birat ribon

भिडियोकलबाटै इरफानले दिएका थिए आमालाई अन्तिम श्रद्धाञ्जली

Neuro
भिडियोकलबाटै इरफानले दिएका थिए आमालाई अन्तिम श्रद्धाञ्जली

उसको आमाको मृत्यु हुन्छ । तर, लकडाउनको कारणले उनी आफ्नी आमाको अन्तिम संस्कारमा जान पाउँदैनन् । देशमै भएपनि आमाको अन्तिम संस्कार भिडियोकलमार्फत् गर्न बाध्य हुन्छन् । आमाको मृत्यु भएको चार दिनपछि उनी स्वयम्को पनि मृत्यु हुन्छ ।

Padelux insider
cura insider

झट्ट सुन्दा यो कुनै फिल्मको दुखान्त कहानी जस्तै लाग्छ । कहानी कुनै फिल्मको नभए पनि बलिउडका फिल्म अभिनेता इरफान खानको भौतिक जीवनको अन्तिम चार दिनको वास्तविक कथा हो ।

खानकी ९५ वर्षीय आमा सइदा बेगमको जयपुरमा चार दिन अगाडि शनिबार निधन भएको थियो । कोरोना महामारीका कारण भारतमा लकडाउन गरिएकाले इरफान खान आमाको अन्तिम अन्त्येष्टिमा सहभागी हुन पाएनन् । हुनतः मुम्बईदेखि जयपुर १ घण्टा ३५ मिनेटमा (हवाई मार्गमार्फत) सजिलै आउन सकिन्छ तर विपद्को बेलामा सुरक्षित रहन भारत सरकारले गरेको आह्वानलाई उनले तोड्न चाहेनन् वा चाहेर पनि आफ्नो ईच्छा पूरा गर्न सकेनन् । भौतिक रूपमा अन्त्येष्टिमा सहभागी हुन नसके पनि उनले भिडियोकलमार्फत आफ्नी आमालाई श्रद्धाञ्जली भने व्यक्त गरे ।

अभिनेता खानका भाइ सलमानका अनुसार केही दिनअघिदेखि आमा सइदा अस्वस्थ थिइन् र शनिबार अचानक उनको मृत्यु भयो । संसार छाड्नुअघि आमाले आफ्ना दाइ इरफान खानको स्वास्थ्य अवस्थाको बारेमा सोधेको ‘द न्यु इण्डियन एक्सप्रेस’लाई सलमानले बताएका थिए ।

सन् २०१८ को फेब्रुअरी महिनामा खानको स्वास्थ्यमा समस्या आएको थियो । उपचारको क्रममा अस्पताल पुगेका खानको रोगबारे त्यसबेला केही खुलाइएको थिएन । अपुष्ट रूपमै भएपनि भारतीय सञ्चारमाध्यमहरूले उनलाई घातक रोग क्यान्सर हुन सक्ने अनुमानसहितको समाचार लेख्न थालिसकेका थिए ।

रोगबारे आफैले सबैलाई जानकार गराउने र आफ्नो स्वास्थ्य स्थितिबारे भ्रम नफैलाउन खानले ट्वीटरमार्फत विशेष आग्रहसमेत गरेका थिए । १६ मार्च २०१८ मा ट्वीट गर्दै खानले स्वास्थ्य परीक्षणबाट आफूमा ‘न्युरोएन्डोक्राईन ट्यूमर’ भएको खुलाएका थिए ।

न्युरोएन्डोक्राईन ट्यूमर मानिसहरूमा विरलै मात्रामा पाइने किसिमको क्यान्सर हो, जसले मानिस शरीरको विभिन्न अंगहरूमा आक्रमण गर्छ र समस्या निम्त्याउँछ । रोग संक्रमणको पुष्टि भएको केही दिनमा नै उनी उपचारका लागि लण्डन गएका थिए ।

लण्डनमा उपचारपछि २०१९ फेब्रुअरीमा भारत फर्किएका खानले ‘अंग्रेजी मिडियम’ मार्फत बलिउडमा पुनः डेब्यु गरेका थिए । कोरोना महामारीका कारण लकडाउन हुनुभन्दा केही दिनअघि मात्र खान अभिनित फिल्म रिलिज गरिएको थियो ।

