खै ? कसरी फकाउँ आमा

पदमकुमार श्रेष्ठ ‘अरबिन्द’

आमा ! लामो समयपछि एक्कासी सपनिमा देखेँ । भन्दैथ्यौः बाबु ! बाहिर त निस्केको छैनस् नि ? सकभर बाहिर ननिस्कनूस निस्कनै पर्ने भए मास्क लगाएर निस्कनू । खानेकुरा सकिएला, भोकै परिएला सबैको जगेर्ना गर्नु । प्रहरीको लाठी प्रहारबाट जोगिनू ।

कागको कराईसँगै झसङ्ग ब्युँझिएछु ।

बाहिर सिमसिम पानी परिरहेको रै’छ । कहिलेकाहीँ तिहारमा पटका पड्के झैँ झिलिक्क गर्दै गर्जेको आकाश विस्तारै मौन देखिन थाले जस्तो । घरसँगैको आरूको रुखमा बसेर का….का… गरी कराइरहेको काग एक्कासी भुरुरु गरी उढेर गयोस लाग्यो मलाई नै उठाउन कराए जस्तो । ज्यान भारी भयो, टाउको पनि थोरै दुखिराखेको रै छ । आँखाबाट आँशु बगेको रेखा ऐनामा हेरेँ पछि बल्ल थाहा भो । खै, आज जाँगर चलेन त्यति अनि ओछ्यानमै झोक्राएर बसिरहेँ ।

भित्ताको घडिले बिहानको ५ बजेको सङ्केत गर्‍यो । कोरोना संक्रमणबारे न्यूज अप्डेटको लागि फोनको स्क्रिनतर्फ औंलाहरू बढ्न थाले । सरर हेरेपछि फेसबुक, ट्वीटरतिर पनि एक नजर लगाएँ । अनगिन्ती फोटाहरूमा चाउरी परेको अनुहार अनि बीचमा सिउँदो चिरेको, कसैको निधारमा टीका, सेतो(कालो कपालसँगै अलि पोटिला चिटिक्क परेर रंगिन कपडामा मुख हेर्ने दिनको शुभकामना पो दिन थालेका रै’छन । हिजो–अस्ति कोरोना, लकडाउनको अप्डेट गर्ने आफन्तहरू पनि खुशी साथ रमाइलो गरेको देखियो ।

हत्तपत्त कोठाबाटै आमा ! भनेर चिच्याउँदै बाहिर निस्कदै गर्दा ढोका अगाडिको दराजभित्र राखेको त्यो तिम्रो सम्झनाको अन्तिम चिनो तिम्रो तस्बिरमा गएर टक्क रोकियो । आफूलाई सम्हाल्नै सकिन केही बेर त । हिजो–अस्ति आकाशबाट खसेको असिना पानी जसरी मेरो आखाहरू बाट पनि मूल फुटेर अनायासै बर्सिन थालेछन् ।

तस्बिर बिस्तारै धमिलो देखिन थाल्यो अनि अलिक नजिक गएर हेरिरहन मन लाग्यो । तिम्रो त्यो रातो बुट्टा भएको ढाकाको चोलिमा सजिएको फोटो निकालेर पुछ्दा पनि धमिलो गएन तर एक्कासी दाहिने हातले आँशु पुछिएपछी तिम्रो सफा चेहरा छर्लङ्ग देखियो । भन्थ्यौ नि आमा जति पोले पनि घामै प्यारो, जति पिटे पनि आमै प्यारो ।

तर फेरि तिम्रो पिटाइ खान मन लाग्यो । तिमीले बच्चामा बाले पिट्दा तानेर जोगाउन पिटे जस्तैगरी भगाउथ्यौ । सबैले आफ्नो आमालाई आमा भनेर बोलाउँदा, बोल्छन् तर तिमी किन बोल्दैनौ, पहिले त है भन्थ्यौ त ।

