वीरगञ्ज, १४ वैशाख । वीरगञ्जमा यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ ।
लगातार तीन पटक गरिएको आरडिटी टेष्टको रिपोर्ट पोजिटिभ देखिएकी वीरगञ्ज–१० अशोक बाटिकाकी २३ वर्षीया युवतीको मृत्यु भएको हो ।
आइतबार बिहान उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् ।
ब्लड क्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो । उनको आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको मेडिकल सुपरिटेन्डेण्ट उपाध्यायले जानकारी दिएका छन् ।
उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।
उनको शव नारायणी अस्पतालमा राखिएको छ ।
एक महिनाअघि क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले नेशनल मेडिकल कलेजमा लगेका थिए ।
तर मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्प्टिलमा लगिएकोमा उक्त हस्पिटलले पनि आइसीयू बेड खाली नभएको बताएको थियो ।
त्यसपछि तराई हस्पिटलमा पुर्याइएकी उनको शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्काे पटक पनि रिपोर्ट पोजिटिभ आयो ।
तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आइतबार बिहान १ बजेतिर तराई हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको मेडिकल सुपरिटेन्डेण्ट उपाध्यायले जानकारी दिएका छन् ।