स्वास्थ्यमा अचानक समस्या आएपछि खानलाई मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा हिजो भर्ना गरिएको थियो ।

पाचन प्रणालीसम्बन्धी रोगका कारण अस्पताल भर्ना भएका खानको कोलन संक्रमणको उपचार भइरहेको थियो । उपचाररत खानको आज ५३ वर्षको उमेरमा असामयिक निधन भएको छ ।

चर्चित, प्रखर, अब्बल एवम् बौद्धिक अभिनेता

७ जनवरी १९८७ मा राजस्थान जयपुरमा जन्मेका खान जीवन्त अभियनका लागि प्रख्यात अनुहार हो । उनको अभिनयको प्रशंसा भारतमा मात्रै नभएर अमेरिकी र बेलायती फिल्मी जगतमा समेत हुने गर्छ । आफ्नो तीन दशकको अभिनय जीवनमा उनले ५० भन्दा बढी बलिउड चलचित्र र विश्वचर्चित हलिउड चलचित्रमा समेत अभिनय गरिसकेका छन् ।

टोन्क जिल्लाको खजुरिया गाउँमा उनका पिता जगिरदर खान र माता बेगम खानको टायरको व्यवसाय थियो । बाल्यकालमा क्रिकेट खेल्ने खान क्रिकेटका कुशल खेलाडी थिए । यू–२३ उदीयमान खेलाडीको सूचीमा पर्दै उनी सीके नायडु टुर्नामेन्टका लागि छनौटसमेत भएका थिए ।

उक्त टुर्नामेन्टलाई भारतमा पहिलो श्रेणीको क्रिकेट क्षेत्रमा प्रवेशको लागि खेलाडीहरू कोसेढुंगा मान्ने गर्छन् । मिहिनेत र क्षमताका कारण छनौट भएपनि आर्थिक समस्याका कारण उनले टुर्नामेन्टमा सहभागिता भने जनाएनन् ।

क्रिकेटमा अगाडि बढ्न नसके पनि उनले आफ्नो पढाइमा नै ध्यान दिइरहे । सन् १९८४ मा खानले नयाँ दिल्लीस्थित नेशनल स्कूल अफ ड्रामामा छात्रवृत्तिमा नाम निकाले र अभिनय अध्ययनका प्रारम्भ गरे । नेशनल स्कूलमा जानुअघि उनी स्नातकोत्तर तहमा अध्ययनरत थिए ।

नेशनल स्कूल अफ ड्रामामा अध्ययन पूरा गरेपछि उनी मुम्बईतिर लागे जहाँ उनले कयौं टेलिभिजन सिरियलहरूमा काम गरे । बलिउड जगतमा मुख्य भूमिकामा चलचित्र आउनुअघि उनले धेरै सिरियल र छोटो चलचित्रहरूमा काम गरे ।

इरफानको अभिनय

‘लाल घाँस पे निले घोडें, डर, चाणक्य, भारत एक खोज, सार जहा हमारा, बनेगी अपनी बात, चन्द्राकान्ता, श्रीकान्त, अनुगुञ्ज, स्टार बेस्ट सेलर्स, स्पर्श, एक साम कि मुलाकात, भन्वार जस्ता टेलिभिजन सिरियलहरूमा उनले अभिनय गरेका छन् ।

खानले अली सरदार जाफरीद्वारा निर्मित काखाशानमा प्रसिद्ध क्रान्तिकारी उर्दू कवि तथा भारतको माक्र्सवादी राजनीतिक अभियन्ता मखदूम मोहिउद्दीनको भूमिका पनि निभाएका थिए ।

सन् १९८८ मा रिलिज भएको सलाम बम्बईमा मीरा नायरले उनलाई क्यामियो रोल (छोटो रोल) को मौका दिनु अघिसम्म खान नाटक, सिरियल र टेलिभिजन कार्यक्रमहरूको स–साना पात्रहरूमा नै सिमित थिए । सलाम बम्बईमा अभिनय गरेता पनि अन्तिम सम्पादनको क्रममा उनी अभिनित दृश्य फिल्मबाट हटाइएको थियो ।