उहिले सन्तानले डाडाकाडा ढाकून भनी दिने आशीर्वाद अहिले विश्वभरि छरिन पुगेका छन् । कहाँ पुगेका छैनन् आमा तिम्रा सन्तान तर नपुग्नुपर्ने ठाउँमा पनि पुगेका छन् । भोको पेटले डोहो¥याएर भनौ कि रहरले तिमीसँगको काख छुटाएकै हो । तिमीलाई बिर्सेका पक्कै छैनौँ, तर सम्झेन भनेर चित्त नदुखाऊ है आमा ।

बाँस फरक भएपनि आश त हुँदोरहेछ नि । टुहुरो मेरो कोही नहुँदा त तिमीलाई सम्झेकै छु । चित्त नदुखाऊ है ? फेसबुकतिर तिम्रो तस्बिर पोस्ट्याउन सकिनँ किनकी तिमीसँगको मेरो आफ्नै फोटो खिच्ने रहर हुँदाहुँदै त खिच्न पाईएन । जिन्दगी बाँच्दा साँचेका अनगिन्ती सपनाहरू त पूरा गर्न नसकेको बबुरोले जिन्दगीपछिका यो फेसनमा पनि पूरा गर्न असमर्थ भएस फेरि तिम्रो ईच्छा पनि त होईन नि ।

‘जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी’ भनेर स्कुल पढ्दा रटेको लाईन त घरबाट टाढा हुँदा त खुब सम्झना आउने तर आमा ! तिमीले भन्थ्यौ नि बचेरा दिन भर जता गए पनि साझ त घर फर्कीहाल्छन् नि, खै त तिमीले यो कुरा बुझेको ? गाला मुसार्दै पीर नगर बाबु, दिनहीनका दिन पक्कै आउँछ भनेर मलाई सम्झाउँदै गर्दा त्यो दिन आएनौँसम्म नि भन्थ्यौ त । अरुको लाख आमाको काख भन्ने उखान सुनेको त थिए तर त्यसको अर्थ बुझ्नै पाइनँ कि त तिमीले सिकाउनै बिर्स्यौ ?

म अहिले जहाँ जसरी छु, त्यो मेरो मात्र दुःख ले हैन आमा ! त्यो तिम्रो फाटेको धोति, चुटिएर गाँस्दै लगाएको चप्पल संगै भुँइमा प्वाल परेको चप्पलबाट काँडाले घोचेर बनाएको घाउले गर्दा काममा जान नपाएर खान नपाएका दिनहरूले,चाडवाड आउँदा साहुसँग ऋण माग्दा तिमीले लगाएको कानको स्यानो टप मन अमिलो पारी बन्धकी राखेको दिन साहुले लामो जुँगा मुसार्दै छाडेको हासोको डकार । गाउँले सबैले भन्थे–यो टुहुरोलाई मेरो घरमा गोठालो बनायौँ भने टन्न मीठो खान, लाउन पाउछौँ तर सहायद, तिमी मलाई आफूबाट छुटाउन चाहान्नथ्यौ अनि घर फर्कँदै गर्दा बाटोमा सम्झाउँदै भन्थ्यौ– धेरै पढ् है बाबु, म तलाई दसैँमा नयाँ कपडा किनिदिन्छु ।

मलाई धेरै त थाहा थिएन तर मुन्टो मात्रै हल्लाउथे । स्कुल पढ्दा गरिबीले अरुको जडौरी पाइन्टलाई काटेर कट्टु सिलाई दिन्थ्यौँ । सिसा कलमको छोटो टुक्रा भेट्यौ भने बाँसको मसिनो प्लामा घुसारेर लामा बनाइदिन्थ्यौ । अरुले फालेका कापीका पानाहरू जम्मा गरी धागोले सिलाएर अरुको जस्तै नयाँ बनाइदिन्थ्यौ । पछि आफैँले पनि त्यही सिकी ठूलाले प्रयोग गरिसकेको कापीहरू जम्मा गरी पानीमा भिजाएर लेखिएको पखाली घाममा सुकाएको कापीहरूलाई नयाँ बनाइयो ।

