birat ribon

दूध नबिके नगरपालिकाले किन्ने

Neuro
दूध नबिके नगरपालिकाले किन्ने

उदयपुर, १४ वैशाख । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा त्रियुगा नगरपालिकाले दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सुरुआत गरेको छ ।

कोभिड–१९ को थप जोखिम हुन नदिन स्थानीय प्रशासनले भुल्केलाई सिल गरेपछि स्थानीयवासीले दैनिक उपभोग्य वस्तुमा समस्या झेल्न परेको व्यापक गुनासो उठेपछि सो नगरपालिकाले उपभोग्य वस्तु सहज उपलब्ध गराउन थालेको हो ।

cura insider

अहिले नगरपालिकाले गाउँको पसलमा दैनिक उपभोग्य वस्तु आपूर्ति गर्ने र स्थानीयवासीसम्म पु¥याउने व्यवस्था सुरु गरेको हो ।

नगर प्रमुख बलदेव चौधरीका अनुसार नगरपालिकाले त्रिनपा–३ का वडाध्यक्षलाई भुल्केमा कुनै एक पसल सञ्चालनको व्यवस्थाको पहल गर्न लगाउने र सो पसलमा सबै उपभोग्य वस्तु उपलब्ध गराएर गाउँलेलाई वितरणको व्यवस्था मिलाइएको छ ।

भुल्केका ५५ घर मुस्लिम र अन्य ३०० घर पहाडी समुदायका पसलमा नै दैनिक उपभोग्य वस्तु ग्यास, चामल, तेल, दाल, नुन र साबुन जस्ता वस्तु आपूर्तिको व्यवस्था गरेर पालैपालो वितरण गर्ने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ ।

यस्तै पशुपालक कृषकको दूध त्यत्तिकै खेर गएको भन्ने गुनासो आएपछि अहिले नगरपालिकाले स्थानीयस्तरमा नै दूध खरिद बिक्रीको व्यवस्था मिलाएको र दूध बिक्री नभए प्रत्येक दिनको कृषकको दूध नगरपालिकाले लिने र नगरपालिकाले नै पैसा भुक्तानी दिने व्यवस्था गरेर कृषकको दूध बिक्रीको समस्या समाधानको व्यवस्था मिलाइएको छ ।

यस्तै गाउँलेका लागि धान पिसान गर्न एउटा मिल दैनिक चल्न दिने र दूरी कायम गरेर भीडभाड नगरी पालैपालो मिलमा कृषकले धान पिसान गर्न सहज बनाउने कार्य पनि शुरु गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए ।

भुल्केमा पहिलो पटक शुक्रबार भुल्केवासीका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको र अब फेरि स्थानीयवासीको पुनः स्वास्थ्य शिविर सञ्चालन गरेर स्वास्थ्य उपचार तथा परीक्षण गर्ने व्यवस्था मिलाएको पनि नगरपालिकाले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा ५३० जनाको स्वाब नमूना सङ्कलन भएको ती मध्ये ५ सय १३ को रिपोर्ट आएको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा २ सय १६ रहेका छन् । रासस

jackson ribon