एजेन्सी, १८ वैशाख । इटालियन पूर्वस्टार फाबियो कान्नाभारोले पूर्वक्लब रियल मड्रिडको प्रशिक्षक बन्ने आफ्नो सपना रहेको बताएका छन् ।

स्पेनमा तीन सिजन खेलेका उनले ‘मड्रिडिस्टा रियल’सँगको कुराकानीमा रियल फर्किने आफ्नो सपना रहेको बताएका हुन् ।
उनले सन् २००६ देखि २००९ सम्म रियल मड्रिडमा बिताएका थिए ।
त्यसबाहेक उनले इन्टर मिलान, युभेन्टस, नापोली जस्ता क्लबबाट खेलेका थिए ।
रियलबाट ९४ खेल खेलेका उनले बर्नाबेउमा प्रशिक्षकको रूपमा फर्किने आफ्नो सपना रहेको बताएका हुन् ।
‘यदि, तपाईं एक प्रशिक्षक बन्न चाहनु हुन्छ भने, तपाईंले शीर्ष सोच लिनुपर्छ । र, शीर्ष भनेकै रियल मड्रिड हो’, कान्नाभारोले भने, ‘म इटालियन राष्ट्रिय टोलीको वा युरोपको केही ठूला क्लबको प्रशिक्षक बन्न चाहन्छु ।’
‘अगामी दिन (जब म सक्छु) तब रियल मड्रिडजस्तो क्लबमा प्रशिक्षकको रूपमा काम गर्छु,’ उनले भने ।