Rumpum

Rumpum Advertisement

होटल व्यावसाय धरासायी बनाउँदै कोरोना

होटल व्यावसाय धरासायी बनाउँदै कोरोना

काठमाण्डौ,१५ बैसाख । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रोकथामका लागि घाेषणा भएकाे लामो लकडाउनले देशभरिका होटल व्यावसायीहरु मारमा परेका छन ।

११ चैतदेखि देश पूर्ण रुपमा लकडाउन भएपछि नेपालमा सञ्चालन भइरहेका मझौला र तारे होटल, रिसोर्ट, होमस्टे ,लजलगायत सबै सेवा पूर्ण रुपमा ठप्प भएपछि व्यावसायीहरु प्रत्यक्ष मारमा परेका हुन ।

व्यावसायीहरुका अनुसार कोरोना संक्रमणको जोखिमले गर्दा नेपालको होटल व्यवसायमा अर्बौको नोक्सानी मात्र भएको छैन ठूलो संख्यामा बेरोजगारी बढ्ने खतरा पनि बढेकाे छ ।

नेपालका होटल , लज , रिर्सोट र होमस्टेहरुमा हजारौले प्रत्यक्ष रोजगारी पाएका छन । अर्कोतिर होटल व्यावसाय कै कारण पर्यटन क्षेत्रको आर्थिक गतिबिधी पनि चलायमान हुनेगरेको छ ।

ठूला तारे होटल, होमस्टे एवं रिसोर्टहरु मात्र नभएर पर्यटक स्तरिय मझौला होटल तथा लजहरू आन्तरिक र बाह्रय पर्यटक नहुँदा बन्द छन । यातायत पनि बन्द भएको र कोरोनाको जोखिम कायमै रहेकोले पर्टयकहरुको आगमन शुन्य छ ।

पर्यटन व्यावसाय आफ्नो दैनिक खर्च धान्ने अवस्थामा समेत नभएको होटल व्यावसायीहरु बताउँछन ।


पर्यटन मन्त्रालयका अनुसार नेपालमा १५ भन्दा बढी पाँचतारे होटल, ८ वटा चारतारे होटल, ३७ वटा तीनतारे होटल, ४३ वटा दुईतारे र ३३ भन्दा बढी एकतारे होटल सञ्चालनमा छन् ।

यसबाहेक देशभर बिभिन्न पर्यटकिय गनतब्यमा दुईसय ५० भन्दा बढी होमस्टे र पर्यटक स्तरका होटलहरु १ हजार १ सय भन्दा बढी छन ।

तर लकडाउने गर्दा यी सबै होटलहरु अहिले बन्द छन् । जसका कारण होटल क्षेत्रमा अर्बौं रुपैयाँ नोक्सानी भैरहेको विराटनगरका होटल व्यावसायी पुण्य भट्टराई बताउँछन ।

उनका अनुसार नेपालको होटल क्षेत्रमा बैंकहरुले समेत कर्जा लगानी गरेका छन् । व्यवसाय नै ठप्प भएपछि बैंकको किस्ता भुक्तानी गर्न समेत होटल व्यवसायीहरुलाई समस्या परेको छ ।

होटलको अकुपेन्सी रेट शुन्य अवस्थामा आउँदा पनि अहिलेसम्म होटल क्षेत्रको क्षतिको लागि सरकारले कुनैपनि प्याकेज ल्याएको छैन् ।

होटल व्यवसायीहरुले छोटो समयमा देखिएको यो संकटले अर्को दुई वर्षसम्म असर पार्न सक्ने बताउँदै आएका छन् ।

देश लकडाउनका कारण ठप्प बनेपछि नेपालको अर्थतन्त्र नै चौपट भएको छ । नेपालमा चिनियाँ, भारतीय, एवं युरोपियन पर्यटकहरु सबैभन्दा धेरै आउने गरेका छन् ।

कोरोना भाइरस महामारीका कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० पनि स्थगित भइसकेको छ ।

पर्यटन वर्षमा धेरै पर्यटक भित्रयाएर राम्रो आम्दानी गर्ने आशले धेरै व्यावसायीहरुले ठूलो लगानी गरेका थिए । तर लकडाउनले सबै होटल बन्द गरेर बस्नुपरेपछि उनीहरु टाट पल्टने अवस्थामा पुगेका छन ।

सरकारले होटल क्षेत्रका लागि उचित समयमै उचित राहत दिन नसके खर्बाैं रुपैयाँ लगानी भएको होटल क्षेत्र पुर्णरुपमा धरासायी हुने मात्र नभएर नेपालको पर्यटन क्षेत्र नै बन्द हुने अवस्थामा पुग्ने छ ।

जसबाट देशले खर्बौंको आम्दानी मात्र गुमाउने छैन लाखौं नागरिकको रोजगारी समेत गुम्ने खतरा बढेकाे व्यावसायीहरू बताउँछन ।