पछि जब हरेक वार्षिक परीक्षामा पहिला हुन्थेँ, तिमीले अहिलेकाले जस्तो बधाई दिन जानेका थिएनौँ त्यसैले त त्यो बधाईभन्दा निधारमा लागाइएको रातो टीका, हातभरि नयाँ मोटा कापी कलमहरू लिन अगाडि बोलाउँदा तेरो नि नाम बोलायो त भनेको बेला मैले पुलुक्क तिम्रो अनुहारतिर हेर्दा खुशीले रातो भएको त्यो क्षण लाग्थ्यो ।

एकैछिन भए पनि गरिबीले थिचिएको आमा तिम्रो अनुहारमा पनि कस्तो सुहाउने रै’छ ( हासोसत्यो खुशी । हो, आमा ! तिमीसँगको त्यही फोटाले फेसबुकभरि भाइरल बनाउन मन थियो अहिले तर के गर्छौ आमा ! त्यो बेला हामी क्यामेराले फोटो खिच्नु भनेको त धेरै माथिको सपना तै पनि तिम्रो परिश्रमको फल अन्जान मै भए पनि खेर नफालेकोमा अहिले सम्झँदा गर्व लाग्छ ।

आज देख्दा राम्रो देखिने सुवास विनाको प्लास्टिकको फूल जस्तो सम्बन्धप्रति शंका गर्छन् । घर, पैसा त सकिएपछि पनि फेरि कमाउन सकिन्छ तर आमा जिन्दगीमा एक पटक मात्रै पाइने यो अनौँठो जिन्दगीको परिभाषा आफैँले बुझ्न सकिराखेको छैन चाहे तिमीले भन्दा धेरै नै पढेकै भएर नि किन नहोस् । संसारको बहुमूल्य शिक्षा त सुरुआतको दिनदेखि नै तिमीबाटै पाएको हुँ । आफ्नो सन्तानको लागि आमाले गर्न नसक्ने कुरा के नै छ र दुनियाँमा ।

त्यसैले त आफूले भोकै बसेर भए पनि मीठो, मसिनो खुवाउथ्यौ । आफूले पटुकी बाँधेर भए पनि खोबिल्टो परेको त्यो भोको पेटलाई पटुकिले ढाकेर आफू अघाएर पेट ठूलो भा’को नाटक गर्दथ्यौ । विस्तारै बुझ्दै छु आमा आफूले खाँदा मासुको १ चोक्टा भए पनि मेरै भागमा हालेर मलाई हड्डी मात्रै परेछ भन्दै थपिदिनथ्यौ । मेलापात गरेर साझ घर फर्कँदा आफूले जोगाएर ल्याएको खाजा घर आएसी बोलाएर दिन्थ्यौ ।

भन्थ्यौ– हरेक पटक मातातीर्थ औंशीको चोखोपन आफूलाई मीठो लाग्छ । अनि अरु चिजसँगै केही पोका दिन्थे । एक वर्ष त छुटेसी तिमीले मुखै फोरेर भन्यौ– खै त चोखोपन, अहिले छैन ? अनि मैले ढाँट्दै भनेको थिएँः झोलामा छ । अनि तुरुन्तै पसलबाट ल्याएको थिए । लाग्थ्यो त्यसपछिको तिम्रो मुहारको चमकता त एउटा बच्चाले रोएर जितेपछि को खुशी उस्तै लाग्थ्यो । हरेक वर्ष आजकै दिन अरु केही नभए पनि चोखोपन तिम्रै तस्बिर अगाडि राखेको छु तर पनि कुनै फरक अनि खुशी देख्दिन,….किन आमा मसँग रिसाएकी छौँ ?

Loading...