स्थायी समिति बैठक बोलाउने विषयमा विवाद, पार्टी बैठक टार्दै ओली

काठमाडौं, १४ बैशाख । सत्तारुढ दल नेकपामा स्थायी समिति बैठक बोलाउने विषयमा विवाद देखिएको छ।

सरकारले फिर्ता लिएको दुई अध्यादेशबारे समीक्षा गर्न बैठक बोलाउनुपर्ने मागमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्ष अनिच्छुक देखिएको छ। यसले नेकपामा अध्यादेश विवाद मत्थर हुने संकेत देखिएको छैन।

२० स्थायी समिति सदस्यले बैठक माग गर्दै यही १० वैशाखमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई पत्र बुझाएका थिए। त्यसपछि बैठक कहिले बोलाउने भन्नेमा दुई अध्यक्षबीच सहमति नजुटेको हो।

ओली र दाहालले शुक्रबारदेखि दुई दिन बालुवाटारमा लगातार छलफल गरे पनि मिति टुंगो लाग्न नसकेको स्थायी समिति सदस्य मातृका यादवले बताए। ‘उहाँहरू (प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल) छलफलमै हुनुहुन्छ। एक दुई दिनमै बैठकको मिति टुंगो लाग्छ’, दाहालनिकट नेता यादवले भने। ओलीले बैठक बोलाउन आतुरी देखाएका छैनन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

दुई विवादास्पद अध्यादेशबाट सुरु भएको आन्तरिक विवाद अब नेकपा र सरकारको नेतृत्व परिवर्तनको बहससम्म पुगेको छ। उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी दुबै पदबाट राजीनामा दिन सुझाब दिएका खबर आजको नयाँ पत्रिका दैनिकमा शुरोजंग पाण्डेले लेखेका छन्।

तर, ओलीले राजीनामा नगर्ने र सम्भावित सबै चुनौती सामना गर्ने जवाफ दिएका छन्। स्थायी समितिका २० सदस्यले लिखित माग गरे पनि अध्यक्ष ओलीले तत्काल बैठक बोलाउन स्वीकार गरेका छैनन्।

तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक बोलाउनुपर्ने पक्षमा छन्।

Loading...