विपदमा सम्भावनाको आशा जगाउने एउटा प्रयास

writter
डा. राजेन्द्र उप्रेती

केही दिन अगाडि प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको एउटा सानो टिमले किसानहरूको तरकारी खेतीको अवस्था अवलोकन गर्न जाँदा देखिएको दृष्य बैरागलाग्दो थियो । कटहरी गाँउपालिकाका केही ठाँउहरू अवलोकन गरेर तरकारीको परिमाण अन्दाज गर्ने र तरकारीको फिल्डको वर्तमान अवस्था अनुमान गर्नु हाम्रो मुख्य उदेश्य थियो । मन्त्रालयबाट योजना महाशाखा प्रमुख पशुपति पोखरेलले प्रदेश १ मा रहेका उद्योगहरूसँग समन्वय गरिरहनुभएको थियो । फिल्ड अनुगमनको क्रममा गोलभेंडाको टिपाइ ढिलो हुँदै गैरहेको र तुरुन्तै ठूलो मात्रामा टिपाइ र अन्य समाधानका उपायहरू अपनाउन नसक्दा सयौं टन गोलभेंडाहरू नष्ट भएर जाने अवस्थामा रहेको पाइएको थियो ।

फोटोः कटहरी गाँउपालिकाको तरकारी खेतीको एउटा दृष्य

हामीहरू तरकारीको अवस्था पनि अवलोकन गर्दै तरकारी प्रशोधन उद्योगहरूसँग उनीहरूले दैनिक खपत गर्नसक्ने परिमाणको आकलन गर्दै र गोलभेंडा टिपाइ र ढुवानीको चाँजोपाँजो मिलाउने कुरामा ढुवानी क्रेट, गाडी आदीको व्यवस्थापन लगायतका कुराहरू सँगसँगै गर्दैजाँदै थियौं । हामीले जिल्ला सहकारी संघ मोरङको सहकार्यमा दुई/तीन दिन अगाडि कटहरी तरकारी तथा फलफूल थोकबजार स्थलबाट किसानहरूले उत्पादन गरेका तरकारीहरू थोकमा बिक्रीवितरण सुरु गरिसकेका थियौं । जुन व्यवस्थित हुँदैजाँदै थियो । तर त्यसले मात्र गोलभेंडाको समस्या व्यवस्थापन गर्न कठिन थियो । त्यसैको समाधानको लागि उद्योगहरूसँग सम्पर्क बनाइएको थियो । हाम्रो प्रयासले हामिलाई एउटा समाधानतिर डोहोर्‍याउँदै थियो र हामी उत्साहित हुँदै थियौं ।

फोटोहरूः कटहरी गाँउपालिकाका गोलभेडा फिल्डहरू र बजारका लागि तयार गोलभेंडा
कृषिवस्तु प्रशोधन गर्ने उद्योगसँगको सहकार्य

प्रदेश १ मा रहेको रिजाल टासी ईन्डष्ट्रिजले दैनिक रूपमा प्रशोधनको लागि गोलभेंडा लिइदिन सहमति जनायो, त्यसका लागि कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि सुरक्षित दूरी कायम गर्दै उद्योग सञ्चालन गर्न स्थानीय प्रशासनबाट अनुमति लिने काम भयो । यसको सहजिकरण गर्ने कार्य मन्त्रालयका माननीय राज्यमन्त्रि र प्रदेशसभाका माननीय सभासदहरूबाट भयो । उद्योग सञ्चालनको चाँजोपाँजो उद्योगले मिलायो र गोलभेंडा ढुवानीको लागि क्रेट व्यवस्थापन र थप गाडीको समन्वय हामीले गर्‍यौं ।

यो कार्यको लागि मोरङ जिल्लामा रहेको PMAMP मत्स्य जोनसँग रहेको ढुवानी ट्रक र तरकारी ब्लकको पिकअप पनि हामीले हाम्रो ढुवानी साधनमा समावेश गर्‍यौं र अरु गाडीहरू जिल्ला सहकारी संघले भाडामा व्यवस्थापन गर्‍यो । यसरी कटहरी तरकारी तथा फलफूल थोकबजार स्थलबाट विभिन्न तरकारीहरूको थोकबजार सुरु गरियो भने रिजाल टासी ईन्डष्ट्रिजसँगको सहकार्यमा गोलभेंडाको प्रशोधन प्रारम्भ गरियो ।

