आफू निकट सांसदसँग प्रधानमन्‍त्री ओलीले भने ‘राजीनामा दिन्‍न’

काठमाडौं, १६ बैशाख । प्रधानमन्त्री केपी ओलीले आफूले नेताहरूले असहयोग नीति बनाए पनि पदबाट राजीनामा नदिने बताएका छन्। ‘सरकारले काम गर्न खोज्दा खोज्दै जहिल्यै पार्टीका केही नेताले असहयोग नीति लिए। अहिले मविरुद्ध घेराबन्दीको प्रयास भएको छ। तर म राजीनामा दिन्न’, आफू निकट सांसदसँग बालुवाटारमा ओलीले भने।

सोमबार दिनभर आफूनिकट नेता परिचालन गरी वरिष्ठ नेता माधव नेपाल पक्षलाई फकाउने प्रयास गरेपनि सार्थक नभएपछि साँझ ओलीले आफू निकट सांसदहरूसँग छलफल गरेका हुन्। ‘मिलेर जान आफूले नेताहरूलाई प्रस्ताव गरेको छु। नेताहरूको प्रतिक्रिया कसरी आउँछ त्यसपछि नै आफूले थप रणनीति बनाउँछु’, सांसदसँग ओलीले भनेको छलफलमा सहभागी काठमाडौं ३ का सांसद कृष्णबहादुर राईले जानकारी दिए।

‘म राजीनामा दिन्न। तपाईहरूले मलाई सहयोग गर्नुपर्‍यो’, ओलीलाई उदधृत गर्दै राईले अन्नपूर्णसँग भने। प्रधानमन्त्रीले आफूले मिल्न भने पनि दाहाल र नेपाल त्यो दिशामा अझै नदेखिएको भन्दै पार्टीमा भोलि जे सुकै अवस्था आइ लागे पनि सामना गर्ने गरी तयारी अवस्थामा रहन सांसदहरूलाई निर्देशन दिएका थिए। आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

Loading...