birat ribon

डाइलसिस गर्नुपर्ने बिरामीलाई ज्वरो आएपछि निजी अस्पतालले भर्ना गरेनन्

Neuro
डाइलसिस गर्नुपर्ने बिरामीलाई ज्वरो आएपछि निजी अस्पतालले भर्ना गरेनन्

विराटनगर, १८ वैशाख । मृगौला र लिभरमा समस्या भएका बिरामीलाई ज्वरो आएको भन्दै विराटनगरका निजी अस्पतालले भर्ना गर्न अस्वीकार गरेका छन् । देवानगञ्ज–१ सुनसरीका ३५ वर्षीय रवीन्द्र यादवलाई निजी अस्पतालले भर्ना गर्न अस्वीकार गरेका हुन् ।

आइतबार घरमा हार्बिसाइड (खेतमा प्रयोग हुने किटनाशक) सेवन गरेका यादवलाई कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको स्वास्थ्य अवस्था बिग्रँदै गयो । अवस्था बिग्रिएपछि अस्पतालले भेण्टीलेटरमा राख्नुपर्ने भन्दै बिरामीलाई रेफर गर्‍यो ।

cura insider

बुधबार कोशीले रेफर गरेपछि आफन्तले नोबेल मेडिकल कलेज लगे । तर नोबेलले भर्ना गर्न मानेन । कारण रवीन्द्रलाई ज्वरो आएको थियो ।

अस्पतालले भर्ना नगरेपछि राति कोशी अस्पताल नै ल्याए । तर कोशीले भेण्टीलेटर नभएकाले भर्ना गर्न नमानेपछि एम्बुलेन्समा हालेर आफन्तले घरमा नै लगे ।

बुधबार राति ऋण खोजेर बिहीबार पुनः एम्बुलेन्समा नोबेल मेडिकल कलेज ल्याए । ज्वरो आएको भन्दै नोबेलले कोभिड अस्पताल लैजान भन्यो ।

त्यसपछि एम्बुलेन्समै ग्रीनक्रस, गोल्डेन अस्पताल पुगे । तर ती अस्पतालले पनि भर्ना गर्न नमानेपछि कोशी अस्पतालको इमरजेन्सीमा आए । कोशीमा उनको उपचार सम्भव थिएन । गम्भिर प्रकृतिका विरामी रवीन्द्र बोल्न र बस्न सक्ने अवस्थामा थिएनन् । उनको बोली सानो आउथ्यो ।

‘हिजो भर्ना गर्न नमानेपछि राति घरमै राखेर बिहान बिरामी ल्याए,’ भाइ रामतलालले भने, ‘कसैले भर्ना गर्न मानेनन् ।’

बिरामीको अवस्था नाजुक भएका कारण कोशीमा उपचार सम्भव नभएपछि रेफर गरेको डाक्टर लक्ष्मीनारायण यादवले बताए ।

‘मृगौला, लिभरमा असर देखियो, बिरामीलाई भेण्टीलेटर चाहिन्छ,’ यादवले भने, ‘यहाँ भेण्टीलेटर नभएका कारण हामीले रेफर गरेका हौं ।’ बुधबार रेफर गरेका बिरामी बिहीबार दिउँसो धरानमा भर्ना भएका छन् ।

विराटनगरका कुनै अस्पतालले भर्ना गर्न नमानेपछि धरानले भर्ना लिएको रवीन्द्र बुबा जोगिलाल यादवले बताए ।

jackson ribon