लकडाउनमा मनोसामाजिक समस्या र समाधानका उपाय–८

मञ्जीता उपाध्याय मनोविमर्शकर्ता, संयोजक–पहल नेटवर्क

म मनोविमर्शको तालिम दिने शिलशिलामा तराईको कुनै जिल्लामा गएको थिएँ । त्यसै क्रममा विषयवस्तुमा चर्चाकै क्रममा चिन्ता (Anxiety) को बारेमा छलफल हँुदै थियो । तालिम अनुगमन गर्न आउनुभएको एक जना महिलाले सहभागीलाई आफ्नो भोगाई वा अनुभव राखेर मलाई चिन्ताको बारेमा बुझाउन थप सजिलो बनाइदिनुभयो । म उहाँको अनुभव तल राख्नेछु ।

चिन्ता पनि न्युरोसीस (नरम किसिमको मानसिक रोग) भित्र पर्ने एक मानसिक रोग हो । यो धेरै प्रकारको हुन्छ । सानो सानो कुरामा चिन्ता गरी राख्नेदेखि, केही नराम्रो भै हाल्छ कि, आफू मर्छु कि भन्नेसम्मको डर वा चिन्ता हुने हुन्छ ।

अन्य सामान्य बेलामा पनि यस्तो समस्या मानिसमा भैं रहेको पाइन्छ भने विशेष गरी जब मानिसको जीवनमा केही नराम्रो घटना हुन्छ, आफन्तलाई कुनैं समस्या हुन्छ, आफूलाई केही समस्या हुन्छ र विभिन्न खालको प्रकोपहरू जस्तै भुकम्प,पहिरो, बाढी या अहिलेको जस्तो कोभिड १९ को प्रकोप वा महामारी हुन्छ, यस्तो अवस्थामा मानिसहरूमा केही समय डर, चिन्ता हुनु स्वभाविक हो । तर यदि यसले लामो समयसम्म आफ्नो दैनिक काममा र अन्य गतिविधि र सम्बन्धमा असर गर्दछ भने यो समस्या हो ।

चिन्ताको समस्या

डर, चिन्ता विभिन्न कारणले हुने गर्दछ । यस्ता डर वा चिन्तामा व्यक्तिलाई आफ्नो शारीरिक लक्षणः धेरै पसिना आउनु, हातखुट्टा वा शरीरमा कम्पन हुनु वा काम्नु, पेट खराब हुनु, रातभर सुते पनि बिहान उठ्दा निन्द्रा नपुगेको अनुभव हुनु, टाउको भारी वा झुम्म हुनु, मुटुको धड्कन अत्याधिक बढ्नु, अब लड्छु लड्छु जस्तो लाग्नु, हर्ट अट्याक हुन्छ जस्तो लाग्नु आदि हुन्छ ।

मानसिक लक्षणः अत्यन्त चिन्ता– कसैलाई फोन ग¥यो, उसको फोन उठेन भने केही नराम्रो भयो भनेर सोच्ने । कोही घरमा ढिलो आयो भने पक्कै केही घटना भयो भनेर सोच्ने । घर परिवार वा कसैको कुरा सकारात्मक उद्देश्यले कसैले सुनायो भने त्यस कुराबाट नकारात्मक होला कि भन्ने चिन्ता गर्ने वा सोच्ने । घरपरिवारमा कसैले यसो गर्छु भनेर धम्क्याउँदा धेरै चिन्ता गर्ने र वा नकारात्मक कदम त चाल्दैन भनेर अत्याधिक डराउने । आफू असुरक्षित भएको महशुस गर्ने । दिमागमा केहीन केही सोचहरू आइराख्ने वा धेरै विचारहरू आउने । म पागल हुन्छु जस्तो लाग्ने आदि । यो विषयमा धेरै जाँचहरू गर्दा सबै जाँचहरू नर्मल आउँछ । तर बिरामीको डर हट्दैन मनबाट । फेरि मलाई यस्तै हुन्छ भनेर उसको चिन्ता, डर झन् बढदै जान्छ ।