त्यसलगत्तै बासु चटर्जीको आलोचनात्मक साथै प्रशंसित ड्रामा फिल्म कमला की मौत (१९८९) मा उनले अभिनय गर्न मौका पाए । बलिउड सिनेमा क्षेत्रमा प्रवेश गरेपनि उनले आफूलाई स्थापित भने गराउन सकिरहेका थिएनन् ।

खानले चलचित्रमा काम नपाएका भने होइनन् तर उनलाई भाग्य साथ भने दिइरहेको थिएन । १९९० देखि २००१ सम्मको एक दशकभरि उनले एक डाक्टरकी मौत, सच ए लङ्ग जर्नी, जय हनुमान लगायत अन्य थुप्रै चलचित्रहरूमा अभिनय गरे ।

द वारियरः खानको टर्निङ प्वाइन्ट

थुप्रै फ्लप फिल्मका अभिनेता खानको जीवन त्यसबेला परिवर्तन भयो जतिबेला आसिफ कापडीयाले उनलाई द वारियरमा मुख्य भूमिकाको जिम्मेवारी दिए । हिमाञ्चल प्रदेश र राजस्थानको विभिन्न स्थानमा खिचिएको ऐतिहासिक फिल्म द वारियरले थुप्रै अन्तर्राष्ट्रिय चलचित्रहरूमा भाग लिने मौका पायो र खानलाई चर्चित बनाइदियो ।

२००३ मा उनले अश्विन कुमारको छोटो चलचित्र रोड टु लदाकमा अभिनय गरे । त्यस फिल्मले पनि अन्तर्राष्ट्रिय चलचित्रहरूमा राम्रो समीक्षा पायो । खान अभिनित चलचित्र कान्स फिल्म फेस्टिभलमा देखाइने क्रममा ओस्कार अवार्ड विजेता कलाकार रिचर्ड ड्रेफफस र जुडिथ जेम्सको नजरमा समेत पर्‍यो ।

चलचित्रका निर्देशक अश्विन कुमारसँगको छलफलपछि ४८ मिनेट लामो रोड टु लदाकलाई पूर्ण–लम्बाईको चलचित्र बनाइयो र २००३ मा रिलिज गरीयो । चलचित्र रिलिज भएसँगै खानको बलिउडबाट हलिउड चलचित्रमा डेब्यूसमेत भयो ।

२००८ मा उनले सल्मडग मिलिनियर, २०१२ मा अमेजिङ स्पाइडर म्यान, २०१२ मा नै लाइफ अफ पाइ, २०१५ मा जुरासिक वल्र्ड र २०१६ मा इन्फर्नाे जस्ता चर्चित हलिउड फिल्महरूमा अभिनय गरे ।

रोग : सन् २००५ देखि, अंग्रेजी मिडियम : सन् २०२० सम्म

द वारियर र रोड टु लदाकमा अभिनय गरेर प्रशंसा र चर्चा बटुलिसकेका खानको बलिउडमा लिड रोल भने २००५ मा रिलिज भएको फिल्म रोगबाट भयो । रोगले खानको अभिनयको चर्चा थप चुलाइदियो । त्यसपछि भने उनले पछाडि फर्केर हेर्नु परेन । विभिन्न चलचित्रहरूमा अनेकथरिका पात्रहरूको अभिनय गर्दै उनी अघि बढिरहे ।

२००३ मा रोड टु लदाकमा काम गरेकै वर्ष उनले मकबुल चलचित्रमा समेत काम गरेका थिए । २००४ मा अभिनेता खानले अत्कुष्ट भिलेनको अर्वाड जिते । हासिलमा गरेको भिलेनको अभिनयको कारण उनलाई फिल्म फेयरमा बेस्ट भिलेनको अर्वाड प्रदान गरिएको थियो ।

आफूले पाएको पात्रलाई कुशलताका साथ निर्वाह गर्दै जीवन्त प्रस्तुत गर्न सक्ने कलाकार भन्दै समीक्षकहरूले उनको प्रशंसा गरेका थुप्रै घटनाहरू छन् । उनले तेलुग फिल्म सैनिकुडुमा समेत भिलेनको अभिनय गरेका छन् ।

