चितवन, १७ वैशाख । चितवनकी कोरोना भाइरस (कोभिड–१९) संक्रमित एक महिलाको तेस्रो परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको छ ।

१५ वैशाखमा स्वाब संकलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पोजिटिभ नै आएको हो ।
५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएपछि ती महिला हाल भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत छिन् ।
आमाछोरा दुवैको कोरोना सङ्क्रमणसँगै पुष्टि भएको थियो ।
तर, उनका २७ वर्षीय छोरा भने कोरोनाबाट निको भइसकेका छन् ।
उनीहरू चैत ३ गते बेलायतबाट नेपाल आएर काठमाडौँबाट ५ गते चितवन आएका थिए ।
राप्ती नगरपालिका–८ निवासी दुई जनाकै कन्ट्रयाक्ट ट्रेसिङ गरी अन्यको कोरोना परीक्षण गरिएको थियो तर, कसैमा पनि कोरोना संक्रमण देखिएन ।
यस्तै १५ वैशाखमा नै गरिएको अन्य २२ परीक्षणको नतिजा भने नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।