अनि सुरु हुन्छ चिन्ता

यदि कसैको परिवारमा कसैलाई शारीरिक समस्या (क्यान्सर, हर्टअट्याक आदि) भएको छ वा थियो भने आफूलाई पनि हुन सक्छ भनेर मानिसको मनमा डर, चिन्ता बढ्छ । उसमै केही शारीरिक समस्या हुन्छ र अर्कोचाहिँ व्यक्तिमा यी दुबै कुरा हुँदैनन् । उसको जीवन राम्रो गरी बितिरहको हुन्छ तर पनि उसलाई यस्ता समस्याहरू सुरु हुन्छ । हाल कोभिड–१९ को महामारीमा उदयपुरमा धेरै संक्रमितहरु एकैपटक भेटिँदा सो स्थानका व्यक्तिहरूमा डर वा चिन्ता हुनु स्वभाविक हो तर अत्याधिक चिन्ता गर्ने हँुदा त्यस्ता खालका चिन्ता नै पछि चिन्तामा परिणत हुन सक्छ । आजकाल सबैभन्दा खतराचाहिँ केही लक्षणहरू आफूमा देखिनासाथ गुगल सर्च गर्ने र मलाई यस्तो बिमारी भएछ भनेर धारणा बनाउने पनि हो ।

समस्या भएकाहरूको आफ्नो अनुभव

मैले माथि उल्लेख गरेको तालिममा एक जना महिलाले दिएको उदाहरण यहाँ प्रस्तुत गर्दैछु । पहाडी जनजाति समुदायकी ती महिला जागिरको शिलशिलामा विगत ६ वर्षदेखि परिवारलाई छोडेर तराईको जिल्लामा बसेकी रहिछन् । एक दिनअ चानक राति सुतिरहेको बेलामा छिमेकीको घरमा ठूलो आवाजले ढोका ड्वाङ्ग गरेको आवाजले उनको आँखा खुलेछ ।

उठ्दा उनको मुटु ढुकढुक गरिरहेको थियो । धेरै बेर भैसक्दा पनि उनले आफूलाई नियन्त्रित गर्न सकिनछन् र पसिना खलखल आउन थालेछ । उनले भनिन्ः “मलाई लागिरहेको थियो मेरो मुटुमा केही समस्या भएछ । मैले मेरो एकजना सँगै काम गर्ने साथीलाई तुरुन्तै बोलाएँ र अस्पताल लैजान अनुरोध गरेँ । अस्पतालमा मेरो मुटुको जाँचलगायत सबै आवश्यक जाँच गर्दा मेरो रिर्पोट नर्मल आयो । तर पनि मेरो मनबाट डर कम हुन सकेन ।

३ दिनसम्म पनि मलाई त्यो समस्याले सताइरहेपछि म काठमाण्डौं गएँ । त्यहाँ चिकित्सकसँग सम्पर्क गरेर विभिन्न जाँच गराएपछि मलाई मेरो चिकित्सकले मनोचिकित्सककहाँ जान सुझाव दिनु्भयो । मनोचिकित्सककहाँ गएपछि मलाई थाहा भयो कि मलाई चिन्ताको समस्या भएको रहेछ ।

मैले लामो समय औषधि सेवन गरे बीचमा ठीक भएको जस्तो भएपछि मैले मनोचिकित्सककै सल्लाहले औषधि छोडेँ । फेरि मलाई समस्याले सताउन थाल्यो । अहिले म औषधि निरन्तर खाइरहेको छु तर मात्रा भने घटेको छ । बिस्तारै औषधि बन्द गर्दा हुन्छ भनेर चिकित्सकको सुझाव छ र म निरन्तर चिकित्सकको सम्पर्कमा रहिरहेको छु ।”

उहाँसँग मैले पछि कुराकानीको क्रममा के थाहा पाएँ भने, उहाँ शान्त वातावरणमा बसेको, ठूलो स्वर र धेरै होहल्ला वा आवाज आउँदा उहाँमा डर लाग्ने र केही समस्या त भएन भनेर चिन्ता लाग्ने भएको रहेछ । त्यस फरक परिवेशमा आएर काम गर्दा त्यसकै परिणामस्वरुप एक दिन छिमेकीको घरको ढोकाको आवाजको डरले उहाँमा चिन्ता भएको पहिचान भयो ।

अर्काे एक जनाको अनुभव, २०७२ साल वैशाख १२ गते गएको भूकम्पभन्दा केही समय अगाडि एक जना पुरुष बिरामी भएर उपचार गराउँदै हुनुहुन्थ्योरे । आफ्नो कामको जिम्मेवारी, परिवारप्रतिको जिम्मेवारी र घरमा र काममा पनि आफू मुख्य व्यक्ति भएकोले जिम्मेवारी बाँड्ने वा घटाउने वातावरण पनि थिएन । अचानक गएको भूकम्पको त्रास, परिवारमा भूकम्पको झन् बढी त्रास, उनीहरूलाई सम्हाल्न पर्ने अवस्था, कामको जिम्मेवारी र दायित्वले पोलेको अवस्था, आफ्नो शरीर कमजोर भएकोले आफूलाई झन्–झन् कमजोर हँुदै गएको महशुस हुन थाल्यो ।

