारेन्टाइनमा बसेको सिफारिस पत्रसहित भारतको आ–आफनो ठेगानामा जानका लागि पठाइएको विश्रामपुर गाउँपालकिाका स्वास्थ्य शाखाका प्रमुख अली अकबर हुसेनले बताए ।
गाउँपालिकाका अध्यक्ष अमिरीलाल पालका अनुसार क्वारेन्टाइनमा बसेकाहरूलाई घर पुग्ने बाटो खर्चसमेत गाउँपालिकाले उपलब्ध गराएको हो ।