अनुराग वासुद्वारा लिखित र निर्देशित चलचित्र मेट्रो २००७ मा रिलिज भएपछि भने उनले बलिउड बक्स अफिसको हिट सिनेमाको स्वाद चाख्न भ्याए । खान अभिनित चलचित्र मेट्रो व्यवसायिक रूपमा सफल मात्र भएन त्यसले उनलाई फिल्म फेयर बेस्ट सर्पाेटिङ एक्टरको अर्वाडसमेत दिलायो ।

सोही वर्ष उनी अभिनित चलचित्र द नेमसेक रिलिज भएको थियो । भारतीय, अमेरिकन र जापनी फिल्म स्टुडियाहरूको संयुक्त लगनीमा निर्माण गरिएको फिल्म ९ मार्च २००७ मा अमेरिकामा रिलिज गरिएको थियो । सो फिल्मले अमेरिकी समीक्षकहरूबाट मिश्रीत प्रतिक्रिया पाएको थियो ।

२०१० मा खान अभिनित एसिड फ्याक्ट्री, न्यू योर्क, न्यू योर्क आई लभ यू र पान सिंह तोमर रिलिज भयो । खेलाडीको वास्तविक जीवनमा आधारित चलचित्र पान सिंह तोमरले उनलाई नेशनल फिल्म अर्वाडमा उत्कृष्ट अभिनेताको अर्वाड दिलायो ।

दुई चर्चित र उत्कृष्ट हलिउड फिल्म द अमेजिङ स्पाइडर म्यान र लाईफ अफ पाईसहित २०११ मा खान अभिनित द लन्चबक्स रिलिज भयो । द लन्चबक्सले कान्स फिल्म फेस्टिभलमा ग्रान्ड रेलडोर अर्वाड जित्यो र ब्रिटिश एकेडेमी अफ फिल्म एण्ड टेलिभिजन आर्टका लागि छनौटसमेत भयो । यति मात्र हैन द लन्चबक्स उनी अभिनित सबैभन्दा बढी कमाउने हिन्दी फिल्मसमेत बन्यो ।

२०१४ मा गुन्डेमार्फत उनी बलिउडमा तीन वर्षपछि देखा परे जसले बक्स अफिसमा औसत मात्र व्यापार गर्‍यो । सोही वर्ष उनी अभिनीत द एक्सपोज र हैदर रिलिज भयो । दीपिका पादूकोण र अमिताभ बच्चन अभिनित चलचित्र पिकुको साथमा खान २०१५ मा आए । २०१५ मै उनी अभिनित हलिउड सिनेमा जुरासिक वर्ल्ड रिलिज भयो । सोही वर्ष तल्वार र जज्बामार्फत उनी दर्शकसामू आए । उनी अभिनित सबै फिल्महरूले राम्रै चर्चा पाइरह्यो ।

हलिउड अभिनेता टम ह्यांक्ससँगको फिल्म इन्फर्नोसहित खान २०१६ मा दर्शकसामु प्रस्तुत भए । २०१६मा उनको कुनै पनि बलिउड चलचित्रहरू रिलिज भएन । तर २०१७ मा खानका तीन चलचित्र रिलिज भए । पहिलो थियो हिन्दी मिडियम, दोस्रो थियो करिबकरिब सिंग्ल र तेस्रो थियो नो बेड अफ रोजेज ।

खानको फिल्म करिबकबि सिंगलले औसत व्यापार गर्‍यो र फिल्म समीक्षा ठिकै मात्र पायो तर उनको अर्काे फिल्म हिन्दी मिडियमले भने खानको चर्चा फेरी चुल्याइदियो । समीक्षकहरूको गतिलो समीक्षा पाएको हिन्दी मिडियमले भारत र चीनमा उत्कृष्ट व्यापार गर्‍यो ।

द लन्चबक्सको रेकर्ड तोड्दै हिन्दी मिडियमले खान अभिनित सर्वाधिक कमाउने चलचित्रको रेकर्ड कायम गर्‍यो । हिन्दी मिडियम यतीमा मात्रै सीमित रहेन, यसले खानलाई फिल्म फेयर अर्वाडमा उत्कृष्ट अभिनेताको अर्वाडसमेत दिलायो ।

