वित्तीय प्याकेज ल्याउन चेम्बरको आग्रह

काठमाडौं, १६ बैशाख । नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ बाट नराम्ररी असर परेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि वित्तीय प्याकेज ल्याउन सरकारसँग माग गरेको छ ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको प्रतिनिधिमण्डलले सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसमक्ष सुझाव पेश गर्दै सबैभन्दा बढी प्रभावित होटल तथा एयरलाइन्सलाई वित्तीय प्याकेजमार्फत उद्धार गर्न आग्रह गरेको हो ।

कर छुट तथा एयरपोर्ट चार्जलगायतमा सुविधासहित वित्तीय सहयोग प्रदान गर्न तथा ऋण, ऋणको ग्यारेन्टी, कर्पोरेट बन्डमा सरकार वा राष्ट्र बैंकबाट टेवा दिनुपर्ने चेम्बरले माग गरेको छ ।

आन्तरिक पर्यटनलाई प्राथमिकतामा राखेर योजना बनाउन आग्रह गरेको चेम्बरले कोभिड–१९को प्रभाव कम हुनेबित्तिकै आन्तरिक पर्यटन प्रवद्र्धनमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।

यसका लागि सरकारले अनिवार्यरूपमा वर्षको एकपटक निजामती तथा सङ्गठित संस्थाका कर्मचारी र आम नागरिकलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक भ्रमणमा प्रेरित गर्नुपर्ने चेम्बरको माग छ ।

कोभिड–१९का कारण सेवा क्षेत्रभित्र समेत पर्यटन र होटल क्षेत्र बढी प्रभावित भएको बताइन्छ । हाल चीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुँदै गएको सन्दर्भमा आउँदो सेप्टेम्बर–अक्टोबर महिनामा शुरु हुने पर्यटकीय ‘सिजन’मा चीनका विभिन्न शहरबाट पर्यटक भित्र्याउनेतर्फ सरकारीस्तरमै पहल गरिनुपर्ने माग गरिएको छ ।

Loading...