लकडाउनमा बारीबाटै धमाधम तरकारी बिक्री

माधव काफ्ले
सुन्दरहरैंचा, १७ वैशाख । लकडाउने गर्दा कृषकहरूको तरकारी बारीमै कुहिन थालेको र नबिकेर सडकमा फाल्नु परेको समाचार सार्वजनिक भैरहेकोबेला मोरङ सुन्दरहरैंचाका कृषकको तरकारी भने बारीबाटै धमाधम बिक्री भैरहेको छ ।

मोरङको सुन्दरहरैंचार–२, जोगियारेमा ४१ वर्षीय कृषक हेमनारायण खवासले लगाएको तरकारी लकडाउनको समयमा घर–गाउँका चौकबजारमा बिक्री धमाधम बिक्री भरहेको हो ।

खवासले भाडामा लिएको एक विघा ४ कठ्ठामा तरकारी खेती गर्दै आएका छन् । विगत २० वर्षदेखि तरकारी खेती गर्दै आएका उनले काँक्रा, बोडी, घिरौला, गोलभेँडा, करेलालगायत तरकारी उत्पादन गर्नेगरेका छन् ।

उत्पादन गरेको तरकारीमध्ये गोलभेँडा बेचिसकेका छन् । काँक्रा, बोडी, घिरौला र करेला पनि धमाधम बेच्ने क्रममा छन् । लकडाउनका कारण अन्य स्थानका किसानले उत्पादित तरकारी बारीमै कुहिएको समस्या सुनाउँदै आए पनि आफ्नो तरकारी अझै स्थानीय बजारहरूमा बिक्री धमाधम बिक्रि भैरहेको खवासले बताए । लकडाउनमा तरकारी बिक्री गरेर उनले राम्रो आम्दानी गरिरहेका छन् ।

तरकारी धमाधम बिक्री भएकोले कृषक खवासले लकडाउनमा पनि बारीको खनजोत गर्ने काम जारी राखेका छन् । पत्नि भगवती जन लगाएर तरकारी गोडमेलमा ब्यस्त रहन्छिन् भने हेम उत्पादित तरकारी टिप्ने काम गर्छन् ।

कृषक हेमका ग्राहक भने स्थानीय नै धेरै छन् । त्यसबाहेक उनले ठेला रिक्सामा हालेर हरैंचा, नेताचौक र विराटचौकसम्म लगेर तरकारी बेच्ने गरेका छन् । माग भएअनुसार उनले कहिलेकाहीँ विराटचौकस्थित डिलरमा पनि तकारी दिने गरेका छन् ।

तरकारी लिएर बाहिर जाँदा उनी सुरक्षित भएर जाने गरेका छन् । ‘कोरोनाको डरले तरकारी बेच्न जाँदा सुरक्षित भएर जान्छु । तर, बिक्रीपठ्ठामा भने खासै प्रभाव छैन । आम्दानी उस्तै छ । मल खाद किन्न भने समस्या परेको छ,’ उनले भने ।

उनले उत्पादन गरेको तरकारी किन्नका लागि दुई–तीन गाउँ वरपरका मानिसहरू आउने गरेका छन् । कृषक खवास भन्छन्, ‘घर–गाउँमै तरकारी बिक्री भैरहेकोले अहिलेसम्म बारीमै तरकारी कुहिएको अवस्था छैन ।’

Loading...