यसबाट पहिलो दिन २ टनबाट सुरु भएको काम दोश्रो दिन १५ टन र तेश्रो दिनबाट दैनिक २० टन गोलभेंडाको व्यवस्थापन हुँदैछ । आइतबारबाटै अर्को उद्योगमार्फत् प्रतिदिन १० टन गोलभेंडा पठाउन तयारी भैरहेको छ । यसले भविष्यको लागि पनि उत्पादक किसानहरू र उद्योगबीचको विश्वासको सम्बन्ध विस्तार गर्न सघाउ पुर्‍याउनेछ । यसैले यो संकटको समयले दिएको एउटा अवसर सावित हुनसक्छ ।

फोटोहरू ː गोलभेंडाको टिपाइ हुँदै अनि रिजाल टासी ईन्डष्ट्रिज लैजान तयार गोलभेंडा

यसरी एकातिर किसानका उत्पादनहरू उद्योगसँग जोडिँदैछन् भने सहकारीहरूले कृषि उत्पादनको बजारीकरणमा भूमिका खेल्न सक्छन् भन्ने कुराको परिक्षण गर्ने मौका पनि कोरोना भाइरस सृजित संकटले हामीलाई दिएको छ । कटहरी तरकारी तथा फलफूल थोकबजार स्थलमा मोरङ र सुनसरी जिल्लाका तरकारीहरू जोडिँदैछन भने अरु जिल्लाबाट पनि कृषि उत्पादनहरू जोडेर हामी बजारमा कृषिवस्तुहरूको विविधता बढाउन र ग्राहकहरूले खोजी गर्ने सबै प्रकारका तरकारीहरू तथा अन्य उत्पादनहरू एकै थलोबाट उपलब्ध गराउन कोशिस गरिरहेका छौं ।

मोरङ जिल्लाका खोला किनारहरूमा फल्ने तरबुजा बजारको एउटा आर्कषण भएको छ । जिल्ला सहकारी संघका साथीहरूका अनुसार कतिपय बेलामा एकै जनाले ५० किलोभन्दा धेरै तरबुजा घरमा उपभोगको लागि लाने गर्नुभएको छ । यसरीनै अरु तरकारीहरूको बिक्री बढिरहेकोछ । यो बजारले सिर्जना गरेको एउटा आर्कषण भनेको तरकारी तथा अन्य कृषि वस्तुहरूको मूल्य पनि हो ।

कृषि बजारहरूमा सधै बिचौलियाहरूको चलखेल धेरै हुने र उत्पादक तथा उपभोक्ता दुव ठगिनेक्रम सानो रूपमा भएपनि यो सुरुआतले कम गरेकोछ र छोइनस्कनु हुने बजार मूल्यलाई केही हदसम्म भएपनि सन्तुलनमा राख्न मद्धत गरेको छ । यो सिकाइबाट हामीले भविष्यमा यो सहकार्यलाई अझ मजबुत र अझ सक्रिय बनाउनुपर्ने भएको छ । यसरी जान सकियो भने बल्ल किसानले आफ्ना उत्पादनहरूको उचित मूल्य पाउन सक्नेछन् भने उपभोक्ताले पनि सुपथ मूल्यमा कृषि वस्तुहरू पाउन सक्नेछन् ।

फोटोहरूः थोक बजारमा तरकारीहरू र थोकबजारबाट खुद्रा बिक्रीको लागि लाँदै गरिएको तरकारीहरू

निरन्तरका प्रयासहरू र समन्वयको प्रतिफल

जब कृषिवस्तुको बिक्रीवितरणमा समस्या देखिन थाल्यो तबदेखि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आफ्ना प्रयासहरू बढाउँदै लगेको छ । चाहे त्यो रसायनिक मलखाधको आपूर्तिमा होस् चाहे अन्य कृषि सामाग्रीहरूको उपलब्धता बढाउन होस् । यसरीनै दूधको बजार व्यवस्थापनमा पनि मन्त्रालयले सक्रिय भूमिका निभाइरहेको छ । मन्त्रालयका माननीय राज्यमन्त्री र सचिवको नेतृत्त्वमा अवस्था अनुगमन र समन्वयलाई सक्रिय पारिएको छ । देशका धेरैतिर हामीजस्तै कर्मचारीहरू लकडाउनमा घरैबसी कार्य गरिरहेका बेला हामीहरू शनिबार पनि किसानहरूका खेतबारी र समाधानका खोजीमा आफ्ना प्रयासहरू बढाइरहेका छौं ।

