एजेन्सी, १७ वैशाख । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संयुक्तराज्य अमेरिकामा संक्रमित हुने व्यक्तिको संख्या १० लाख नाघेको छ ।

कोरोना संकटले अमेरिकामा लाखौं मानिसलाई बेरोजगार बनाएको छ । अमेरिकामा कोभिड–१९ का बिरामीको संख्या विश्वमै सबैभन्दा बढी छ ।
एएफपीको गणना अनुसार, विश्वभर करिब २ लाख १८ हजारभन्दा बढीको मृत्यु भइसक्दा त्यसको करिब एक तिहाईको मृत्यु अमेरिकामा मात्र भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको प्रसार रोक्न नसकेको भन्दै चीनमाथि लगातार आरोप लगाइरहेका छन् । तर बेइजिङले अमेरिकी आरोपको खण्डन गरिरहेको छ ।
दक्षिण अमेरिकामा ब्राजिलमा सर्वाधक असर परेको छ । यहाँ ५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । पेरुको जेलमा भड्किएको हिंसामा नौ जना कैदीको ज्यान गएको छ ।