हराइरहेको सरकार

पाठकमञ्च

दिवसराज पौडेल, कपिलवस्तु
यो देशको सरकार हराइरहेको थुप्रै वर्ष भैसकेको छ, आजसम्म भेटिएको छैन । सरकारलाई खोज्ने क्रममा हामी विभिन्न ठाउँमा पुग्यौं, कहिले गरिब बस्तिमा पुग्यौं, कहिले बाढी पीडितको घरमा, कहिले भूकम्प पीडितको घरमा पुग्यौं, तर अहँ कतै भेटिएन हाम्रो देशको सरकार ।

नाङ्गो आङ र भोको पेटले समेत भेटाउन नसकेको सरकारलाई कसले भेटाएको होला र ? हुन सक्छ कहिले मान्यहरूको घरमा, कहिले धनाढ्यहरूको घरमा पुगेको होला तर कहिल्यै भेटिएन हाम्रा यी झुपडीहरूमा, निराशाका सहरहरूमा, विवस्था र बाध्यताका चौतारीहरूमा ।

लकडाउनको बेला आफ्नै भूमिमा फर्कन नपाएर तड्पिरहेका मजदूरहरूको भीडमा पुग्न सकेन, छट्पटाइरहेको बिरामीले उपचार नपाएर मर्नुपर्‍यो त्यो अवस्थामा सिंहदरबारकै चाहिँ घेराभित्र हराइरह्यो सरकार । रेमिट्यान्सबाट देश बचाइरहेका प्रदेशी दाजुभाइहरूको बेहाल स्थितिलाई निहाल्न सकेन सरकार । काठमाडौंदेखि सयौं किलोमिटरको यात्रा तय गर्न हिँडेकाहरूको भोको पेटमा चिउरासम्म पुर्‍याउन पुगेन सरकार ।

अँ साच्चै बीचमा १–२ पटक भेटिएको थियो जब स्वास्थ्य सामाग्री खरिद गर्दा कमिसनको खेल रच्ने बेलामा देखियो तर त्यही सरकार किसानले उत्पादन गरेका तरकारी दिनहुुँ नष्ट हुँदा नामो निसान देखाएन । देश संकटमा परेको बेला अध्यादेश ल्याएर आफ्नो रबाफ देखाउन खोज्ने सरकारले जनताका हजारौं हजार समस्य हल गर्न खोजेन ।

यसरी जहाँ पुग्नुपर्ने हो त्यहीँ ठाउँमा फर्केर नहेर्ने सरकारलाई हराएको भन्नू अनुचित होला जस्तो लाग्दैन । कुनै पनि देशको सरकार आफ्ना जनताप्रति कत्तिको उत्तरदायी छ परीक्षण गर्ने संकटको बेला हो त्यसैले हामी सबैले हाम्रा जन प्रतिनिधिहरूको हामीप्रतिको व्यवहार र झुकावलाई माध्यनजर गरी सही र गलत छुट्याउन सक्नुपर्छ । यसरी अधिकांश क्षेत्रमा मुकदर्शक बनेको सरकार हराएको हो या होइन तपाईं आफैँ निर्धारण गर्नुहोस् ।

Loading...