दुग्ध विकास संस्थान, कृषि सामाग्री कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसनका विराटनगरस्थित कार्यालयहरूले आफ्नो क्षमताअनुसारका कार्यहरू गरेर अहिलेको अवस्थालाई सकेसम्म सहज बनाउन भूमिका खेलिरहेका छन् । यी सबै संस्थाहरू धन्यवादका पात्र भएका छन् ।

फोटोहरूः राज्यमन्त्रीसहितको टिमबाट बजार अनुगमन तथा छलफल र सिसवनी जहदाको फिल्ड अनुगमन

यसरी नै जिल्ला सहकारी संघ मोरङको टिम र रिजाल टासी ईन्डष्ट्रिजले यो संकटमा आ-आफ्नो क्षमताको अधिकतम प्रयोग गरेर एउटा समाधानको बाटो खोज्न भूमिका खेल्नु भएको छ । यो सहकार्यलाई विस्तार गर्दै लान सकियो भने भविष्यको एउटा राम्रो बाटो पहिल्याउन सकिने छ । यो प्रयासमा हाम्रो मन्त्रालयले सधैं सक्रिय भूमिका निभाउनेछ ।

सम्भावनाको अझ बढी खोजी गरौं र क्षणिक फाइदा होइन दीगो समाधान खोजौं

एकातिर हामीसँग कृषि उधोगहरूलाई चाहिने आवश्यक कच्चा पदार्थ पर्याप्त परिमाणमा छैन । सहकार्य गरेर वस्तुहरूको परिमाण बढाउन हामी त्यति उत्साहित हुँदैनौं । अर्कोतर्फ हामी सधैं क्षणिक लाभ प्राप्त गर्न मौकामा चौका हान्ने दाउमा हुन्छौं । त्यसैले हाम्रा किसानहरू वा उत्पादकहरू र उद्योगहरूबीच विश्वासको वातावरण बन्न सकेको छैन । हामी सधैं एकअर्कालाई दोष थोपरेर पानीमाथिका ओभानो बन्न प्रयास गरिरहेका हुन्छौं । यो सोचले हामीलाई कहिल्यै दीगो समाधान दिन सक्दैन । हाम्रा व्यवसायिक खेतीहरू उद्योगहरूको आवश्यकतासँग जोडौं र दीगो र विश्वासिलो सम्बन्धको विकास गरौं ताकि हाम्रा उत्पादनहरू बजार नपाएर संकटमा नपरुन् ।

आखिर जहिलेपनि कृषि उत्पादनको ठूलो बजार भनेको त कृषि उद्योगहरूनै रहेछन् चाहे दूधका कुरा गरौं वा पशुदाना र मासुका । तरकारी र फलफूलका कुरा गर्दा पनि विश्वासिलो र दीगो समाधान भनेको उद्योगहरूसँगको सहकार्य नै रहेछ । त्यसैले यो संकटको बेलाको सिकाइको अनुसरण गर्दै हाम्रा उत्पादनहरूलाई वर्गीकरण गरौं अनि थोकबजार र उद्योगहरूका लागि गरिने उत्पादनहरू योजनाबद्ध रूपमा अगाडि बढाउँ । सधैं संकटले सिकाइहरू र समाधानको बाटाहरू देखाउने गर्छन् । हाम्रो यो सिकाइलाई फैलाउँदै प्रदेश १ को कृषि विकासको मार्गचित्र तयार गरौं र त्यसको प्राप्तिको लागि सहकार्य गरौं । हाम्रो भविष्य हाम्रै हातमा छ, बाहिरको कसैले हाम्रो विकास गरिदिँदैन त्यसैले हाम्रो विकास हामी आफैंले गर्ने हो ।

Loading...