खान अभिनित नो बेड फर रोजेज बंग्लादेश र भारतको संयुक्त लगानीमा निर्माण गरिएको चलचित्र थियो । जसलाई मौस्तोफा सरवार फरुकीले लेखन र निर्देशन गरेका थिए भने इरफान खान,अब्दुल अजिज र हिमाशुं धनुखाले निर्माण गरेका थिए । ‘मृत्युले सधैं लिएर मात्र जाँदैन कहिले यसले धेरै कुरा दिएर जान्छ’ भत्रे विषय प्रस्तुत गरेको थियो । व्यवसायिक रूपमा सफल नभएपनि ९१औं एकेडेमी अर्वाडका लागि उत्कृष्ट विदेशी भाषाको फिल्मको रूपमा बंग्लादेशबाट छनौट गरेर यसलाई पठाइएको थियो । तर चलचित्र अवार्डको लागि भने छनौट हुन सकेन ।

२०१८ मा खान अभिनित करवान र ब्ल्याकमेल रिलिज भएका थिए । खानको अन्तिम फिल्म अंग्रेजी मिडियम रह्यो । चर्चित हिन्दी मिडियमको सिक्वेलको रूपमा निर्माण गरिएको अंग्रेजी मिडियम होमी अडाजानियाले निर्देशन गरेका हुन् । १२ मार्च २०२० मा रिलिज गरिएको उक्त फिल्म कोरोना महामारीका कारण भएको लकडाउनको शिकार भयो । तर, महामारी पछि फिल्म पुनः रिलिज गर्ने योजना रहेको बताइएको छ ।

खानले २०१७ सम्म अभिनय गरेका चलचित्रहरूको विश्वव्यापी सिनेमा बजारको व्यापार हेर्दा उनी अभिनित चलचित्रहरूले ३.६४३ बिलियन डलरको व्यापार गरिसकेको तथ्यांक पाइएको छ ।

खानको टेलिभिजन करिअर

बलिउडमा सफल रहेका अभिनेता खानको टेलिभिजन करिअर पनि सफल नै रह्यो । उनले चलाएका मानो या ना मानो र क्या कहें कार्यक्रमहरू सफल मानिन्छन् । यसका अलवा उनले आइटेन्डी अफ द सोलमा वाचक रूपमा समेत काम गरेका थिए । उनी सम्मेलित सो कार्यक्रम विश्वभरिका विभिन्न स्थानहरूमा प्रस्तुत गरिएको थियो ।

अमेरिकन टेलिभिजन कम्पनी एचवीओको सिरिज इन ट्रिटमेन्टमो तेस्रो सिजनमा खानले अभिनय गरेका छन् । श्रीमतीको मृत्युपश्चात एक्लिएका सुनिलको भूमिकामा खानले जबर्जस्त अभिनय गरेका छन् ।

पारिवारीक जीवन र सम्मान

आफ्नी समकक्षी सुतापा सिकदरसँग १९९५मा वैवाहिक बन्धनमा बाँधिएका खान दुई छोराका पिता हुन् । खानकी श्रीमती नेशनल स्कूल अफ ड्रामामा उनीसँगै अध्ययन गर्ने गर्थिन् । हाल उनी बलिउड चलचित्रहरूका लागि संवाद लेखनको काम गर्छिन् ।

बलिउड र हलिउड दुवै क्षेत्रमा अब्बल रहेका खान थुप्रै अवार्ड र सम्मानहरूबाट सम्मानित भइसकेका छन् । भारतीय कला क्षेत्रमा योगदान पुर्‍याएबापत सन् २०११ मा भारत सरकारद्वारा खानलाई पद्यमश्रीबाट सम्मानित गरिएको थियो ।

खानको ३० वर्षको फिल्मी करिअरमा उनले ३१ वटा विभिन्न अर्वाड जितेका छन् । खान राजस्थान राज्य सरकारद्वारा सुरु गरिएको ‘रिसर्जेन्ट राजस्थान’ अभियानको २०१५ सेप्टेम्बरमा ब्राण्ड एम्बेस्डर समेत बनेका थिए ।

भनिन्छ नि कला कहिल्यै मर्दैन भनेर । भौतिक शरीरलाई छाडेर गएपनि तिम्रो कला र तिम्रा सिर्जना हामीमाझ सधैं रही रहनेछन् । अलबिदा इरफान !

एजेन्सीको सहयोगमा शिवहाङ राई

jackson ribon