मनमा एक किसिमको डर लाग्न थालो । उनले भनेः “मलाई लाग्थ्यो, म एकदमै कमजोर छु । म हिँडदा पनि लड्छु होला । म केही गर्न सक्दिनँ ।” पछि चिकित्सकबाट के थाहा भयो भने शारीरिक समस्याको उपचारको साथसाथै मनोचिकित्सकको पनि सल्लाह लिन आवश्यक छ भनेर मनोचिकित्सकको सल्लाह लिँदा उहाँलाई चिन्ताको समस्या भएको रहेछ ।

त्यसपछि उनले लामो समयसम्म निरन्तर औषधि सेवन र मनोचिकित्सकको सम्पर्कमा रही मनोचिकित्सककै सल्लाहमा हाल औषधि बन्द गरेको अवस्था छ । उनी भन्छन्ः “मैले निरन्तर दैनिक काम र पारिवारिक जिम्मेवारी पहिलाको भन्दा जिम्मेवारपूर्ण हिसाबले निर्वाह गरेको छु । तर कतै न कतै विशेष परिस्थितिमा मनमा कता–कता डर र चिन्ता हुने गदर्छ तर मैले त्यसलाई नियन्त्रण गर्न सकिरहेको छु ।”

हालको अवस्था र समाधान

कोरोना महामारीको बेलामा धेरै मानिसहरू लकडाउनमा घरमै बसेको अवस्था छ । कोही जिम्मेवारीको हिसाबले आफ्नो जिम्मेवारीलाई अझ बढाएर दिन रात काम गर्नुपरेको छ । कति व्यक्तिहरू सरकारको जिम्मेवारीमा हुनुहुन्छ । स्वास्थ्यकर्मीहरू, प्रहरी प्रशासन, सञ्चारकर्मी, सामाजिक कार्यकर्ता, अभिभावकहरू, आदिले आफ्नो भूमिकालाई झन् बढी निर्वाह गर्नुपर्ने बेला छ । हामी जुनसुकै तह र तप्कामा बसे पनि हामी सबैको मानसिक अवस्थामा अहिने कुनै न कुनै रुपमा यो परिवेश वा कोभिड–१९ को त्रासले असर गरिरहेको छ ।

यस बेला हुने डर, चिन्ता र तनावलाई कतिले आफैं व्यवस्थापन गर्न सक्छौं र कति जनाले व्यवस्थापन गर्न सक्दैनौं । अहिले प्रदेश नं. १ मा कोभिड–१९ को प्रभाव बढी परेको छ । उदयपुरको भुल्के र त्यस आसपासका स्थानहरूमा डर, त्रास र चिन्ता बढेको अवस्था छ । सरकार र सेवा प्रदायकहरू झन् बढी जिम्मेवारी लिएर दिनरात काम गर्न परेको बेला छ ।

मैले उदयपुरका केही व्यक्तिहरूसँग कुरा गरेको थिएँ । उहाँहरू डर, चिन्ता, त्रास र आफू असुरक्षित भएको अनुभव सुनाउनुहुन्छ । अब यस्तो बेलामा परेको प्रभावलाई कम गर्न अत्यन्त आवश्यक हुन्छ । जुनसुकै तह र तप्काका मानिसहरू हुन्, जसमा यस्तो समस्या देखिएको छ, त्यो समस्यालाई बढ्न नदिई समयमै व्यवस्थापन गर्न आवश्यक छ । यसको समयमा व्यवस्थापन हुन सकेन भने, पछि यो चिन्तामा परिणत हुन सक्छ ।

समाधानका उपायहरू

विभिन्न स्थानीय, प्रदेश र संघीय सरकारको तर्फबाट मनोविज्ञ, मनोविमर्र्शकर्ता, मनोचिकित्सकहरूसँग बसेर यस महामारीको बेला पर्नसक्ने मानसिक प्रभाव र समाधानको लागि यसको गम्भीरताको बारेमा छलफल गर्न आवश्यक छ । सरकारले त्यसको आधारमा आफ्नो द्रूत रणनीति र योजना ल्याउनुपर्ने हुन्छ । तीनवटै तहमा निर्माण हुन बाँकी रहेको स्थानमा संरक्षण संयन्त्र तुरुन्त निर्माण गर्न आवश्यक छ ।

मनोविज्ञ, सञ्चारमाध्यमको व्यापक परिचालनबाट समुदायमा भएका डर त्रास र भयलाई हटाउने गतिविधिहरू सञ्चालन गर्न सकिन्छ ।

सम्पर्क नं. ९८५२०२८६६१, इमेलः [email protected]

Loading...