एजेन्सी, १७ वैशाख । कोरोना भाइरसबाट निकै प्रभावित युरोपेली मुलुकहरूमा भने लकडाउन विस्तारै खुकुलो बनाउने तयारी हुन थालेका छन् ।

जर्मनीले बुधबारदेखि सामान किन्न पसल जाने हरेक व्यक्तिलाई मास्क लगाउन अनिवार्य गरिएको छ ।
कोरोना महामारी पुनः शुरु हुने खतराकै बीच आर्थिक क्षति कम गर्न पनि लकडाउनलाई केही खुकुलो बनाउन लागिएको हो ।
फ्रान्सेली प्रधानमन्त्री एडुआर्ड फिलिपले दैनिक आर्थिक गतिविधि निकै जोखिमपूर्ण रहे पनि आम सर्वसाधारणका लागि यो बाध्यात्मक भइसकेको बताएका छन् ।
फ्रान्समा अर्को महिनादेखि पसलहरु, बजार र केही विद्यालयहरु खुला गर्ने योजना अघि सारिएको छ । अरु केही महिनासम्म सार्वजनिक यातायात र भेटघाटका क्रममा मास्क अनिवार्य गरिएको छ ।
स्पेनले अर्को दुई महिनाभित्र प्रतिबन्धहरू बिस्तारै खुुकुलो बनाउने जनाएको छ ।
इटालीमा अर्को साताबाट मानिसहरुलाई घरबाहिर गएर व्यक्तिगत अभ्यास गर्न तथा नातेदारसँग भेटघाट गर्न फुकुवा गरिने छ । तर अंकमाल गर्न र हात मिलाउन निषेध गरिएको छ ।
रसियादेखि नाइजेरियासम्मका मुलुकले लकडाउनलाई खुकुलो बनाउने योजना अघि सारेका छन् ।
विज्ञहरूले प्रतिबन्धहरु चाँडै खुकुलो बनाउँदा भाइरस संक्रमणको दर बढ्ने चेतावनी दिइरहेका भए पनि लकडाउन खुकुलो बनाउने योजना अघि बढेका छन् ।